पुराना साथी, मीठा सम्झना- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना साथी, मीठा सम्झना

यो कथा त्यस्ता तीन फुटबल खेलाडीको हो, जसले लगभग सँगसँग फुटबल खेल्न सिके । आहा रारा गोल्डकपको निहुँमा पोखरामा एउटा मीठो जमघटमा सहभागी हुने मौका पाइयो, जहाँ जय थियो । जनमत थियो । हङकङमा रहेका तिलकलाई पनि यसबारे थाहा थियो । उनी त्यहाँ आफैं आउन सकेनन् । तर मन भने पुगेको थियो ।
हिमेश

पोखरा — आज होइन, धेरै अगाडि । पोखरा रंगशालामा अभ्यास सकेर कतै तिलक गुरुङ र जय थापाले मःमः खाए छन् । दुवैसँगै पैसा थिएन । तर एकले अर्कोसँग पैसा भएको सम्झे । सिनेमा जस्तै । पछि फुटबल बुट जमानी राख्नु परेको थियो । त्यो मःमः पसल अझै पनि त्यहीं छ । तिनका साहु अहिले पनि त्यहीं छन् । त्यो घटना सम्झन्छन् । अनि हाँस्छन् ।

माथिल्लो क्रममा दायाँबाट दोस्रो जनमत र पाँचौँ तिलक तस्बिर सौजन्य : सुदर्शन रञ्‍जीत

अहिले जय पोखराका उदीयमान व्यापारी भए । तिलक हङकङमा छन् । राम्रै कमाउँछन् । त्यो बेला पैसा थिएन । तर ‘क्या जीवन’ थियो । तिनका एक मिल्ने साथी जनमत कार्की पनि थिए । अहिले पनि छन् । तँ तँ म म चल्छ । जनमत आर्मीमा छन् । उनी पनि राम्रै ठाउँमा छन् । उनी एकपल्ट हङकङ गएका थिए । तिलकले उनलाई एक जोर जुत्ता किनिदिए । जुत्ता कति महँगो अथवा सस्तो थियो, त्यो कुरा भएन । जनमतले त्यस जुत्तामा तिलकको माया देखे । पुराना दिन सम्झे । तिलकका लागि साह्रो खुसी बने । उनलाई लाग्यो, साथीले प्रगति गरेछ ।

यो कथा त्यस्ता तीन फुटबल खेलाडीको हो, जसले लगभग सँगसँग फुटबल खेल्न सिके । आहा रारा गोल्डकपको निहुँमा पोखरामा एउटा मीठो जमघटमा सहभागी हुने मौका पाइयो, जहाँ जय थियो । जनमत थियो । हङकङमा रहेका तिलकलाई पनि यसबारे थाहा थियो । उनी त्यहाँ आफैं आउन सकेनन् । तर मन भने पुगेको थियो । खेलाडी छँदा जय धेरै बोल्दैन थिए । खासमा उनलाई ढंगले बोल्न पनि आउँदैन थियो । बोले पनि मात्रा पुग्दैन थियो ।

अहिले सबैभन्दा बढी बोल्ने यिनै जय भएका छन् । व्यापारी नै त रहे । उनले खुबै मीठा मीठा सम्झना सुनाए, आफ्नोबारे । तिलक र जनमतबारे पनि । जनमतसँग पनि जय र तिलकबारे यस्तै धेरै कथा थियो । दुवै खुबै हाँसे पनि । अनेक अनेक कथा सुनाए । त्यहीं जोडिए, उनीहरूभन्दा केही पछाडिका खेलाडी विष्णु केसी । सँगै थपिए, विष्णु गुरुङ र मानबहादुर तामाङ पनि । जमघटमा एक पुस्ता अगाडिका खेलाडी बिल तामाङ पनि आए ।

किरण श्रेष्ठ, जय र तिलक तस्बिर सौजन्य : सुदर्शन रञ्‍जीत

अहिले उनी उम्दा प्रशिक्षक भएका छन् । सहाराकै सुदर्शन रञ्जित र वीरभन्द्र आचार्य पनि जोडिए । कुरै कुरामा खास कुरा के निस्क्यो भने सहाराको ड्रिम टिम कस्तो हुँदो हो त ? यस्तो सबैभन्दा राम्रो टिम निकाल्ने काम पटक्कै सजिलो हुन्न, कुनै पनि क्लबको । फेरि यसमा फरक मत उत्तिकै हुने गर्छ । तर पनि यस्तो काम कहिले पनि रोकिन्न । त्यसैले ११ खेलाडीको त्यस्तो सूची बनाइयो, जसलाई राम्रो टिम पक्कै भन्न मिल्छ ।

अनि यो बढी भावनात्मक पनि छ, सहारालाई बढी मन पराउने सर्तमा । टिम यस्तो बन्यो, गोलरक्षकमा गणेश कुँवर । डिफेन्समा जय, हेम गुरुङ, तिलक र प्रेम पुन । मिडफिल्डमा को को त ? उत्तर हो, जनमत, सुरज गुरुङ, विसन गौचन र सन्तोष केसी । सन्तोष को त ? उनलाई लगभग सबैले बाबु भनेर चिन्दो रहेछ । फरवार्डमा भने विष्णु र नरेश श्रेष्ठ । विष्णु त सहारा रारा गोल्डकपमा पहिलो गोल गर्ने खेलाडी हुन्, त्यतिबेला पहिलो संस्करणको नाम क्याराभान गोल्डकप थियो ।

