एनभीए क्लब लिग भलिबल : हेल्प नेपालको सनसनी- खेलकुद - कान्तिपुर समाचार

एनभीए क्लब लिग भलिबल : हेल्प नेपालको सनसनी

कुशल तिमल्सिना

काठमाडौँ — त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटको जितसहित टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी–एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबलको फाइनल पुगेको छ । स्पर्धामा दोस्रो हार भोगेको आर्मीका लागि फाइनल यात्रा कठिन बनेको छ । 

एनभीए लिग भलिबलमा हेल्प नेपालका विनीत कुमारको स्पाइक रोक्ने प्रयासमा त्रिभुवन आर्मीका खेलाडी (नीलो)। तस्बिर : केशव थापा/कान्तिपुर

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आर्मीका खेलाडीहरू उच्च लयमा रहेको हेल्प नेपालका भारतीय स्टारद्वय विनीत कुमार र रोहित कुमारको आक्रमण रोक्न असफल रहे । भारतीय राष्ट्रिय टोलीका कप्तानसमेत रहेका विनीतले स्पाइकतर्फ झन्डै शतप्रतिशत अंक बटुलेका थिए । स्पाइकर विनीत, रोहित र सेटर विकास तमाकसहितको प्रदर्शनको तथ्यांक हेर्ने हो भने हेल्प नेपालको अंकमा ५० प्रतिशतभन्दा बढी यी तीन खेलाडीको योगदान रह्यो । त्यसबाहेक भारतीय सेनामा रहेर भलिबल खेलिरहेका अमृत थापाको उपस्थितिले पनि हेल्प नेपाल सशक्त बनेको छ ।

हेल्प नेपालले ५ खेलबाट १५ अंक बनाएको छ । उसले प्रतियोगितामा १५ सेट जित्दा २ सेट गुमाएको छ । उसले प्रतियोगिताको अन्तिममा रहेको टोली नयाँबजार सामाजिक युवा क्लब र बुलबुले रारा क्लबसँगको खेलमा १–१ सेट गुमाएको थियो ।

फाइनलमा पुगेपछि उत्साही देखिएका हेल्प नेपालका मुख्य स्पाइकर विनीत कुमारले नेपाली समर्थकको साथ र टिमको सफलतामा खुसी लागेको बताए । २०७४ सालमा विनीतसम्मिलित हेल्प नेपाल टिम क्लब लिग भलिबलमा तेस्रो भएको थियो । सन् २०१९ मा उनी नेतृत्वको भारतीय टोलीले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । ‘म अहिलेसम्म तीनपल्ट नेपाल आएँ । यहाँको भलिबल माहोल राम्रो लाग्छ,’ नेपाली खेलाडीको प्रदर्शनस्तरबारे उनले भने, ‘नेपालका खेलाडीमा बेसिक ज्ञानकै कमी भएको मैले पाएँ ।’ उनले भारतमा थुप्रै स्तरीय भलिबल खेलाडी रहेको र उनीहरू नेपाल आएर खेल्न इच्छुक रहेको पनि सुनाए ।

हेल्प नेपालका प्रशिक्षक रमेश केसीले हेल्प नेपाल शतप्रतिशत जितसहित उपाधि उचाल्ने लक्ष्यमा अडिग रहेको सुनाए । ‘हामी फाइलमा पुगिसकेका छौं तर लिग चरणको एक खेल बाँकी छ । हामी सबै खेल जित्नका लागि खेल्नेछौं,’ उनले भने, ‘हामीले अझै पनि रिसिभमा सुधार गर्ने ठाउँ छ । हाम्रा केही खेलाडी भारतीय सेनामा रहेर भलिबल खेल्दै आउनुभएको छ । उता र यताको बलको स्तरका कारण उहाँहरूको हात बलमा राम्ररी कनेक्ट भइरहेको छैन । रिसिभमा सुधार गर्ने हो भने हामीलाई कसैले हराउन सक्दैन ।’ भारतीय भलिबल संस्कृतिमा हुर्किएका अग्ला कदका स्पाइकरलाई रोक्न आर्मीले सशक्त ब्लक रणनीति लिएको थियो । मुख्यतः त्यसमै असफल रह्यो । त्यसबाहेक रिसिभमा समस्या देखियो । पावर सर्भको चक्करमा पनि आर्मीले केही अंक गुमायो ।

