राष्ट्रिय क्रिकेट टोलीको जर्सी र प्रायोजक नयाँ 

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजकमा शिक्षामूलक एप ‘माई सेकेन्ड टिचर’ भित्रिएको छ । आईएनजी ग्रुपअन्तर्गत इनोभेट टेकले क्रिकेट टोलीको जर्सीमा माई सेकेन्ड टिचर लोगो राख्नेछ । माई सेकेन्ड टिचर जर्सीको अघिल्लो भागमा र इस्लिङ्टन कलेज पछिल्लो भागमा रहने जनाइएको छ ।

राष्ट्रिय क्रिकेट टोलीको जर्सी र प्रायोजक नयाँ 

नेपाल क्रिकेट संघ (क्यान) ले तीन महिनाअघि राष्ट्रिय टोलीको जर्सी प्रायोजन अधिकारको जिम्मा एएनएस ग्रुप अफ कम्पनीको एडप्याड प्रालिलाई दिएको थियो । क्यानको कमर्सियल अधिकार कम्पनी बनेपछि एडप्याडले जर्सी प्रायोजकका रूपमा आईएनजी ग्रुपलाई ल्याएको हो ।

डिसेम्बर अन्त्यमा क्यान र एडप्याडबीचको सम्झौता १५ महिनाका लागि थियो । सम्झौताको पाटो नखुलाए पनि क्यानले कर, ब्रान्डिङ, सामाजिक कार्य कटाएर एडप्याडबाट ५६ लाख रुपैयाँ पाउने रहेको स्रोतले जनाएको छ । एडप्याड र आईएनजीबीचको सम्झौता रकम खुलाइएको छैन ।

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र आईएनजी ग्रुपका सुलभ बुढाथोकीले सोमबार आयोजित कार्यक्रममा माई सेकेन्ड टिचर र इस्लिङ्टन कलेजको लोगो अंकित राष्ट्रिय टोलीको जर्सी अनावरण गरेका थिए । आफू खेल्दाका स्टार खेलाडीबाट प्रभावित भएको जनाउँदै बुढाथोकीले शिक्षामार्फत खेलकुदको विकास गर्न खोजिएको जनाए । उनले सम्झौता अहिले एकवर्षे रहेको र यसलाई तीन वर्षसम्म लम्ब्याउन सकिने जनाए ।

‘देशलाई एकजुट बनाउने पहिलो काम खेलकुद गर्छ । त्यसमा पनि क्रिकेटको रहेको र धेरैले क्रिकेट रुचाउने हुनाले हामी क्रिकेटसँग सहकार्य गर्दैछौं, क्रिकेटमार्फत देशभर माई टिचर एपबाट शिक्षा पुर्‍याउने आस राखेका छौं,’ बुढाथोकीले भने ।

कप्तान ज्ञानेन्द्रले क्रिकेटमा यस्तै अझै ठूलो लगानी भित्रिन जरुरी रहेको आवश्यकता औंल्याए । आउँदै गरेको नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाले खेलाडीलाई ठूलो एक्सपोजर प्रदान गर्ने उनले जनाए । नेपाली टोलीले त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नयाँ प्रायोजकको जर्सी लगाएर खेल्नेछ । जर्सीमा किट्स प्रायोजक अझै राख्न मिल्नेछ । क्यानले त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाअघि त्यसको पनि निर्क्योल हुने आशा लिएको छ ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले संकटको समयमा पनि जर्सीमा प्रायोजक पाउनु उत्साहजनक रहेको जनाए । एडप्याडका प्रमुख सुदीप थापाले खेलकुदमा लगानी गर्न एडप्याडले युनिक अवसर हेर्दै आएको र अहिले क्रिकेटसँग जोडिन पुगेको जनाए । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले क्रिकेटमा प्रायोजकसँग साझेदारी सधैं महत्त्वपूर्ण रहेको जनाउँदै नयाँ प्रायोजकले पनि त्यसको प्रतिनिधित्व गर्ने जनाए ।

प्रकाशित : चैत्र ३१, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?