एपीएफ ललितपुर मेयर महिला च्याम्पियन

काठमाडौँ — नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको छ । प्रतियोगिताको शनिबार भएको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो । टस जितेको सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदानमा ७ विकेट गुमाई १ सय ६ रनमात्र बनाउन सक्यो ।

एपीएफ ललितपुर मेयर महिला च्याम्पियन

कप्तान सीता रानामगर र ज्योति पाण्डेले पहिलो विकेटमा ६९ रनको साझेदारी गरेपछि एपीएफले १६.२ ओभरमै १ सय ९ रन बनाएको थियो । सीता २७ र प्लेयर अफ द फाइनल ज्योति ३६ रनमा रनआउट भए । इन्दु बर्मा १९ र ममता चौधरी १५ रनमा अविजित रहे ।

यसअघि सुदूरपश्चिमबाट विन्दु रावलले अविजित ४४ रन बनाएकी थिइन् । उनले ५४ बल खेली ४ चौका प्रहार गरिन् । डली भट्ट १४, कविता कुँवर १३ र रेवती धामी १० रनमा आउट भइन् । एपीएफकी रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता र विनु बुढामगरले १–१ विकेट लिइन् ।

विनु उत्कृष्ट बलर र ललितपुर मेयर–११ की कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर बनिन् । सीता उत्कृष्ट खेलाडी बनि २५ हजार पारिन् । ललितपुर महानगरपालिकाको प्रमुख प्रायोजनमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा प्रधानमन्त्री कपका शीर्ष पाँच टोलीले राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

विजयी एपीएफले ३ लाख नगद र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार नगद हात पार्‍यो । विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द लगायतले पुरस्कृत गरे ।

प्रकाशित : चैत्र २८, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?