१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एपीएफ उपाधि नजिक

विनोद भण्डारी

विराटनगर — घरेलु टोली विराटनगर–११ माथि ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै एपीएफ क्लब बुधबार छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । 

निर्धारित ९० मिनेटमा दुवै टिमले २–२ को बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट थपियो । एपीफएका मणि लामाले खेलको ११८ औं मिनेटमा गोल गर्दै उपाधि यात्रा पक्का गरे । एपीएफले संकटा र पन्जाब पुलिसबीच बिहीबार हुने खेलको विजेतासँग १५ लाख १५ हजार रुपैयाँ पुरस्कारका लागि शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । दुवैले आक्रामक खेल पस्किँदाा एपीएफले २६औं मिनेटमा सनी श्रेष्ठको गोलमार्फत अग्रता लियो ।

श्याम नेपालीको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले पन्च गरेर फर्काउँदा सनीले उत्कृष्ट भलीमा गोल गरे । मध्यान्तरसम्म एक गोलले पछि परेको विराटनगर ५३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कियो । स्टेफन सामिङले प्रकाश बुढाथोकीको क्रसमा गोल गरी १–१ को बराबरीमा ल्याए । अग्रता गुमाएसँगै थप आक्रामक देखिएको एपीएफले ६७ औं मिनेटमा रवि थिङले गोल गरी पुनः अग्रता दिलाए । उनले श्याम नेपालीको पास सदुपयोग गरेका हुन् ।

एपीएफले त्यो अग्रता दुई मिनेट पनि जोगाउन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलिएको हो । विराटनगरका प्रकाश बुढाथोकीले ६९ औं मिनेटमा ३५ यार्डवाट गरेको प्रहार पोस्टको सेकेन्डबार च्याप्दै गोलमा परिणत हुँदा एपीएफका गोलकिपर राजु नगरकोटी प्रतिक्रियाविहीन भए । प्रकाशको यो व्यक्तिगत चौथो गोल हो । उनले सिक्किमविरुद्ध दुई र सिलिगुढीविरुद्ध एक गोल गरेका थिए । प्रकाशले ८३ औं मिनेटमा ३० यार्डबाट गरेको सशक्त प्रहार बारमा लागेर फर्कनु विराटनगरको दुर्भाग्य बन्यो । मणि लामाले म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ हात पारे ।

प्रकाशित : वैशाख २, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?