फर्केर हेर्दा २०७७ : कोरोनापछिको फड्को

अर्धव्यावसायिक खेलकुद संरचना रहेको नेपालजस्तो देशमा लामो समयसम्म खेलाडी प्रशिक्षणविहीन हुँदा दीर्घकालीन असर पारेको थियो ।
कुशल तिमल्सिना

काठमाडौँ — चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारी अहिलेसम्म अन्त्य भएको छैन । खोपको आविष्कार भए पनि भाइरसले नयाँ स्वरुपमा मानिसलाई दुःख दिइरहेको छ । कोरोनाले वर्ष २०७६ मा सबैभन्दा प्रताडित बनेको क्षेत्रमध्येमा पर्छ खेलकुद ।

फर्केर हेर्दा २०७७ : कोरोनापछिको फड्को

वर्षभरि चुस्त तन्दुरुस्त रहनुपर्ने खेलाडी/अफिसियललाई कोरोना महामारीबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनले घरभित्रै खुम्च्याइदियो । र, यो क्रम झन्डै ६ महिनासम्म जारी रह्यो ।

खेलविज्ञहरूको तर्क मान्ने हो भने एउटा खेलाडीले एक दिनमात्र प्रशिक्षण गर्न पाएन भने उसको प्रदर्शन क्षमता (इन्डोरेन्स लेभल) मा ह्रास आउँछ । अर्धव्यावसायिक खेलकुद संरचना रहेको नेपालजस्तो देशमा यति लामो समयसम्म खेलाडीहरू प्रशिक्षणविहीन हुँदा यसले दीर्घकालीन असर पारेको थियो । कोरोनाको संक्रमणको डर न्युन हुन थालेपछि पछिल्ला ६ महिनामा भएका प्रतियोगितामा खेलाडीको प्रदर्शनको स्तरले पनि यो तर्कलाई पुष्टि गर्दछ ।

बंगलादेशसँग मैत्रीपूर्ण फुटबलमा पराजित भएपछि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण प्रदर्शन खस्किएको स्विकारेका थिए । चैत महिनामा नेपाल भलिबल संघले आयोजना गरेको क्लब लिग च्याम्पियनसिपमा साबिक विजेता एपीएफ क्लब फाइनल पुग्न सकेन । एपीएफले यसअघि चारै संस्करणको फाइनल खेलेको थियो । प्रशिक्षक महेश चौधरीले कोरोनापछि टोलीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बताएका थिए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७५ चैत ११ देखि नै लकडाउन गरेको थियो । पटक–पटक गरी झन्डै सात महिनासम्म कायम रह्यो । त्यतिबेला नेपालमात्र होइन विश्वकै खेल गतिविधि ठप्प थियो । कोरोनाकै कारण जापानमा २०२० जुलाई २४ देखि अगस्ट ९ सम्म निर्धारित ग्रीष्मकालीन टोकियो ओलम्पिक स्थगित भयो । त्यसका छनोट प्रतियोगिताहरू पनि स्थगित भए, सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका छनोट प्रतियोगिता र सन् २०२३ मा भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोटका रूपमा रहेको आईसीसी क्रिकेट लिग च्याम्पियनसिपका खेलहरू स्थगित भए । त्यसबाहेक थुप्रै खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित गरिएको थियो ।

***

अखिल नेपाल फुटबल संघ एन्फाले कात्तिक महिनामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबलका लागि अनुमति पाएसँगै नेपालमा खेलकुद गतिविधि सुरु भएको हो । नेपालले कात्तिक २९ र मंसिर २ गते ढाकामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई खेल खेल्यो । नेपालले एकमा पराजित रहेर अर्कोमा बराबरीको नतिजा निकाल्यो । मंसिर ५ गते नेपालगन्जमा कोरोनापछि पहिलो खेल गतिविधिका रूपमा नेपालगन्ज म्याराथन आयोजना भयो । यो प्रतियोगिताका विजेता एपीएफका गोपीचन्द्र पार्कीले एक वर्ष सरेर जुलाई २३ देखि अगस्ट ८ सम्म हुने तय भएको टोकियो ओलम्पिकमा एथलेटिक्सबाट नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यसयता क्रमशः अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेका खेलाडीको प्रशिक्षण सुरु भयो । टोकियो ओलम्पिकमा वाइल्ड कार्ड दाबेदार ७ खेलका १२ खेलाडीको प्रशिक्षण सुरु भयो । स्वास्थ्य सावधानीका साथ कराते खेलाडीको प्रशिक्षण भने साउनदेखि नै भइरहेको थियो ।

