२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

हेल्प नेपालले चाहेको प्रतिद्वन्द्वी

एनभीए लिग भलिबल फाइनल आज तीन सेटको खेल हेर्दा हेल्प नेपाल हार्न चाहने तर एपीएफ जित्न नचाहने
कुशल तिमल्सिना

काठमाडौँ — लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबले हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि सोझो सेटको जित हासिल गरेपछि आरबीबी–एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा पुरुषतर्फ उपाधिका लागि यी दुवै टिम भिड्ने भएका छन् ।

हेल्प नेपालले चाहेको प्रतिद्वन्द्वी

महिलातर्फ न्यु डायमन्ड र नेपाल पुलिसबीच उपाधि भेट हुनेछ । क्लब लिगको पाँच संस्करणमा एपीएफ फाइनल नपुगेको यो पहिलोपल्ट हो ।

हेल्प नेपाल लगातार पाँच जितसहित मंगलबार नै फाइनल पुगिसकेको थियो । फाइनल पुग्ने अर्को टिमका लागि बुलबुले रारा, त्रिभुवन आर्मी र एपीएफ प्रतिस्पर्धामा थिए । लिग चरणको अन्तिम दिन बुधबार पहिलो खेलमा बुलबुले राराले नयाँबजार सामाजिक युवा क्लबमाथि २५–१९, २५–१२, २५–२१ को सोझो सेटमा जित निकाल्यो । यो नतिजाले आर्मीलाई फाइनलमा पुग्न पुलिसमाथि सोझो सेटको जितको दबाब बढ्यो । सुरुआती दुई सेट जितेर पनि लिगको साबिक विजेता आर्मीले खेल जित्न सकेन । पुलिसले त्यसपछि लगातार तीन सेट जित्यो । १ अंक जोडे पनि आर्मी फाइनलबाट बाहिरियो । उपाधि दाबेदार आर्मी पुलिससँग २५–१९, २५–२३, २४–२६, २३–२५, ११–१५ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो ।

‘हामी ३–० को सेटमा खेल जित्न आएका थियौं, सम्भव पनि थियो । सुरुआती २ सेट जितेपछि हाम्रा खेलाडी अधिक आत्मविश्वासी देखिए । त्यसपछि तीन सेट पुलिसले चोरेको उनीहरूले पत्तै पाएनन्,’ आर्मीका प्रशिक्षक जगतबहादुर सिंहले भने, ‘हाम्रो सबै क्षेत्रमा कमजोरी देखियो । मुख्य गरी रिसिभमा सुधार भएन । रिसिभ नहुने बित्तिकै समग्र टिमको प्रदर्शनमा असर पुग्ने भइहाल्यो ।’

दिनको अन्तिम खेल एपीएफले जितेको अवस्थामा फाइनल पुग्ने थियो, अन्यथा बुलबुले रारा फाइनलमा पुग्ने समीकरण बन्यो । हेल्प नेपाललाई फाइनलमा तीन पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडीसम्मिलित बुलबुले राराभन्दा एपीएफ नै सहज हुने निश्चित थियो । भारतीय राष्ट्रिय टोलीका कप्तान विनित कुमारसहित दुई मुख्य खेलाडीलाई हेल्प नेपालले आराम दियो । दोस्रो सेटमा तालमेल देखिएन र एपीएफले सहज जित निकाल्यो । २५–१८, २५–१८, २५–२३ को सोझो सेटमा पराजित हुँदा पनि हेल्प नेपालका खेलाडीमा कुनै ग्लानिभाव थिएन । किनभने फाइनलमा उनीहरूले चाहेको प्रतिद्वन्द्वी पाएको थियो ।

तीन सेटको खेल हेर्दा हेल्प नेपाल हार्न चाहने तर एपीएफ जित्न नचाहने जस्तो स्पष्ट देखिन्थ्यो । सायद एपीएफले पनि सोचेको थिएन हेल्प नेपालले दोस्रो सेट टिम कोर्टमा उतार्नेछ । दुवै टोलीले लगातार नकारात्मक अंक दिइरहेका थिए । मुख्यगरी एपीएफले सर्भ र रिसिभमा गल्ती गरिरह्यो । रोहित र विनित नहुँदा आक्रमणको जिम्मा पाएका हेल्प नेपालका अमृत थापा र याम क्षेत्रीले पनि शट प्रहारमा जाँगर देखाइरहेका थिएनन् । उनीहरूको सर्भ र स्पाइक लगातार आउट भइरहेको थियो । मानौं दुवै टोली जित्नै चाहँदैनन् ।

‘हामीले आज रणनीतिक रूपमा खेल्यौं । लगातारको खेलले हाम्रा मुख्य खेलाडीले आराम पाएका थिएनन् । भोलिको फाइनलमा राम्रो प्रदर्शनका लागि आज हामीले उनीहरूलाई खेलाएनौं,’ हेल्प नेपालका प्रशिक्षक रमेश केसीले भने, ‘प्रतियोगिताभर एउटै सेट खेलेकाले बेन्चका खेलाडीले अवसर पाएका थिएनन् । आज पहिलो खेल खेलेका उनीहरूबीच राम्रो तालमेल बन्न सकेन र हामी हार्‍यौं ।’ उनले फाइनल खेल जित्नका लागि खेलिने र सशक्त प्रदर्शन गर्ने विश्वास दिलाए । खेलको यो नतिजालाई दुवै टोलीले सामान्य रूपमा ग्रहण गरे पनि बुलबुले राराका लागि भने टाउको दुखाइ बन्यो । बुलबुले राराका अध्यक्ष तथा प्रशिक्षक निरमकुमार शाहीले यो खेललाई मिलेमतोको आरोप लगाए । तर उनले प्रमाण पेस गर्न सकेनन् । राखेप कभर्डहलमा उपस्थित झन्डै २ सय समर्थक पनि यो खेलबाट खुसी थिएनन् ।

