मिनी रंगशाला निर्माण अलपत्र- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिनी रंगशाला निर्माण अलपत्र

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको मिनी रंगशालाको काम एक वर्षदेखि अलपत्र छ । बेनी खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने काम बजेट अभावले रोकिएको हो ।

म्याग्दी सदरमुकाम बेनीमा निर्माण सुरु भएर अलपत्र परेको बेनी मिनी रंगशाला । तस्बिर : घनश्याम खड्का/कान्तिपुर

चालु वर्ष संघ, प्रदेश र स्थानीय बेनी नगरपालिका कतैबाट पनि बजेट विनियोजन भएन । ९ करोड बढी लागत अनुमान गरिएको रंगशाला बनाउन संघीय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख र बेनीका ७ वडा कार्यालयको ९ लाख र संघीय सांसद विकास कोषबाट ५० लाख बजेट खर्च भइसकेको छ ।

नदी बगरमा अवस्थित बेनी खुलामञ्च जिल्लाकै सवैभन्दा ठूलो खेल मैदान मात्र होइन, राजनीतिक सभा/समारोह, सांस्कृतिक कार्यक्रम, व्यापारिक मेला/महोत्सव आयोजना गरिने एकमात्र स्थल हो । ‘लकडाउन सुरु भएदेखि नै मिनी रंगशाला बनाउने काम रोकिएको छ । चालु वर्षमा त झन् कतैबाट पनि बजेट नै आएन,’ रंगशाला निर्माण समितिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘बेनी नगरपालिकाबाट बजेट रकमान्तर गरेरै भए पनि १५–२० लाखसम्मको बजेट ल्याएर कामलाई निरन्तरता दिने प्रयासमा छौं ।’

कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलको बगरमा ३८ गुणा ८० मिटर आकारमा त्रिकोणात्मक रूपमा अव्यवस्थित मैदानलाई विस्तार गरी ४५ गुणा ९६ मिटर क्षेत्रफलको खेलमैदान बनाउन काम सुरु भएको थियो । फुटबलमा ४५ गुणा ९० मिटर चौडाइ/लम्बाइ न्यूनतम र अधिकतम ६० गुणा १२० मिटर चौडाइ/लम्बाइ भएमात्र फुटबलको अफिसियल खेल मैदान मानिन्छ । मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ७ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रंगशाला बनाउन पर्याप्त बजेट विनियोजन गर्ने आश्वासन दिए पनि गरेका छैनन् । भौगोलिक आकार नमिलेको छड्के र पूर्ण साइजको मैदान नहुँदा यहाँका ठूला राशिका प्रतियोगिता नाइन ए साइड नियममा खेलाउने गरिन्थ्यो । फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको साइज नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेका छन् । ‘जिल्लामै हरियो दुबो भएको इलाभेन ए साइड आकारको मैदानमा दर्शक प्यारापिटमा बसेर आनन्दले खेल हेर्ने दिन अवश्य आउँछ, संघीय युवा तथा खेलकुद मन्त्रालयमा पर्याप्त बजेटको पहल भइरहेको छ,’ प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले भने, ‘कोरोना कहरले यो वर्ष बजेट नआएको हो । अर्को वर्ष बजेट हुन्छ ।’

रंगशाला निर्माण आव २०७५/७६ मा बेनी नगरपालिकाको ६०/४० प्रतिशतको बजेट मोडेलमा ९७ लाख ५८ हजार खर्च गरी रंगशालाको डीपीआर तयार पार्ने र म्याग्दी खोलापट्टि प्यारापिट राख्न ११ मिटर अग्लो फाउन्डेसन राख्न थालिएको हो । म्याग्दी–काली गण्डकी नदी बगरमा खेलकुद मैदान सुधार गर्ने काम भने २०५१ सालदेखि तत्कालीन सांसद नीलबहादुर तिलिजाले सांसद विकास कोषबाट १ लाख विनियोजन गरी थालेका हुन् ।

त्यसपछि २०७१ सालमा युवा तथा खेलकुद मन्त्रालयबाट ६ लाख ५० हजार र श्रमदान १ लाख ५० हजार खर्च गरी नदी बगरलाई नाइन ए साइड फुटबल मैदानको स्वरूपमा ल्याइएको हो । बेनी रंगमञ्च निर्माण गर्न पूर्वपट्टि कालीगण्डकी किनारामा रहेको मुस्लिम समुदायको चिहान (कब्रस्तान) भएको ठाउँबाट करिब १० मिटर पछाडि सार्ने र सो ठाउँमा बलियो फाउन्डेसनसहित प्यारापिट निर्माण गर्ने योजना छ ।