‘हेल्प नेपाल हाम्रो लागि नयाँ टिम थिएन । हामीले उनीहरूलाई रोक्न बनाएको रणनीतिले काम गरेन,’ कभर्डहलमा २५–१७, २५–१९, २५–१६ ले पराजित भएपछि आर्मीका प्रशिक्षक जगतबहादुर सिंहले भने, ‘यो खेल एकपक्षीय रह्यो ।’

आर्मीको यो प्रतियोगितामा दोस्रो हार हो । यसअघि बुलबुले रारा क्लबसँग ३–१ को सेटमा पराजित भए पनि आर्मी फाइनल लक्ष्य पूरा हुनेमा विश्वस्तजस्तै थियो । सोझो सेटको हारले आर्मीमा दबाब बढेको छ । लिग चरणको अन्तिम खेलका रूपमा नेपाल पुलिससँग खेल्दा आर्मीलाई सोझो सेटको जित अनिवार्य रहनेछ । त्यसबाहेक अन्य टिमको नतिजामा पनि भर पर्नुपर्छ ।

लिग चरणका अन्तिम खेलमा बुधबार आर्मीले पुलिस र हेल्प नेपालले एपीएफसँग खेल्नेछ । त्यस्तै बुलबुले राराले नयाँबजार सामाजिक युथ क्लबसँग खेल्नेछ । फाइनलमा पुग्न एपीएफलाई हेल्प नेपालमाथि सोझो सेटको जित आवश्यक छ । एपीएफ हारेको वा ५ सेटमा जितेको अवस्थामा आर्मीले पुलिसलाई सोझो सेटमै हराउनुपर्नेछ । एपीएफ र आर्मीले अपेक्षाअनुसार नतिजा निकाल्न सकेनन् भने पाकिस्तानी राष्ट्रिय टोलीका तीन खेलाडीसम्मिलित बुलबुले राराले फाइनल खेल्नेछ । प्रतियोगिताकै सबैभन्दा कमजोर टोली नयाँबजारमाथि उसको जित अपेक्षा गर्न सकिन्छ । यसो भएमा क्लब लिगमा पहिलोपल्ट विभागीय टोलीको अनुपस्थितिको फाइनल हुनेछ । भारत–पाकिस्तानका खेलाडीबीचको फाइनलजस्तै हुनेछ ।

मंगलबारै अर्को खेलमा नेपाल पुलिसले एपीएफमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्यो । सुरुआती दुई सेट २५–२१, २५–२३ ले अग्रता लिएर जिततर्फ अग्रसर पुलिस त्यसपछिका दुई सेटमा रोकियो । एपीएफले २५–२०, २५–१७ ले जितेपछि खेल बराबरी भयो । अन्तिम तथा निर्णायक सेटमा पुलिस १५–१३ ले अगाडि रहँदै जित निकाल्न सफल रह्यो । बुलबुले राराले मणिमुकुन्दलाई ३–० को सोझो सेटमै हरायो । बुलबुलेले २५–२१, २५–१९, २५–१६ ले सेट जितेर फाइनल सम्भावना जीवितै राखेको हो ।

महिलातर्फ भने फाइनल पुग्ने टोलीको छिनोफानो बुधबार हुने लिग चरणको अन्तिम खेलले लगाउने छ । बुधबार न्यु डायमन्ड स्पोर्ट्स क्लब र एपीएफ तथा त्रिभुवन आर्मी र नेपाल पुलिस आमने–सामने हुँदैछन् ।

मंगलबार आ–आफ्ना खेल जितेर एपीएफ र न्यु डायमन्ड समान १० अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद्माथि ३–० को सेटमा जित निकाल्यो । सहज जित निकाल्ने क्रममा एपीएफले २५–१३, २५–७, २५–९ को सेटमा खेल आफ्नो पक्षमा पारेको हो ।

अर्को खेलमा न्यु डायमन्ड क्लब पुलिसमाथि हाबी रह्यो । उपाधिको मुख्य दाबेदार एपीएफमाथि सनसनी जित निकालेको पुलिस न्यु डायमन्डविरुद्ध भने कमजोर देखियो । सोझो सेटमा जित्नले क्रममा न्यु डायमन्डले २५–२२, २५–२२, २५–१६ को जित निकालेको हो ।