यो टिमको प्रशिक्षक को ठीक छ त ? यसैको एउटै उत्तर थियो, अरू कोही होइन, डम्बर गुरुङ । उनका सहायक भने तिनै बिल । ब्रिटिस आर्मीका यी गुरुङ नेपालले सन् १९२३ मा औपचारिक रूपमा खेलेको पहिलो ठूलो प्रतियोगिता नयाँ दिल्ली एसियाली खेलकुद टिमका सदस्य हुन् । पछि उनी पोखरेली फुटबललाई केही दिन्छु भनेर नेपाल झरे र सहारा एकेडेमीका मुख्य प्रशिक्षक बने । यसअघि नै मुख्य प्रशिक्षकको जिम्मा पाएका बिल भने उनका सहायक बन्न तयार भए ।

गुरुङको पारा आर्मीकै जस्तो थियो, अनुशासन उनलाई जत्तिको प्यारो कसैलाई थिएन । दौड भने ठ्याक्कै दगुर्नु पर्थ्यो, बस भनेपछि ठ्याक्कै बस्नुपर्थ्यो । पाए, उनी खेलाडीलाई पिट्न पनि बेर लगाउँदैन थिए । खेलाडीलाई प्रायः यस्तो मन पर्दैन । तर पछि आफैं आर्मीमा गएपछि जनमतले भनेछन्, त्यो बेलाको अनुभव चाहिँ काम आयो है । बिल भने हल्का रमाइलो माहोलमा टिमले खेल्नुपर्छ भन्थे । उनी पनि हङकङमै बस्छन्, अहिले पोखरा आएका छन् ।

टिमलाई व्यवस्थापक पनि चाहियो, यसमा पनि सबै एकमत छन्, दीपक गुरुङको नाममा । उनी जत्तिको खेलाडीलाई माया गर्ने कोही हुन्न रे, खेलाडी यस्तै छन् । जे होस, आहा रारा सुरु हुनु अगाडि पनि सहाराले मोफसलमा केही सानाठूला प्रतियोगिता खेलिसकेको थियो । पछि पनि यो काम रोकिएन । यी ११ खेलाडी लगभग त्यही समयका थिए । तर यही खेलाडीले आहा रारा भने जित्न सकेनन्, आफ्नो खेल जीवनको कुनै पनि मोडमा । विष्णु अपवाद रहे ।

बल्लतल्ल २०७० मा आएर सहाराले आहा रारा जित्यो, अब त्यो टिमलाई पनि त छुटाउन भएन । यसका कप्तान भने तिनै विष्णु थिए, जसले पहिलो ऐतिहासिक गोल गरे । यो टिमलाई पनि त विशेष उल्लेख त गर्नु नै पर्‍यो । विष्णु नेतृत्वको यो टिमका उनी फरवार्ड थिए, सँगै असिमजंग कार्कीले आक्रमणमा सहयोग गरेका थिए । मिडफिल्डमा भने हेमन गुरुङ, लवल र अनिल ओझा । डिफेन्समा सरोज दाहाल, कृष्ण कुँवर, पिटर सेगुन, मानबहादुर तामाङ र भिक्टर ।

पोस्टको जिम्मा सागर गुरुङमा । यसका खास खास पोखरेली खेलाडीलाई नयाँ पुस्ताको ड्रिम टिममा राख्ने कि ? पोखरेली फुटबलका जानकारी के भन्छन् भने काठमाडौं झरेर त्यहाँका क्लबमा खेल्ने जग बसाउने काम पुष्प केसीले गरे । बिलले यो काम अगाडि बढाए । पुराना नाम चलेका ऐतिहासिक खेलाडी त नरकाजी गुरुङ र गंगा गुरुङ रहे । राष्ट्रिय टिमबाट कृष्ण थापा सुरुमा जमे । तर नेपालका सबैभन्दा सफल पोखरेली खेलाडी त अनिल गुरुङ रहे ।

यहाँनिर विसन र उनका दाइ वसन्त गौचनको नाम पनि छुटाउनु भएन । फेरि, जय र जनमतमा फर्कने हो भने उनीहरू दुवै आफ्नो समयको फुटबललाई राम्रो मान्छन् । खासमा पुस्तापुस्ताको कथा यस्तै हो । आफूभन्दा सिनियरको बुट बोक्दा पनि उनीहरूलाई खुसी हुन्थ्यो । उनीहरू मान्छन्, अचेल यस्तो हुन्न । अहिले पैसा छ, पहिला थिएन । तर सबैभन्दा ठूलो संस्कार भन्ने कुरा त्यो बेला थियो रे । जय र जनमतसँग अहिले सबथोक हुन सक्छ, तर ती मीठा क्षण अब इतिहास भइसके । ती फेरि फर्कंदैनन् । यो कथा हो, पुराना साथीका मीठा सम्झनाको ।

प्रकाशित : चैत्र ३०, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ बसपार्कका टिकट काउन्टर बुधबारदेखि बन्द हुने

अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टरमा रुपान्तरण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउन्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् ।
रासस

काठमाडौँ — नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । 

अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टरमा रुपान्तरण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउन्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउन्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए ।

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउन्टर सञ्चालनमा छन् । ल्होत्सेले टिकट काउन्टरले मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।

उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । 'नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौँ,' उनले भने । प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ संक्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो ।

ल्होत्सेले बस टिकट खरिद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरिएको हो । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्कमा एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ ।

प्रकाशित : चैत्र ३०, २०७७ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×