आर्मी प्रारम्भिक छनोटको दोस्रो चरणमा

हिमेश

काठमाडौँ — आर्मीले एएफसी कप २०२१ मा बुधबार दशरथ रंगशालामा श्रीलंकाको पुलिस एससीलाई सजिलै ५–१ ले हराएर प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । आर्मीले एक गोलले पछाडि रहेको स्थितिमा आकर्षक जित निकालेको हो र अब दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग (आईएसएल) टिम बेंगलुरु एफसीको सामना गर्नेछ ।

आर्मी प्रारम्भिक छनोटको दोस्रो चरणमा

सुरुआती अग्रताका बाबजुत श्रीलंकाली पुलिसको प्रदर्शन कमजोर देखियो । अब दोस्रो चरणमा आर्मीको प्रतिद्वन्द्वी भारतीय कप्तान सुनिल क्षेत्रीको नेतृत्वमा रहेको बेंगलुरु रहेको छ र त्यसमा आर्मीले कडा चुनौती पेस गर्नु पर्नेछ । प्रारम्भिक छनोटको दोस्रो चरणको खेल एक सातापछि बेंगलोरमा हुनेछ र यो खेल अप्रिल १४ मा रहेको छ ।

आर्मीले आक्रामक सुरु गरे पनि आफ्नो पहिलो गोलका लागि ४१ औं मिनेट कुर्नु परेको थियो । श्रीलंकाली रक्षापंक्तिले गरेको कमजोर ‘क्लियरेन्स’ मा सन्तोष तामाङले उत्कृष्ट गोल गरे । उनले २५ यार्डबाट गरेको शक्तिशाली हाफ–भलि प्रहार श्रीलंकाली गोलरक्षक दिनेश महेन्द्रनलाई कुनै मौका नदिएर गोलमा परिणत भएको थियो ।

दोस्रो गोलका लागि आर्मीले धेरै समय भने कुर्नु परेन र ४३ औं मिनेटमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे । कप्तान भरत खवासले दिएको सटिक पासमा नवयुगले नजिकको दूरीबाट हेडिङ गरे । खेलको ५० औं मिनेटमा टंक बस्नेतले तेस्रो गोल थपे र यो श्रीलंकाली गोलरक्षक महेन्द्रनको कमजोर प्रदर्शन सम्भव भएको थियो ।

उनले फुत्काएको बलमा टंकले नजिकको दूरीबाट सजिलै गोल गरे । सब्टिच्युट सुदील राईले ८४ औं मिनेटमा चौथो गोल गरे । उनले विपक्षी टिमका गोलरक्षक र रक्षापंक्तिको कमजोरीमा गोल गरे । उनको सटिक पासमा डाइभ गरेका आर्मी गोलरक्षक विश्वास चौधरीले छुने पनि सकेनन् । नवयुगले इन्ज्युरी समयको तेस्रो मिनेटमा टिमको चौथो र आफ्नो दोस्रो व्यक्तिगत गोल गरे ।

श्रीलंकाली पुलिसले २८ औं मिनेटमा ‘अगेन्स्ट रन अफ प्ले’ अग्रता लिएको थियो । इसाक एडेभुले निकालेको पासमा घानाका इभान्स एसान्टेले व्यक्तिगत खेल प्रदर्शन गर्दै गोल गरे । पहिलो हाफको पूरा कथा भने आर्मीले लगातार आक्रमण बुनेर पनि गोल गर्न नसक्नु रह्यो । आर्मीले एकपछि अर्को आक्रमण बनेर पनि गोल गर्न सकेको थिएन् ।

दोस्रो हाफमा पनि आर्मीले एकपछि अर्को आक्रमण बुने पनि गोल निकाल्न सकेन् । आर्मीको आक्रमण निर्णायक सावित भएको भए, उसले खेल आधा दर्जनभन्दा बढी गोलले जित्नु पर्ने थियो । दोस्रो हाफमा श्रीलंकाली पुलिसका ७६ औं मिनेटमा इभान्सले प्रहार पोस्टमा ठोकिएर फर्केको थियो ।

यो नै दोस्रो हाफमा श्रीलंकाली टिमले सिर्जना गरेको एकमात्र अवसर भयो । यस्तै इन्ज्युरी समयमा सुदीलको प्रहार पोस्टमा लागेको थियो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा दुवै टिमले उत्तिकै गतिमा खेल्न सकेन र खेल केही हदसम्म सुस्त देखिएको थियो । तर पनि आर्मी ठूलो अन्तरको जितका लागि पूर्ण हकदार देखियो ।

आर्मी टिम : गौत्तम श्रेष्ठ, वसन्त विवेक (विमल पाण्डे–८२), विकास तामाङ, टंक बस्नेत (सुदील राई–६३), सन्तोष तामाङ, नवयुग श्रेष्ठ, भरत खवास (आशिष शाक्य ९०), सेसाहाङ आङदम्बे, दीपक गुरुङ, विकास खवास (युद्ध शाही ९०) र विकाश चौधरी ।

रेफ्री : अहदम एलाली (कुवेत)

सहायक रेफ्री : अब्बास हामा (कुवेत) र अब्लल हाडी (कुवेत)


प्रकाशित : चैत्र २५, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?