२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आरबीबी–एनभीए भलिबलमा बुद्धटोलले दर्ता गर्न पाएन

कुशल तिमल्सिना

काठमाडौँ — आरबीबी–एनभीए कप राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल बिहीबार सुरु हुँदा पुरुषतर्फ ७ टोलीमात्र प्रतिस्पर्धी हुनेछ । अघिल्लो वर्ष आयोजित एनभीए क्लब च्याम्पियनसिपमा सातौं भएको बुद्धटोल भलिबल क्लबले यसपालि नाम दर्ता गर्नै पाएन ।

नेपाल भलिबल संघको कार्यालय कर्मचारीका कारण प्रतियोगितामा नाम दर्ता गर्न नपाएको गुनासो बुद्धटोल क्लबका अध्यक्ष बलबहादुर पुनले गरेका छन् । यसबारे भलिबल संघका सचिव मनवीर छन्त्यालसँग प्रश्न गर्दा क्लब पदाधिकारीलाई नै सोध्नू भन्दै पन्छिए ।

क्लबका अध्यक्ष पुनले चैत १३ गते टिम दर्ताका लागि भलिबल संघको केन्द्रीय कार्यालय त्रिपुरेश्वर जान खोज्दा दर्ता गर्ने अधिकारीले फोन नउठाएर असहयोग गरेको आरोप लगाए । ‘मैले भलिबल संघको केन्द्रीय कार्यालय देखेको थिइनँ, पहिलाका प्रतियोगितामा बाहिरै नाम दर्ता हुन्थ्यो । यसपालि त्रिपुरेश्वर पुगेपछि कार्यालय सचिवलाई फोन गर्दा उहाँले फोन नै उठाइदिनुभएन,’ पुनले कान्तिपुरसँग भने, ‘सायद बल माग्न आयो भनेर होला । भलिबलका लागि यतिका वर्षसम्म स्वयंसेवकका रूपमा काम गरियो तर उहाँहरूले हामीलाई अपमान गर्न खोज्नुभयो अनि चित्त दुख्यो ।’

उनले प्रतियोगिताका लागि जर्सी अर्डर दिइसकेको पनि रद्द गर्नुपरेकोमा दुखेसो पोखे । ‘मैले यसबारे संघका महासचिव (जितेन्द्रबहादुर चन्द) ज्यूसँग पनि कुरा गरेको थिएँ । सकारात्मक कुरा आएन,’ उनले थपे, ‘रोल्पा/रुकुमदेखि खेलाडी ल्याएर सुविधासहित प्रशिक्षण सुरु गरेको थिएँ । जर्सी अर्डर दिइसकेको थिएँ । संघबाटै यस्तो व्यवहार हुन्छ भनेर कल्पना पनि गरेको थिइनँ ।’ गोंगबु, दूरसञ्चार आसपासका युवाहरू मिलेर सञ्चालन गरेको बुद्धटोलले ट्रेनिङ सेन्टर सञ्चालनको तयारी गरेकामा संघको भेदभावपूर्ण व्यवहारले चित्त दुखेको उनको भनाइ छ ।

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगको यो संस्करण संघको अघिल्लो वर्षकै कार्यक्रम हो । अघिल्लो वर्ष माघमा सम्पन्न राष्ट्रिय क्लब च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोलीले लिग खेल्न पाउने नियम संघले ल्याएको थियो । कोरोना भाइरसको महामारीपछि संघले पहिलोपल्ट आफ्नो आधिकारिक प्रतियोगिता गर्न लागेको हो । गत वर्ष शीर्ष आठमात्र परेका बुद्धटोलबाहेक तीन विभागीय टोली, हेल्प नेपाल स्पोर्टस, बुलबुले रारा, मणिमुकुन्द भलिबल र नयाँबजार सामाजिक युवा क्लबले पुरुषतर्फ सहभागिता जनाउने छन् ।

चैत २६ सम्म चल्ने प्रतियोगितामा महिलातर्फ एपीएफ, न्यु डायमन्ड स्पोर्टस क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद्को सहभागिता रहनेछ । हरेक क्लबले टिममा बढीमा तीन जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । पहिलो दिन बिहीबार पुरुषमा नेपाल पुलिस र नयाँबजार, एपीएफ र बुलबुले रारा तथा त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबबीच प्रतिस्पर्धा हुनेछन् । महिलातर्फ न्यू डायमन्ड र भरतपुर मेट्रो आमनेसामने हुनेछन् । दुवैतर्फ सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिनेछ भने लिगमा शीर्ष २ स्थानमा आउने टोलीबीच फाइनल खेल खेलाइनेछ । ‘लिग भए पनि हामीले फाइनल खेलाउने निर्णय गरेका छौं । विदेशका प्रतियोगितामा पनि यस्तो चलन छ,’ प्रतियोगिताका प्राविधिक संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवाले भने, ‘यो भनेको लिगमा दोस्रो हुने टोलीलाई अन्तिम अवसर पनि हो ।’

प्रकाशित : चैत्र १९, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?