१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संकटा पहिलोपल्ट च्याम्पियन

दीपक परियार

पोखरा — संकटा क्लबले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकपमा पहिलोपल्ट विजेता बन्दै इतिहास रचेको छ । १९ औं संस्करणको फाइनलमा शनिबार क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको हो । 

संकटा पहिलोपल्ट च्याम्पियन

पोखरा रंगशालामा शनिबार निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलियो । थप ३० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमै एक गोलले पछि परेपछि जितको सम्भावनाबाट टाढिएको संकटाले दोस्रो हाफको सुरुमै खेल बराबरीमा फर्कायो । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा संकटा ११ औं मिनेटमै १–० ले पछि पर्‍यो । अफ्रिकन रुट्सका मउसाको पासमा स्ट्राइकर बास्सेकले संकटाका डिफेन्डर साहिद स्मार्ट र निरज बस्नेतलाई बिट गर्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफ संकटाका लागि निकै संघर्षपूर्ण बन्यो । संकटाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन ।

खेलको ५१ औं मिनेटमा संकटाका गोलकिपर राजुबाबु थापाले एट्याकिङ क्षेत्रमा बल खसाले । उक्त बल संकटाका विदेशी खेलाडी ग्लोरीले नियन्त्रणमा लिँदै गोलमा परिणत गरे । अफ्रिकन रुट्सका तीन डिफेन्डरको बीचबाट उनले एक्लै बल अगाडि बढाएर बक्सभित्रबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट फिनिसिङ दिए । खेल बराबरीमा पुगेपछि संकटाले थप आक्रामक खेल्यो । यद्यपि दुवै टिमले गोल थप्न सकेन । अतिरिक्त ३० मिनेट निकै रोचक बन्न पुगेको थियो । अफ्रिकन रुट्सको एकपछि अर्को प्रहार संकटाका गोलकिपर राजुबाबुले विफल पारिदिए ।

टाइब्रेकरमा पनि उनले आफ्नो नायकत्व प्रदर्शन गरे ।रुट्सका एम्बाकोपको प्रहार उनले रोके । कुइटेको बल बाहिरियो । यानिक र रिमले मात्रै गोल गरे । उता संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुश घलान गोल गर्न सफल भए । सरोज दाहालको प्रहार भने विपक्षी गोलकिपर डी सिल्भियोले रोकेका थिए । राजुबाबु म्यान अफ द म्याच घोषित भए । उनी सर्वोत्कृृष्ट खेलाडी घोषित हुँदै एक थान स्कुटर प्राप्त गरे । सूर्यबहादुर केसी मेमोरियल बेस्ट गोलकिपर पनि उनी नै भए । डिफेन्समा संकटाका निरज बस्नेत, मिडफिल्डमा रुट्सका रिम, फरवार्डमा रुट्सकै बास्सेक र प्रशिक्षकमा रुट्सकै सर्ज बोरिस उत्कृष्ट घोषित भए । आयोजक सहारा क्लबले यस वर्ष आकर्षक पाँच विधाको अवार्ड स्व. उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रदान गरेको हो । क्लबको स्थापनाकालदेखि नै महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका केसीको स्मृतिमा उत्कृष्ट पाँच विधामा २५–२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

विजेता र उपविजेताले क्रमशः १० लाख १ हजार र ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन् । नेपाल पुलिस क्लबले फेयर प्लेको अवार्ड पायो । पुलिसका बुद्धबल तामाङ, अफ्रिकन रुट्सका मौसा, बास्सेक र संकटाका ग्लोरीले ४–४ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार पाए ।

आयोजक सहित विभागीय टिम एपीएफ क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, नेपाल आयल निगम मनाङ मर्स्यांदी क्लब, रुसलान थ्रीस्टार र क्यामरुनको अफ्रिकन रुट एसोसियसन सहभागी थिए । क्याराभान गोल्डकपसहित २० वर्षदेखि निरन्तर भइरहेको प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ ।

प्रकाशित : चैत्र २८, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?