२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फुटबलका ‘कमसल व्यापारी’

हिमेश

काठमाडौँ — के फुटबलमा यस्तो पनि हुन्छ र ? हुँदोरहेछ । यसपालिको आहा–रारा गोल्डकप फुटबलको फाइनल खेलेको अफ्रिकन रुट्स एसोसिएसनका खेलाडी बसेको होटल पूरा निगरानीमा थियो ।

फुटबलका ‘कमसल व्यापारी’

आयोजक सहारा क्लबलाई डर थियो, कतै यसका खेलाडी भागेर अन्यत्र खेल्न जाने त होइनन् ? नभन्दै फाइनलको अघिल्ला रात अफ्रिकन रुट्सका ११ खेलाडी भागेर सर्लाही पुगे । त्यहाँ पुगेर उनीहरूले राजर्षि जनक कपमा खेले । फेरि रातारात पोखरा आइपुगे ।

यति बेलासम्ममा न यसबारे आयोजकलाई थाहा थियो, न त होटललाई नै । फाइनलमा अफ्रिकी रुट्सको बेन्चमा रहेका खेलाडी निकै थकित देखिन्थे । हाई काटिरहेका थिए । लागिरहेको थियो, तिनलाई जबरजस्ती त्यहाँ राखिएको थियो । फुटबल एक प्रकारले व्यापार नै हो, तर यसमा कमसल खालका व्यापारीको कुनै स्थान छैन । अफ्रिकन रुट्स टिम पनि यस्तै खराब व्यापारी हो, जसलाई यो खेलका इमानबारे केही पनि मतबल छैन ।

यिनीहरूलाई पैसा कमाउनु मात्र छ । यस्तो टिमलाई खेलाउनु पनि खासमा सहाराको भूल हो, तर जहाँसम्म यस्ता टिमको प्रवृत्तिको कुरा छ, यसले नेपाली फुटबललाई घाटाबाहेक अरू केही पनि गर्दैन । यस्तो प्रवृत्ति मौलाएको पनि केही वर्ष भइसकेको छ । यसलाई रोक्न आवश्यक भइसकेको छ । नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को उद्देश्य फुटबल विकास हो भने यस्ता टिम, यसले खेल्ने खेल, यसका व्यवहार सबै बाधक हुन् । यसले राम्रो केही पनि गर्दैन ।

सबैभन्दा पहिले यो नै बुझ्नौं न, के अफ्रिकन रुट्स एसोसिएसन भन्ने पनि कुनै टिम छ र ? यसको उत्तर आउँछ, छैन । जसरी कुनै समय नेपाली घरेलु फुटबलमा नराम्रोसँग छाएको अफ्रिकन युनाइटेड भन्ने टिम वास्तवमै थिएन, त्यसरी नै यो टिम पनि छैन । अफ्रिकन रुट्सका सबै खेलाडी क्यामरुनी हुन् । क्यामरुनी फुटबल आफैंमा उम्दा छ । तर अफ्रिकन रुट्स यस्तो कुनै औपचारिक टिम नै होइन, खेलाडी राम्रो भनेर कसरी विश्वास गर्ने ?

यी त ठिक्कका फुटबल खेल्ने नेपाल आएका खेलाडी मिलाएर बनाइएको टालटुले टिम नै हो । नेपाली फुटबलको विकास गर्ने हो र घरेलु प्रतियोगितालाई आकर्षिक बनाउने हो भने विदेशी टिम पनि चाहिन्छ । तर यी टिम आधिकारिक नै हुनुपर्छ, अफ्रिकन रुट्सजस्तो होइन । फेरि यसपल्टको आहा–रारा खेल्न भनेर नै टिमलाई बोलाइएको हो भने यस्तोमा यो टिमको काम प्रतियोगिता सकेपछि आफ्नै देश फर्कने हो । तर अफ्रिकन रुट्सले अरू प्रतियोगिता पनि खेलिरहेका छन् ।

यो टिम आफैं कुनै आधिकारिक नभएको हुनाले यसका खेलाडीलाई कारबाही गर्ने र त्यो लागू हुनेसक्ने स्थिति पनि छैन, कहींकतै कोही चुकेमा । नेपालमा सहिद स्मारक लिग ‘ए’ डिभिजन ०६० सालयता निकै लोकप्रिय हुन थाल्यो, त्यसयता नेपाली घरेलु फुटबलमा अफ्रिकी खेलाडी पनि भित्रिन थाले । सुरुसुरुमा केही राम्रा खेलाडी आए, तर पछि विस्तारै यसमा विकृति अनेक देखिन थाले । तिनै अफ्रिकी खेलाडीले फुटबल छाडेर अन्य गैरकानुनी काम गरेका उदाहरण धेरै छन् ।