महिलातर्फ समान ४ खेलबाट आर्मी र पुलिसको ८–८ अंक भएको छ । लिग चरणमा भरतपुरले ५ खेलबाट ३ अंक जोड्दा ढोरपाटन अंकविहीन हुँदै घर फर्केको छ ।

प्रकाशित : चैत्र २५, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

बेपत्ता बालबालिकाको खोजी गर

सम्पादकीय

आँकडा नै आफैंमा अत्यासलाग्दो छ— नेपालबाट दिनहुँ १० बालबालिका हराइरहेका छन् । पछिल्ला ८ महिनामा झन्डै २ हजार ४ सय बालबालिका हराएकामा करिब आधा फेला परेकै छैनन् ।

पहिलो त, यति धेरै बालिबालिका हराउनु नै डरलाग्दो तथ्यांक हो । दोस्रो, अंक जतिसुकै भए पनि सम्बन्धित परिवारका लागि त आफ्नो बच्चा स्वयंमा सर्वस्व हो । र, आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो । त्यसैले, हतपत्त नभेटिने गरी कहाँ हराइरहेका छन् यी बालबालिका ? कहाँ पुर्‍याइन्छ उनीहरूलाई ? अनि, कसको हात छ यसमा ? यसबारे सरकारले गहन अनुसन्धान गर्न जरुरी छ । हराएका बालबालिकाको खोजी गर्नेदेखि थप बालबालिका बेपत्ता हुन नदिन अविलम्ब राज्यका निकायहरूले उचित अग्रसरता लिनुपर्छ ।

हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै हराएका २ हजार ३ सय ८८ बालबालिकामध्ये १ हजार १ सय ६९ जना अझै बेपत्ता छन् । सबभन्दा धेरै बालबालिका प्रदेश २ बाट हराएका छन् । यस अवधिमा त्यहाँबाट ५ सय ३३ बालिकासहित ६ सय १२ बालबालिका बेपत्ता भएका छन् । तीमध्ये २ सय २१ बालिका भेटिए पनि ३ सय १२ को अत्तोपत्तो छैन । प्रदेश २ लाई वाग्मतीले पछ्याएको देखिन्छ, जहाँबाट ४ सय ५२ बालबालिका हराएका छन् । जानकारहरूका अनुसार यसबीचमा बेपत्ता भएका २ सय ५२ बालक र ९ सय १७ बालिका कहाँ छन् भन्ने अन्दाज पनि कसैसित छैन । उनीहरू कुन अवस्थामा छन् भन्ने यकिन हुने त झन् कुरै भएन ।

यो तथ्यांकको अर्को डरलाग्दो पक्ष, हराउनेमा बालकको तुलनामा बालिका झन्डै तेब्बर छन् । जबकि, फेला पर्ने बालकको प्रतिशत बालिकाको तुलनामा अलि बढी देखिन्छ । साउनयताका आठ महिनामा हराएका ५ सय २७ बालकमध्ये २ सय ७५ जना र १ हजार ८ सय ६१ बालिकामध्ये ९ सय ४४ जना फेला परेका छन् । हराएकामध्ये १५–१८ वर्षका किशोरी ७६ प्रतिशत छन्, जुन अझ आतेसलाग्दो तथ्य हो । त्यसैले, उनीहरूको जोखिमको पाटोलाई हेरेर पनि खोजी तथा अनुसन्धान केन्द्रित गर्नुपर्ने देखिन्छ । यस्तै, परिषद्का अनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार ७ सय २९ बालबालिका हराएका थिए । यसपालि हराउने बालबालिकाको संख्या अबका महिनामा पनि उस्तै रहेमा अघिल्लो आर्थिक वर्षमा भन्दा थप ८ सय बालबालिका बेपत्ता हुने देखिन्छ । तसर्थ, थप बालबालिका हराउन नदिन सरकारको विशेष सक्रियताको खाँचो छ ।

