कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थ्रीस्टार च्याम्पियन

सुवास विडारी

मकवानपुर — ललितपुरे क्लब थ्रीस्टार सिजनको पहिलो नकाउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । 

थ्रीस्टार च्याम्पियन

मकवानपुरमा सोमबारको चौथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा अफ्रिकी खेलाडी मिलेर बनेको अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन भएको हो । दुई गोलले पछि परेको अवस्थामा थ्रीस्टारले फाइनलमा उत्कृष्ट पुनरागमन गर्दै उपाधिमा नाम लेखाएको हो । खेलको १२ औं मिनेटमा क्यामरुनी टोलीका एम्फोमोले गोल गरे । २९ औं मिनेटमा मौसाले गोल थप्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफमा दुई गोलले पछाडि परेको थ्रीस्टारबाट मनीष डाँगीले ५७ औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले दुई क्यामरुनी खेलाडी बिट गर्दै गोल गरे । खेलको ६२ औं मिनेटमा थ्रीस्टारका निशान्त खड्काले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । उनले फ्रिकिकमार्फत् गोल गरेका हुन् । मैदानको देब्रे भागमा प्राप्त फ्रिकिकलाई उनले उत्कृष्ट फिनिसिङ गरी खेल बराबरीमा ल्याएका थिए ।

थप चार मिनेटको इन्ज्युरी समयको अन्तिम समयमा थ्रीस्टारले प्राप्त पेनाल्टीको सदुपयोग गर्दै कप्तान रूपेश केसीले गोल गरे । बक्सभित्र क्यामरुनी खेलाडीले हातले बल रोकेपछि प्राप्त पेनाल्टीमा रूपेशले गोल गरेका हुन् । क्यामरुनी गोलरक्षक डी सिल्भियोले समय खेर फाल्न बल खेलाइरहँदा मनीष डाँगीले बल खोस्दै गरेको प्रहार क्यामरुनका डिफेन्डर इबोर्डेले हातले रोके । इबोर्डेलाई रेफ्रीले रातो कार्ड देखाएर थ्रीस्टारलाई पेनाल्टी अवसर दिएका थिए ।

लगातार खेलका कारण क्यामरुनी टोली दोस्रो हाफमा सुस्त देखियो । आइतबारमात्र अफ्रिकन टोलीले पोखरामा आहा–रारा गोल्डकपमा लिग च्याम्पियन मछिन्द्र क्लबलाई हराएको थियो । विदेशी टोली अहिले देशको विभिन्न स्थानमा जारी नकाउट फुटबल प्रतियोगितामा लगातार सहभागी भइरहँदा दैनिकजसो खेल खेलिरहेको छ । थ्रीस्टार मोफसलमा जारी नकाउट फुटबलमा पहिलो पटक सहभागी भएको हो । टोलीले राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीसमेत मैदानमा उतारेको थियो । जिल्लाको पूर्वीक्षेत्रस्थित फापरबारीको जनता मावि मैदानमा थ्रीस्टारका निशान्त खड्का म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका मिडफिल्डर रूपेश केसी घोषित भए । उनले ५१ हजार रुपैयाँ प्राप्त गरे । थ्रीस्टारका डिफेन्डर जीवन गुरुङ र प्रशिक्षक उर्जन श्रेष्ठ उत्कृष्ट घोषित भए । क्यामरुनी गोलरक्षक डी सिल्भियो, मिडफिल्डर आरमाखोभ र फरवार्ड मौसा आफ्नो विधामा उत्कृष्ट भए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता थ्रीस्टारले उपाधिसहित ८ र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गरे । खेलाडीलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले पुरस्कृत गरेका थिए । वाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० क्लबको सहभागिता थियो ।

प्रकाशित : चैत्र २४, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?