कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आलोचनाबीच प्रशिक्षक महर्जनको पोल्टामा अर्को उपाधि

महर्जनको प्रशिक्षणमा नेपालले जित्यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि
हिमेश

काठमाडौँ — पछिल्ला केही दिन नेपाली राष्ट्रिय टिमका प्रशिक्षक बालगोपाल महर्जनका सुखद रहेनन् । उनी लगातार विवादमा रहे । एक प्रकारले उनी अप्ठ्यारो स्थितिमा थिए । राष्ट्रिय टिमकै प्रशिक्षक भएर उनले नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको जिम्मेवारी पनि सम्हालेपछि उनको चर्को आलोचना भयो ।

आलोचनाबीच प्रशिक्षक महर्जनको पोल्टामा अर्को उपाधि

विश्व फुटबलमा विरलै राष्ट्रिय टिम हेरेका प्रशिक्षकले त्यही बेला अन्य टिम पनि हेर्ने गर्छन् । यसैले यो आलोचना स्वभाविक थियो । त्यसमाथि थ्री नेसन्स कपका लागि उनले रोजेको टिमका कारण पनि विरोध भयो । प्रतियोगिताका सुरुआती दुई खेलमा नेपालले कुनै गोल गर्न नसकेपछि आलोचना झनै चुलियो ।

तर अन्तिममा सफलता उनकै पोल्टोमा पर्‍यो । नेपालले उनकै नेतृत्वमा फेरि अर्को फुटबलको उपाधि जितेको छ । यस अर्थमा उनी नेपालका सर्वाधिक सफल प्रशिक्षक समेत भएका छन् । सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकप जित्दा पनि उनी नै प्रशिक्षक थिए । यस्तै सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण जित्दा पनि उनी नै प्रशिक्षक थिए ।

सम्भवत: अब उनले दोहोर्‍याएर नेपाली टिम हेर्ने छैनन् । किनभने, फिफाको नियम अनुसार राष्ट्रिय टिम हेर्न प्रोफेसनल लाइसेन्स चाहिन्छ, जुन अहिलेसम्म कुनैपनि नेपाली प्रशिक्षकले प्राप्त गरेका छैनन् । महर्जनसँगै नेपालमा प्रमुख प्रशिक्षकसँग 'ए' लाइसेन्स मात्र रहेको छ ।

यस्तोमा थ्री नेसन्सकप जिते पछि उनी स्वभाविक रूपमा खुसी देखिए र भने, ‘सबै खाले आलोचनालाई मैले सकारात्मक रुपमा लिएको छु । नेपाली फुटबलप्रतिको माया र आस्थामा मलाई कसैले शंका नगरे हुन्छ । नेपाली फुटबलप्रति मेरो इमान्दारिता सधैं रहनेछ ।’

नेपालले उनको नेतृत्वमा १२ अन्तर्राष्ट्रिय खेल खेलेको छ र यसमा नेपालको प्रदर्शन अपेक्षाकृत राम्रो रहेको छ । यस्तोमा सबै विवाद र आलोचनाबीच सफलता निश्चित रूपमा प्रशिक्षक महर्जनकै रह्यो ।

प्रकाशित : चैत्र १६, २०७७ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?