विराट गोल्डकप : घरेलु टिम विराटनगर-११ को विजयी सुरुवात

विनोद भण्डारी

विराटनगर — घरेलु टिम विराटनगर ११ ले रात्रिकालीन विराट गोल्कप फुटबल प्रतियोगिताको पाँचौ संस्करणमा विजयी सुरुवात गरेको छ । बिहीबार उद्घाटन खेलमा विराटनगरले पाहुना टोली युनाइटेड फुटबल क्लब सिक्किमलाई २–१ ले हराएर क्वाटरफाइनल यात्रा गरेको हो ।

विराट गोल्डकप : घरेलु टिम विराटनगर-११ को विजयी सुरुवात

विराटनगरको जितमा प्रकाश बुढाथोकी नायक साबित भए । दुवै गोल उनकै नाममा रह्यो । खेलको सुरुवाती आठौं मिनेटमा बुढाथोकीले ३० यार्डवाट गरेको प्रहार गोलमा परिणत हुँदा सिक्किमका गोलरक्षक अभिजित रोय प्रतिक्रियाविहीन रहे । प्रकाशले ५३ औं मिनेटमा निर्णायक गोल गरे । उनी म्यान अफ द म्याच हुँदै १० हजार जित्न सफल भए ।

करिब आठ हजार दर्शकले भरिएको सहिद मैदानमा पाहुना टोली सिक्किमले दर्शकको मन जिते पनि खेलाडीका खुट्टाले उनीहरूको मन शान्त पार्न सकेन । आठौं मिनेटमा एक गोलले पछि परेको सिक्किमबाट १५ औ मिनेटमा साङगे छोपन भुटियाले गोल गर्दै टिमलाई खेलमा फर्काए । उनले आशिष देवानको पास सदुपयोग गरे ।

खेलको २० औं मिनेटमा विराटनगरका सुनील खड्काको वान भर्सेस वानको प्रहार गोलकिपर रोयले उत्कृष्ट वचाए । सिक्किमका भुवन बस्नेतले २४ औं मिनेटमा बक्सबाहिरदेखि गरेको सशक्त प्रहार बारियो । ४१ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले निकालेको पासमा कप्तान दीपक राईले ३० यार्डबाट गरेको प्रहार पोस्ट बाहिरिँदा अग्रता दोब्बर बनाउन चुक्यो ।

६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले बक्स बाहिरवाट गरेको प्रहार बारमा लागेर बाहिरियो । शुक्रबार भारतको पन्जाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र २७, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?