२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ललितपुर मेयर कप : प्रदेश १ को पहिलो जित

काठमाडौँ — कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेट जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा प्रदेश १ विभागीय टोली एपीएफसँग पराजित भएको थियो ।

लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३.२ बलमा बिना विकेटको क्षतिमा पूरा गर्दै शानदार जित निकालेको हो । प्रदेश–१ को जितमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन् । रुबिना ६८ रनमा अविजित रहिन् भने उनलाई काजल श्रेष्ठले व्यक्तिगत २५ रनको योगदान गर्दै जित निश्चित बनाइन् । अर्धशतकीय इनिङ खेलेकी रुबिनाले ४९ बलको सामना गर्दा १२ चौका र १ छक्का प्रहार गरेकी हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेरी थापाले अविजित २० रन जोडिन् । यस्तै नितु भण्डारी १८ रनमा आउट हुँदा वर्षा राना शून्यमा पवेलियन फर्किएका थिए । प्रदेश–१ की शबनम राईले एक विकेट लिइन् । जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । पराजित लुम्बिनीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो ।

प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र एपीएफ तथा दोस्रो खेल प्रदेश–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र २३, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?