प्रकाशित : चैत्र १८, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

बाइडेन किमलाई भेट्न अनिच्छुक

उत्तर कोरियाप्रतिको अमेरिकी नीति परिवर्तन हुने
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जोङ–उनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले जनाएको छ । तर उनलाई भेट्न नचाहनुको कारणबारे भने ह्वाइटहाउसले केही उल्लेख गरेको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जोङ–उन फाइल तस्बिर : रोयटर्स

पछिल्लो समाचारसँगै उत्तर कोरियाप्रति राष्ट्रपति बाइडेनको नीति उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा फरक हुने देखिएको छ । ‘मलाई लाग्छ उनको रबैया पूर्णरूपमा फरक हुनेछ र किमलाई भेट्नेबारे उहाँको कुनै चासो छैन,’ ह्वाइटहाउसकी प्रेस सचिव जेन साकीले भनिन् ।

राष्ट्रपति ट्रम्प र किमबीच सन् २०१८ मा पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो । ट्रम्प उत्तर कोरियाली सर्वोच्च नेतालाई भेट्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपतिसमेत हुन् । दुई नेताबीच सन् २०१९ मा उत्तर–दक्षिण कोरियाको गैरसैनिकीकृत क्षेत्रमा संक्षिप्त वार्ता भएको थियो ।

दुई साताअघि बाइडेन प्रशासनले उत्तर कोरियाली नेतालाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङयाङबाट कुनै जवाफ नआएको जनाएको थियो । अधिकारीहरूका अनुसार दुई देशबीचको बढ्दो तनाव मत्थर पार्न बाइडेन प्रशासनले विभिन्न माध्यमबाट किमसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघमा रहेको उत्तर कोरियाली नियोगसमेत परिचालित गरिएको अधिकारीहरूले जनाएका थिए । उत्तर कोरियाले हालसम्म जो बाइडेनलाई औपचारिक रूपमा अमेरिकी राष्ट्रपति स्वीकार गरिसकेको छैन । बाइडेनले गत जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् ।

अमेरिका र दक्षिण कोरियाले हालै संयुक्त सैन्य अभ्यास गरेपछि पुन: उत्तर कोरिया रुष्ट बनेको छ । सैन्य अभ्यासको विरोध गर्दै उत्तर कोरियाली सर्वोच्च नेताकी बहिनी किम यो–जोङले अमेरिकालाई ‘बारुदको दुर्गन्ध रोक्न’ चेतावनी दिएकी थिइन् । ‘दक्षिण कोरिया सरकारले फेरि अर्को पटक युद्धको र संकटको खेल’ सुरु गरेको किमको भनाइ थियो । सर्वोच्च नेताकी बहिनी किम यो–जोङ निकै शक्तिशाली मानिन्छिन् ।

संयुक्त सैन्य अभ्यासको प्रतिउत्तर स्वरूप उत्तर कोरियाले गत बिहीबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसमेत गरेको छ । बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि गरिएको यो पहिलो परीक्षण हो । उक्त कदमको जापान र दक्षिण कोरियाले निन्दा गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने आधिकारिक रूपमा यसबारे कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । त्यसअघि उत्तर कोरियाले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेपछि भने बाइडेनले अमेरिका नचिढिएको प्रतिक्रिया दिएका थिए । तर पनि उत्तर कोरियाको पछिल्लो कदम अमेरिका र उसका साझेदारहरूका लागि टाउको दुखाइ भएको छ ।

उत्तर कोरियाले परमाणु हतियार त्याग्नुपर्ने अमेरिका र पश्चिमा देशहरूको भनाइ छ । अमेरिकी राष्ट्रपति बाइडेनले पनि उत्तर कोरियाप्रतिको अमेरिकी नीति पुनरावलोकन गर्दै बताउँदै आएका छन् । उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा गर्नुपूर्व उसले परमाणु कार्यक्रम त्याग्नुपर्ने र कानुनको पालना गर्नुपर्ने अमेरिकी राष्ट्रपति बाइडेनको सर्त छ ।

अमेरिकाले आफूप्रतिको ‘शत्रुतापूर्ण व्यवहार’ त्याग्नुपर्ने उत्तर कोरियाको भनाइ छ । त्यसका साथै आफ्नो सैनिक क्षमताको अंशका रूपमा परमाणु कार्यक्रमलाई निरन्तरता दिने प्योङयाङको भनाइ छ । त्यसका लागि लामो दूरीका क्षेप्यास्त्र, हतियार, जासुसी स्याटेलाइट तथा परमाणु ऊर्जाबाट चल्ने पन्डुब्बी निर्माणमा तीव्रता दिने किम बताउँछन् ।

प्रकाशित : चैत्र १८, २०७७ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×