कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आहा–रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात

दीपक परियार

पोखरा — आशिष लामाको निर्णायक गोलमा नेपाल एपीएफ महिन्द्रा फुटबल टिमले १९ औं आहा–रारा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा शनिबार उद्घाटन खेलमा आयोजक सहारा क्लबविरुद्ध जित हासिल गर्दै एपीएफ सेमिफाइनल प्रवेश गरेको हो । खेलको ८७ औं मिनटमा आशिषको ‘लेफ्ट फुटेड’ प्रहार गोलमा परिणत भएको थियो ।

आहा–रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात

विश्वास उदासको पासमा उत्कृष्ट फिनिसिङ दिँदै उनले पहिलो बार च्यापेर प्रहार गरेको बल सहाराका गोलरक्षक दीप कार्कीले रोक्न सकेनन् । सहाराले गोलका अवसर सिर्जना गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनुपरेको छ । खेलमा आशिष म्यान अफ दी म्याच घोषित भए ।

आइतबार मच्छिन्द्र क्लब र विदेशी टिम क्यामरुनको अफ्रिकन रुट एसोसियसनबीच खेल हुने छ । यस वर्ष सहारा क्लबले ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७७’ बाट राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य अभिषेक रिजाललाई सम्मान गरेको छ । राष्ट्रिय टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका माध्यमबाट देशको नाम चिनाउन सफल भएको भन्दै उनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उद्घाटनका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले अभिषेकलाई सम्मान गरे ।

यस संस्करणमा एक विदेशीसहित आठ टिम सहभागी छन् । प्रतियोगितामा आयोजकसहित विभागीय टिम एपीएफ, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब, रुसलान थ्रीस्टार र क्यामरुनको अफ्रिकन रुट एसोएसन खेल्दैछन् । प्रतियोगितामा उपाधि विजेता र उपविजेताले क्रमश: १० लाख १ हजार र ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्याराभान गोल्डकपसहित २० वर्षदेखि निरन्तर सञ्चालन भइरहेको प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ ।

पोखराको दोबिल्लामा क्लबबाट सञ्चालित एकेडेमीको तेस्रो ब्याचमा हाल १४ जिल्लाका २४ बालक आश्रित छन् । २०७० देखि उनीहरुलाई आवासीय रुपमा नि:शुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षणको खर्च एकेडेमीले बेहोर्दै आएको छ ।

प्रकाशित : चैत्र २१, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?