एनभीए क्लब लिग भलिबल : घरेलु कोर्टमा ‘भारत–पाकिस्तान’

हेल्प नेपालले प्रतियोगिताका लागि भारतीय राष्ट्रिय भलिबल टोलीका कप्तान विनीत कुमारसहित विकास तमाक र रोहित कुमारलाई अनुबन्ध गरेको छ । बुलबुलेले पाकिस्तानका मुराद जियान, मोहम्मद कसिम र इस्लामलाई ल्याएको छ ।
कुशल तिमल्सिना

काठमाडौँ — घरेलु भलिबलमा विभागीय टोलीको दबदबा नयाँ रहेन । राष्ट्रिय टोलीका खेलाडीहरू तीन विभागीय टोलीमा छरिएका छन् । त्यसमध्ये त्रिभुवन आर्मीसँग पूरा टिम नै अन्तर्राष्ट्रिय खेलाडीले भरिएको छ । क्लबस्तरीय राष्ट्रिय प्रतियोगितामा उनीहरूलाई चुनौती दिने कोही हुँदैनथे । 

एनभीए क्लब लिग भलिबल : घरेलु कोर्टमा ‘भारत–पाकिस्तान’

अब त्यस्तो रहेन । विभागीय टोलीको रौनक अहिले अन्य क्लबमा सरेको छ । उनीहरूले विभागीय टोलीलाई हराउन थालेका छन् । विभागबाहेकका टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक बन्न थालेको छ । उदाहरण आइतबार त्रिपुरेश्वरको कभर्डहलमा देखियो । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र बुलबुले रारा भलिबल क्लबबीचको खेल प्रतियोगिताकै मुख्य आकर्षण थियो । कारण, शनिबार मात्र बुलबुलेले त्रिभुवन आर्मीलाई सनसनीपूर्ण खेलमा हराएको थियो र हेल्प नेपाल यही प्रतियोगिताको छनोटको आधार गत वर्ष माघमा आयोजित आरबीबी एनभीए क्लब च्याम्पियनसिपको विजेता हो ।

अर्को कारण, भारत भर्सेस पाकिस्तान रह्यो । हेल्प नेपालले प्रतियोगिताका लागि भारतीय राष्ट्रिय भलिबल टोलीका कप्तान विनीत कुमारसहित विकास तमाक र रोहित कुमारलाई अनुबन्ध गरेको छ । बुलबुलेले पाकिस्तानका मुराद जियान, मोहम्मद कसिम र इस्लामलाई ल्याएको छ । घरेलु लिगमा पहिलोपल्ट पाकिस्तानी खेलाडीले प्रवेश पाएका हुन् ।

कभर्डहलमा पाँच सय हाराहारीमध्ये अधिकांश दर्शकको समर्थनका बावजुद बुलबुले खेलमा ३–१ ले पराजित रह्यो । सुरुआती सेट २५–२१ ले जिते पनि बाँकी तीन सेटमा हेल्प नेपाल १८–२५, २४–२६ र २१–२५ ले कब्जा जमायो । मुख्य दाबेदार हेल्प नेपाल अपराजित छ । लगातार तीन खेल जितेको हेल्प नेपाल एपीएफसँगै शीर्षस्थानमा छ । बुलबुले राराले कर्णालीको प्रतिनिधित्व गर्ने भए पनि कालीकोटका युवा व्यवसायी निरमकुमार शाहीको अगुवाइमा काठमाडौंको तारकेश्वरमा दर्ता छ ।

एक वर्षअघि क्लब च्याम्पियनसिपमा शीर्ष आठभित्र परेर क्लब लिगका लागि छनोट भएको बुलबुलेले तीन पाकिस्तानी खेलाडीको सहयोगमा कमालको प्रदर्शन गरिरहेको छ । ‘नेपालमा पहिलोपल्ट हामीले पाकिस्तानी खेलाडीलाई घरेलु लिगमा प्रवेश गराएका छौं । यसले नेपाली भलिबलको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘गण्डकी प्रदेशका खेलाडीसमेतको सहयोगले हामीले राम्रो गर्न सकेका छौं । आजको खेलमा रिसिभमा केही तालमेल मिल्न सकेन ।’