यहाँनिर एन्फा नराम्रोसँग चुक्दैछ र पूरा घटनाक्रमलाई लिएर चुपचाप छ । उसले बुझ्न आवश्यक छ, अफ्रिकन रुट्स जस्ता टिमले नेपालमा खेलेर यहाँको फुटबलमा साँच्चै केही पनि राम्रो गर्दैन । यस्ता आधिकारिक नभएका टिम र खेलाडीले मैदान बाहिरमात्र होइन, मैदानभित्र पनि अनेक समस्या सिर्जना गरेको पाइन्छ । जस्तो, नेपाली घरेलु फुटबलमा केही शंकास्पद खेल र नतिजामा सबैभन्दा बढी यस्तै कमसल व्यापारी अफ्रिकी खेलाडीको संलग्नता छ ।

नेपालका क्लबका केही पदाधिकारीलाई सोध्नुपर्छ, तिनीहरूले यस्ता कथा मज्जाले भन्ने गर्छन् । तर यो कथा यस्तो हो, जुन सार्वजनिक रूपमा दाबी गर्न सकिन्न । सोचौं, यही टिमले यसपल्टको आहा–रारा गोल्डकप जितेको भए ? धन्न यस्तो भएन । संकटाले ऐतिहासिक रूपमा उपाधि उचाल्यो । तर कुरा यत्तिकैमा सकिन्न । निश्चित रूपमा संकटाको इमानमा शंका गर्न सकिन्न, गर्नु पनि हुन्न । संकटा त उपाधिका लागि शतप्रतिशत हकदार देखिन्छ ।

संकटाले फाइनलसम्मको यात्रामा यस्ता टिमलाई हराएका छन्, जसले यसअघि संकटालाई पोखरामै लगातार हराएको थियो । ती थिए, मनाङ मर्स्याङ्दी र एपीएफ । तर फाइनलको भिडियो सावधानीपूर्वक हेर्नुपर्छ, आँखा पोख्त हुनुपर्छ, अफ्रिकन रुट्सका केही खेलाडीको खेल शंकास्पद छ, तिनले खासखास मोडमा किन बललाई आफ्नो नियन्त्रणबाट फुत्काए, त्यो भन्न गाह्रो छ । हुनसक्छ, यस्तो भएको पनि थिएन । तर प्रश्न उठ्छ नै । किनभने अफ्रिकन रुट्स कुनै आधिकारिक टिम नै होइन ।

यसका खेलाडीलाई खाली नेपाल आएर पैसा कमाउनु छ । पैसाका लागि यस्ता खेलाडीले जेसुकै गर्न सक्छन् । पैसा नै तिनलाई सबथोक नहुने भए, के तिनीहरू फाइनलअगाडि भागेर अन्यत्र पनि खेल्न जान्थे र ? यहाँनिर के बुझ्यौं भने अफ्रिकी खेलाडी र टिमलाई खेलाउनु नै हुन्न भन्ने होइन, तर प्रश्न तिनै खेलाडी र टिमको आधिकारिकताको हो । फेरि यसपल्टको आहा–रारा गोल्डकप स्तरीयताको आधारमा निकै कमजोर रह्यो, कम्तीमा फाइनल निकै फितलो थियो ।

यो भन्दा त कहाँ हो कहाँ सहिद स्मारक लिगको ‘बी’ डिभिजन नै थियो । यसको कारण यस्तै विदेशी टिम हुन् । भन्न त के भनिएको छ भने यो अफ्रिकन रुट्सका केही खेलाडी ठिक्कका छन् । तर यस्तै टिमविरुद्ध हाम्रा राष्ट्रिय खेलाडीले भरिएको टिम पनि हार्छ । के नेपाली टिमको आफ्नो स्तर साह्रै कमजोर नै हो त ? यसको उत्तर पछि खोजे पनि हुन्छ । सबैभन्दा पहिले अफ्रिकन रुट्स जस्तो समस्या नै समाधान हुनुपर्छ । अफ्रिकन रुट्सले धोका दिएपछि सहारा गम्भीर भएको देखिन्छ, तर एन्फा अझै गम्भीर हुन सकेको छैन ।

प्रकाशित : वैशाख २, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?