२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आर्मी बन्यो बास्केटबल च्याम्पियन

सनुसरी — धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

आर्मी बन्यो बास्केटबल च्याम्पियन

उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो । उपविजेता रुपन्देहीले नगद ५० हजार रुपैयाँसहित रनर ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सुनसरीको तरहरा बास्केटबल क्लबलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको विभागीय टिम आर्मीको टिमले धरानको इमोर्टललाई पराजित गरेर उपाधिको दाबेदार बनेको रुपन्देहीमाथि सहज जित निकालेको हो ।

धरान–१७ समाज हङकङ र टर्की नेपाली समाज अंकाराको सहयोगमा सम्पन्न पाँचौं राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलको प्रत्येक क्वार्टरमा आर्मी र रुपन्देहीले १५–१०, २०–१८, २८–११ र २८–२५ स्कोर जोडेका थिए ।

समापन समारोहमा फाइनलका सेन्ट जोसेफ म्यान अफ द म्याच घोषित हुँदै आर्मीका विनोद महर्जनले नगद ३ हजार रुपैयाँ हात पारे । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयर हुँदै आर्मीकै रविन खत्रीले नगद १० हजार रुपैयाँ पाए । रुपन्देहीका निकेश मगर हाइस्कोरर घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए भने आयोजक क्लब होराइजनका विकास घले रुकी प्लेयर (उदियमान खेलाडी) घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए ।

धरान–१७ स्थित श्रीमाविको गोर्खा भूपूसैनिक बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएपछि विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा र आयोजक क्लवका अध्यक्ष बसन्त राईले नगद र ट्रफि वितरण गरेका थिए ।

प्रकाशित : चैत्र १७, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?