उद्घाटनमा एपीएफसँग ३–१ को सेटमा पराजित रहे पनि बुलबुलेले त्यसयता महारथी दुई पुलिस र आर्मीलाई हराएको थियो । चार खेलबाट ६ अंक बनाएको उसको प्रदर्शन हेर्दा बाँकी दुई खेलमा मणिमुकुन्द भलिबल क्लब र नयाँबजार सामाजिक युवा क्लबलाई हराउन कठिन हुने छैन । दुई खेलमा सकारात्मक नतिजा आएको खण्डमा पनि फाइनल पुग्न उसलाई अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

अध्यक्ष शाहीले रेफ्रीको निर्णय र भलिबल संघको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे । ‘नयाँ क्लब आउँदा यहाँ हरेक ठाउँबाट पेलिँदो रहेछ भन्ने मलाई लागेको छ । पहिलो खेलको दोस्रो र तेस्रो सेटमा हामीलाई लगातार ६ पल्टसम्म खराब निर्णयको सिकार बनाइएको छ । यसबारे संघलाई गुनासो गर्दा उचित जवाफ पाइएन,’ उनले नामै लिएर एसियन रेफ्री क्यान्डिडेट पूर्णप्रसाद चौलागाईंले पूर्वाग्रही निर्णय गरेको आरोपसमेत लगाए । बुलबुले र हेल्प नेपालबीच एउटा समानता पनि छ । कोरोनापछि पहिलोपल्ट माघमा पोखरामा आयोजित टाइगर कप भलिबलको उपाधि विजेता टोली गण्डकी प्रदेशका खेलाडीहरू यी दुई टोलीमा बराबर बाँडिएका छन् । बुलबुलेमा कप्तान हरि पाण्डेसहित घनश्याम चौधरी, सुजन चोखाल र कमल दनुवार र हेल्प नेपालमा राजन दर्लामी, रूपेन्द्र गैरे, याम क्षेत्री, अमृत केसी छन् ।

गण्डकीकै प्रशिक्षक रमेश केसीले हेल्प नेपालको टिम सम्हालेका छन् । केसीले पाकिस्तान र भारतका खेलाडी सम्मिलित टोलीबीचको खेल रोमाञ्चक बनेको प्रतिक्रिया दिए । ‘दुवै टिमको स्तर एकै भएकाले खेल बराबरजस्तो भयो । पहिलो सेटमा हाम्रो सर्भिस र रिसिभमा तालमेल मिल्न नसक्दा गुमायौं । बाँकी सेट हामीले सुधार गर्‍यौं,’ केसीले थपे, ‘हामी उपाधिकै लागि आएका हौं । खेलमा हार–जित हुन्छ । बाँकी तीन खेल विभागीय टिमविरुद्ध छ । उनीहरूलाई हराउने हाम्रो पहिलो प्रयास हुनेछ र त्यसपछि फाइनल ।’

केसीले बलको स्तरका कारण भारतीय खेलाडीहरूको प्रदर्शन अझै सशक्त हुन नसकेको जनाए । ‘मैले उहाँहरूसँग कुरा गर्दा बलको गुणस्तर र कभर्डहलको स्तरमा सन्तुष्ट नरहेको पाएँ । विशेषगरी विनीत राष्ट्रिय टोलीबाट उच्चस्तरको प्रदर्शन गर्छन्, उनको शतप्रतिशत प्रदर्शन अझै देख्न पाइएको छैन । सायद यहाँको परिवेशमा अनुकूल हुन समय लागेको हो कि,’ उनले भने । २०६९ सालदेखि घरेलु भलिबलमा नियमित सहभागिता जनाउँदै आएको हेल्प नेपालका अध्यक्षले पनि विदेशी खेलाडीको उपस्थितिले राष्ट्रिय प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको र नेपाली खेलाडीको स्तरोन्नतिमा सहयोग पुगेको दाबी गरे ।

पुरुषतर्फ अर्को खेलमा पुलिसले बुटवलको मणिमुकुन्दमाथि २५–१८, २५–१९ र २५–११ रआर्मीले नयाँबजार सामाजिक युवा क्लबलाई २५–१०, २५–१४ र २५–१४ ले हरायो । महिलातर्फ लगातार तेस्रो जितसहित आर्मी शीर्षस्थानमा पुगेको छ । आर्मीले भरतपुर मेट्रो खेलकुद परिषद्लाई २५–९,२५–८ र २५–१३ को सहज सेटमा हरायो । पुलिसले ढोरपाटनमाथि ३–० कै सेटमा सहज जित निकाल्यो । पुलिसको पनि यो लगातार तेस्रो जित हो । पुलिसले ढोरपाटनलाई २५–५, २५–९ र २५–५ ले हरायो ।

प्रकाशित : चैत्र २३, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?