१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एपीएफलाई बुलबुले राराको चुनौती

काठमाडौँ — एपीएफ क्लबले बुलबुले रारा क्लबमाथि प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा विजयी सुरुआत गरेको छ । राष्ट्रिय खेलाडीसम्मिलित एपीएफका लागि बुलबुलेको चुनौती सहज भने रहेन ।

एपीएफलाई बुलबुले राराको चुनौती

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एपीएफले ३–१ को सेटमा जित पाएको हो । लिगमा सुरुआती ३ अंक जोडे पनि तीन पाकिस्तानी खेलाडी र गण्डकी प्रदेश भलिबल टोलीका मुख्य खेलाडी हरि पाण्डेसहित अनुबन्ध गरेको बुलबुलेले कठिन चुनौती दिएको थियो । पहिलो सेटमा एपीएफ २५–२० ले अगाडि रह्यो । सुरुदेखि नै झिनो अग्रता बनाइरहेको एपीएफसँग बुलबुलेले २०–२० को बराबरी गरेको थियो ।

एपीएफले ३० सेकेन्डको ‘टाइम आउट’ लिएपछि लगातार ५ अंक जोडेर सेट आफ्नो पक्षमा पारेको हो । दोस्रो सेटको मध्यतिर १६–१६ को बराबरी हुँदै बुलबुले २१–१९ ले अग्रतामा थियो । एपीएफले पुनरागमनसाथ २४–२४ को स्थितिमा ल्यायो । त्यसयता अंक र्‍याली २५–२५, २६–२६ सम्म पुग्यो । त्यसपछि एपीएफले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा बनायो ।

तेस्रो सेटमा भने बुलबुले हाबी बन्यो । एकपक्षीय रूपमा उसले १८–२५ ले आफ्नो पक्षमा पारेर सेट अन्तर २–१ मा झारेको हो । चौथो सेट निकै नै प्रतिस्पर्धात्मक देखियो । लामो अंकर्‍याली पार गरी एपीएफले ३२–३० ले सेटसहित खेल आफ्नो पक्षमा पारेको हो ।

अर्को खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबमाथि २५–९, २५–२१, २५–१६ को सेटमा सहज जित निकाल्दै लिगमा सुरुआती तीन अंक बटुल्यो । नयाँबजारस्थित टाउन प्लानिङका युवाद्वारा सञ्चालित नयाँबजार सामाजिकले विभागीय टोलीलाई खासै चुनौती दिन सकेन ।

आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१७, २५–१४, २५–२१ ले हरायो । महिलातर्फ एकमात्र खेलमा न्यु डायमन्ड क्लबले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमाथि २५–६, २५–२ र २५–५ को एकपक्षीय जित हासिल गर्दै ३ अंक जोडेको छ ।

प्रकाशित : चैत्र २०, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?