खेल मिलेमतो भएको आरोप लगाएका केही दर्शक टिकटको पैसा फिर्ता गर्, सेटिङ हान्न पाइँदैन जस्ता नारा लगाउँदै कभर्डहलबाट बाहिरिए । भीडबाट धेरैपल्ट सेटिङको कुरा उठेको थियो । केही दर्शक, ‘नेपालको चलन, यहाँ पनि भयो पालन’ जस्ता नारा लगाइरहेका थिए । विरोध गर्नेमा बुलबुले रारा क्लबका केही अफिसियल पनि थिए । खेल जित्न चाहनुभएको देखिएन, किन ? भन्ने प्रश्नमा हेल्प नेपालका प्रशिक्षक केसीले ‘माइन्ड गेम’ खेलेको प्रतिक्रिया दिए । ‘हामी पैसामा बिक्ने टोली होइनौं र उपाधि जित्न सक्षम टोलीलाई फिक्सिङ गर्नु आवश्यक छैन । त्यो हाम्रो नैतिकताले पनि दिँदैन । एउटा कुरा के हो भने हामी फाइनलमा सहज प्रतिद्वन्द्वी चाहन्छौं ।’

महिलातर्फ एपीएफलाई ३–१ को सेटमा अप्रत्याशित हार चखाउँदै होङगान्जी न्यु डायमन्ड क्लबले महिलातर्फ उपाधिका लागि नेपाल पुलिससँग खेल्ने भएको छ । लिग चरणको अन्तिम खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको हो ।

लिग चरणको अघिल्लो सेटमा नेपाल पुलिसमाथि ३–० को सोझो सेटमा जित निकालेको न्यु डायमन्ड जारी प्रतियोगितामा उच्च लयमा देखिन्छ । त्रिभुवन आर्मीसँग इतिहासमै पहिलोपल्ट ३–२ को सेटमा पराजित भए पनि राष्ट्रिय टोलीका कप्तान अरुणा शाही र मुख्य स्पाइकर प्रतिभा मालीप्रेरित डायमन्डले प्रेरणादायी प्रदर्शन गरिरहेको छ । ‘हामीले लामो समयपछि राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्दा खुसी छौं,’ एनभीए क्लब लिगको पहिलो संस्करण विजेता न्यु डायमन्डका प्रशिक्षक कुमार राईले फाइनल रणनीतिबारे भने, ‘अघिल्लो खेलमा पुलिस र आज एपीएफलाई हराएपछि हाम्रा खेलाडीहरू उच्च मनोबलमा छन् । त्यसबाहेक हाम्रो समग्र सेट नै लयमा देखिएको छ । रिसिभ र ब्लकमा सुधार भएको छ र यही नतिजा फाइनलमा दोहोर्‍याउन चाहन्छौं ।’

क्लब लिगका यसअघिका चारै प्रतियोगिताको फाइनल खेलेको साबिक विजेता एपीएफका प्रशिक्षक महेश चौधरी अप्रत्याशित हारपछि स्तब्ध देखिन्थे । उनी पुरुषको तुलनामा महिला टोलीप्रति विश्वस्त थिए । तर नतिजा उल्टो भयो । उनले समग्र टिमको प्रदर्शनमा प्रश्न उठाए । ‘सुरुमा हाम्रो रिसिभमा समस्या भयो । रिसिभै बिग्रेपछि खेल राम्रो हुने कुरै भएन । त्यसपछि काउन्टर एट्याकको प्रयास पनि असफल रह्यो,’ चौधरीले भने, ‘नेपालगन्जमा जितेपछि हाम्रा खेलाडीहरू उत्साही थिए । फिटनेसको समस्या थिएन ।’ उनले कोरोना महामारीका कारण खेल नहुँदा टिमको प्रदर्शन आंशिक खस्किएको भने स्विकारे । साथै टिममा नयाँ खेलाडीको अभाव रहेकाले अरूलाई परीक्षण गर्न नपाएको गुनासोसमेत गरे ।

अर्को खेलमा पुलिसलाई आर्मीको चुनौती पन्छाउन धेरै कसरत गर्नुपरेन । २६–२४, २५–१७, २८–२६ को सेटमा जित निकालेको पुलिस टिम स्पाइकर उषा भण्डारीकै प्रदर्शनमा निर्भर रह्यो । फाइनलमा न्यु डायमन्डको रणनीति पनि उषालाई रोक्नेमै केन्द्रित हुनेछ । न्यु डायमन्ड ५ खेलबाट १३ र समान खेलबाट पुलिस ११ अंकसहित फाइनल खेल्न लागेका छन् ।

प्रकाशित : चैत्र २६, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?