एन्फाले महिला राष्ट्रिय लिगको आयोजना गर्‍यो । लकडाउनकै कारण बीचैमा स्थगित सहिद स्मारक ‘बी’ डिभिजन लिगका बाँकी खेल र अघिल्लो वर्षकै कार्यक्रम सहिद स्मारक ‘सी’ डिभिजन लिग सम्पन्न भयो । एन्फाले सातै प्रदेशमा लिग आयोजना गरी विजेता टोलीबीच नेपालगन्जमा एन्फा प्रेसिडेन्ट कप फुटबल सम्पन्न गर्‍यो । नेपालले किर्गिस्तानको ओलम्पिक (यू–२३) टोली र बंगलादेशको राष्ट्रिय टोलीसम्मिलित थ्री नेसन्स कप आयोजना भयो । फाइनलमा बंगलादेशलाई २–१ गोलले हराएर नेपालले ३७ वर्षपछि घरेलु भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिताको ट्रफी उचाल्यो । वर्षको अन्त्यतिर राष्ट्रिय टोलीको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अल्मुताइरी नियुक्त भए । लकडाउनका कारण स्वदेश फर्किएका स्विडिस प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि रिक्त स्थानमा एन्फाले कतारको सहयोगमा अल्मुताइरीलाई नियुक्त गरेको हो । नेपालले विश्वकप तथा एसियाली कप छनोटअन्तर्गत अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ । यी खेलहरू कोरोना महामारीकै कारण स्थगित गरिएको थियो ।

आईसीसी क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले यसबीचमा दुई त्रिकोणात्मक शृंखला खेल्नुपर्ने थियो । कोरोनाकै कारण स्थगित यी खेल जुलाईमा खेलाउने तयारी छ । यसबीचमा नेपालले विश्व विजेता प्रशिक्षक डेभ ह्वाटमोरलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघले महिलातर्फ ट्वान्टी–२० र पुरुषतर्फ एकदिवसीय फर्म्याटको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता आयोजना गर्‍यो । त्यसका शीर्ष टोलीले खेल्ने मेयर कप क्रिकेट पनि आयोजना भयो ।

कोरोनाकाल पनि सबैभन्दा धेरै भलिबलका गतिविधि भए । राष्ट्रियस्तरका प्रतियोगिताहरू पोखरा, नेपालगन्ज, इलाम र काठमाडौंमा भए पनि स्थानीय र क्षेत्रीय प्रतियोगिता थुप्रै सम्पन्न भए । आरबीबी–एनभीए राष्ट्रिय पुरुष/महिला क्लब लिग भलिबल सम्पन्न भयो । एभीसी सेन्ट्रल जोन महिला भलिबलको साबिक विजेता महिला राष्ट्रिय टोलीले आउँदो अगस्ट–सेप्टेम्बरमा २१ औं एभीसी सिनियर वुमेन्स च्याम्पियनसिपका लागि छनोट पक्का गर्‍यो । संघले विदेशी प्रशिक्षक ल्याएर टिमको तयारी सुरु गर्ने जनाएको छ ।

***

कोरोना महामारी र खेल गतिविधिमा सीमितताका बावजुद केही खेलका खेलाडीको प्रदर्शन लोभलाग्दो थियो । जुन सफलता उनीहरूको खेलजीवनकै कोसेढुंगा रहनेछ । १३ औं दक्षिण एसियाली खेलकुदकी रजत पदक विजेता पुष्पा भण्डारीले पुसमा बंगलादेशमा स्वर्ण जितिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीको अवसरमा आयोजित ढाका म्याराथनमा पुष्पाले दक्षिण एसियाली स्पर्धामा स्वर्ण जितेर कोरोनाले थलिएको नेपाली खेलकुदमा खुसीको सञ्चार गरिन् ।

माघमा ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल जुनियर विश्व वरीयतामा तेस्रो स्थानमा रहे । कोरोनाकै कारण प्रतियोगिता नभए पनि उनीभन्दा अगाडि रहेका खेलाडी उमेरहदका कारण सिनियरमा बढुवा भएपछि प्रिन्सले ८ स्थान सुधार गरेर तेस्रो उक्लिए । त्यसबाहेक घरेलु खेलकुदमा प्रिन्सले सिनियरतर्फ सफलताको सुरुआत यसैपालि गरे । मंसिरमा सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनमा उनले शीर्ष वरीयताका रत्नजित तामाङलाई पराजित गरे । रत्नजित खुला एकलतर्फ प्रिन्ससँग पहिलोपल्ट हार्न पुगेका थिए । प्रिन्सले सिरहाको गोलबजारमा पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन दीपेश धामीलाई हराएर उपाधि जिते । चितवनमा प्रधानमन्त्री कपको फाइनलमा भने उनी दीपेशसँगै पराजित रहे ।