हराएका बालबालिकाको गम्भीरतापूर्वक खोजी गर्नुपर्ने एउटा पक्ष त छँदै छ, थप हराउन नदिन के गर्ने भन्नेमा पनि सरोकारवाला निकायबीच उचित विमर्श हुनुपर्छ । र, त्यहीअनुसार रणनीति तथा कार्ययोजना बनाइनुपर्छ । खासरी, बालबालिका परिवारको चौघेरा अर्थात् सम्पर्कबाट कसरी बाहिर पुग्छन् अर्थात् उनीहरूलाई परिवारबाट कसरी फुत्काइन्छ भन्ने पाटोमै विशेष अध्ययन गरिनुपर्छ । उनीहरूलाई बेपत्ता बनाउन मानव तस्करहरूले कुन तरिकाले पहुँच बढाइरहेका छन् भनेर पनि पहिल्याउनुपर्छ । यस पाटोबारे केही तथ्य पत्ता लाग्न सक्यो भने बालबालिका र अभिभावकहरूलाई सचेत बनाउन सम्भव हुन्छ ।

हराएकामध्ये कतिपय बालबालिका कति कुरा बुझ्न सक्ने अर्थात् किशोरावस्थामा प्रवेश गरिसकेका छन् । त्यसैले जोखिममा रहेका बालबालिकालाई स्थानीय सरकारसहितका राज्यका निकायहरूले यो पाटोमा सचेत तुल्याउनुपर्छ । अभिभावकको प्रवृत्तिमा पनि फेरबदल आउनु/ल्याउनुपर्छ । बालिका हराएको केही दिनसम्म सूचना लुकाएर ढिलो मात्रै राज्यका निकायमा खबर गर्ने प्रचलन तोडिनुपर्छ, यो पाटोमा अभिभावक शिक्षाकै प्रबन्ध मिलाउनुपर्छ । बालबालिका हराएपछि यथासम्भव छिटो अभिभावकले स्थानीय वडा/पालिका, प्रहरी अर्थात् बालबालिका खोजतलास केन्द्रको निःशुल्क टेलिफोन नम्बर १०४ मा सम्पर्क गर्नुपर्छ । केन्द्रमा प्रत्येक दिन बालबालिका खोजिदिनुपर्‍यो भन्ने फोन आइरहेको हुन्छ । र, उसले हराएका बालबालिकाको खोजीमा सहयोग पुगोस् भनेर नेपाल टेलिभिजनमार्फत बालबालिकाको फोटोसहितको सूचना प्रसारण गरिरहेको हुन्छ । समयमै सबैको पहल भयो भने यस्ता बालबालिका भेटिने सम्भावना बढी हुन्छ ।

हराइरहेका बालबालिकाको खोजीमा राज्यका निकायसित जनशक्ति अभावको बहाना स्वीकार्य हुन सक्दैन । उनीहरूको हरहालत थाहा पाई उद्धार गर्नका खातिर सरकारले हरसम्भव सबै उपाय लगाउनुपर्छ । र, बालबालिका बेपत्ता हुन नदिन स्थानीय तहहरूले प्रभावकारी भूमिका खेल्नुपर्छ । यसका निम्ति उनीहरूले बालबालिकासम्बन्धी ऐन–२०७५ ले प्रबन्ध गरेका संरचनाहरू निर्माण गर्नुपर्छ । ऐनअनुसार स्थानीय तहमा बालअधिकार समिति गठन गरी स्थानीय तहमै बालकल्याण अधिकारी नियुक्त गर्नुपर्छ । अहिलेसम्म अवस्था कस्तो छ भने, ७ सय ५३ स्थानीय तहमध्ये ३० वटाले मात्रै बालअधिकार समिति गठन गरेका छन् र जम्मा ५ वटाले मात्रै बाल कल्याण अधिकारी नियुक्त गरेका छन् ।

बालबालिकाको हकहित जोडिएको विषयमा स्थानीय सरकारहरूको यस्तो उदासीनता उदेकलाग्दो देखिन्छ । स्थानीय सरकारहरू मात्रै अग्रसक्रिय हुने हो भने पनि बालबालिका हराउने क्रममा कमी आउने मात्र होइन, हराएकाहरूको खोजी गर्न पनि सजिलो हुन्छ, यो यथार्थप्रति सम्बन्धित जनप्रतिनिधिहरू संवेदनशील बन्नैपर्छ ।

प्रकाशित : चैत्र २५, २०७७ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×