थ्री नेसन्स कपमा स्वर्ण जित्ने नेपाली टोलीका रक्षक रोहित चन्द सर्वोत्कृष्ट खेलाडी भए । उनी इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै आएका छन् । गोलरक्षक किरण चेम्जोङ भारतको आई लिगमा सिजनकै उत्कृष्ट गोलरक्षकमा चुनिए । थ्री नेसन्स कपको फाइनलमा बंगलादेशसँगको खेलबाट कीर्तिमानी खेलाडी तथा पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनले नेपालबाट सबैभन्दा बढी ७३ खेल खेले ।

राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य स्पाइकर प्रतिभा मालीले चोटबाट सानदार पुनरागमन गरिन् । गतवर्ष माघमा राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा घुँडाको चोट बोकेकी उनले शल्यक्रियापछि राष्ट्रिय क्लब लिग भलिबलमार्फत पुनरागमन गरिन् । उनकै प्रेरणादायी प्रर्दशनमा न्यु डायमन्डले लिग उपाधि जितेको थियो ।

***

मैदानभित्रको खेल गतिविधि कम भए पनि वर्षको सुरुदेखि नै मैदानबाहिरको गतिविधि उल्लेख्य रह्यो । खेलकुद विकास ऐन २०४८ लाई खारेज गरी संघीय संरचनाअनुकूल हुने नयाँ खेलकुद ऐन यही वर्षदेखि लागू भयो । संघीय संसदका दुवै सदनले झन्डै २ वर्ष लगाएर तयार पारेको कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले असार १२ गते प्रमाणीकरण गरिन् । असार १७ देखि नयाँ कानुन लागू भयो । त्यसले पुराना कानुनबाट भएका नियुक्तिलाई रिक्त बनाइदियो । फलस्वरुप रमेशकुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव नियुक्त भएको एक वर्षमै पदमुक्त भए । नयाँ प्रक्रियाअनुसार दरखास्त हालेर उनले साउन १२ गते चारवर्षे कार्यकालका लागि शपथ लिए ।


संघीय संरचनाअनुकूल हुने गरी लामो बहस पैरवीपछि जारी गरिएको नयाँ ऐनको विरोध पनि त्यत्तिकै भयो । मुख्यतः ऐनले राखेपको अधिकांश अधिकार खेलकुद मन्त्रालयमा निहित गरिदिएको थियो । भविष्यमा खेलकुदका मुख्य नियमक निकाय राखेप र खेलकुद मन्त्रालयबीच जुँगाको लडाइँ हुनेतर्फ धेरैको चिन्ता थियो । त्यसबाहेक राष्ट्रिय संघहरूलाई स्वायत्तताको नाममा अझै बन्देज गर्न खोजिएको आरोपहरू पनि लागेका थिए । ऐन जारी भए पनि अहिलेसम्म नियमावली बन्न सकेको छैन । त्यसैले पदावधि सकिएका खेल संघहरूको चुनाव हुन सकेको छैन । ऐन जारी भएपछि राखेपको बोर्ड बैठक बस्न सकेको छैन । बरु खेलकुद मन्त्री फेरिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय लिएपछि उनकै पार्टीका असन्तुष्ट पक्ष सरकारबाट बाहिरियो । पछि सरकार पुनर्गठन गर्दा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा हटाइए । पुसदेखि नयाँ मन्त्रीका रूपमा दावा तामाङले जिम्मेवारी सम्हालेका छन् ।

वर्षको अन्त्यतिर पुनः कोरोना संक्रमणको दर बढ्दै गएको छ । कोरोना संक्रमित बढ्न थालेपछि दोस्रो चरणको महामारी सुरु हुन लागेको आँकलन विज्ञहरूले गरेका छन् । पुनः लकडाउनको चर्चा हुन थालेको छ । यसले घरेलु र अन्तर्राष्ट्रिय खेलकुदमा पुनः समस्या पार्न सक्छ । वैशाखमा हुने ठूला प्रतियोगितामा त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज तथा फुटबलको नेपाल सुपर लिग छन् । सरकारले त्रिदेशीय ट्वान्टी–२० सिरिजमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न नामै तोकेर निर्देशन दिइसकेको छ । भविष्यमा यस्ता प्रतियोगिताको स्वीकृति नदिन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । भविष्यमा लकडाउन गर्नुपर्ने अवस्था आएमा नेपाली खेलाडीको ओलम्पिक सहभागिता र विश्वकप छनोटसमेत प्रभावित बन्न सक्छ ।

प्रकाशित : चैत्र ३१, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?