राष्ट्रिय होइराइजन बास्केटबल प्रतियोगिता : रुपन्देही र तरहरा विजयी

सुनसरी — धरानको होराइजन क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको चारदिने पाँचौं राष्ट्रिय होराइजन बास्केटबल कप प्रतियोगिताको दुई खेलमा रुपन्देही बास्केटबल क्लब र इटहरीको तरहरा बास्केटवल क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।

राष्ट्रिय होइराइजन बास्केटबल प्रतियोगिता : रुपन्देही र तरहरा विजयी

धरान–१७ स्थित श्रीमाविको गोर्खा भूपू सैनिक बास्केटबल कोर्टमा भएको पहिलो खेलमा तरहरा बास्केटबल क्लबले धरानको ब्रदर्स बास्केटबल क्लबलाई ५०–३७ स्कोरले पराजित गरेको थियो । प्रत्येक क्वार्टरमा दुवै टिमले ७–११, ११–१४, १३–१६ र १९–६ अंक जोडेका थिए । खेलमा तरहराका सुमन बस्नेतले व्यक्तिगत २५ स्कोर गर्दै नगद १५ सय रुपैयाँको सेन्ट जोसेफ म्यान अफ द म्याच पुरस्कार पाए ।

धरान–१७ समाज हङकङको मुख्य प्रायोजन र टर्की नेपाली समाज अंकाराको सह प्रायोजनमा भएको प्रतियोगिताको दोस्रो खेलमा आयोजक क्लबलाई पाहुना टिम रुपन्देही बास्केटबल क्लबले ६५–३५ स्कोरको फराकिलो अंकले पराजित गरेको थियो ।

घरेलु दर्शकमा माझ फितलो प्रदर्शन गरेका आयोजक टिमविरुद्ध रुपन्देहीले प्रत्येक क्वार्टरमा २–१८, १४–२३, ११–१० र ८–१४ स्कोर गरेको थियो । खेलका म्यान अफ द म्याच रुपन्देहीका दिनेश मगर घोषित भए ।

स्थानीय क्लब स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै आएको होराइजनले पहिलो पटक राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजना गरेको हो । क्लबका अध्यक्ष वसन्त राईकाअनुसार नेपालमा बास्केटबलको इतिहास धरानबाटै सुरु भएपनि यसअघि धरानमा राष्ट्रिय स्तरमा बास्केटबल प्रतियोगिता नभएकाले होराइजनले त्यसको सुरुआत गरेको हो । प्रतियोगितामा आठ टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ, नवप्रतिभा घोषित खेलाडीलाई नगद ५ हजार दिइने आयोजक क्लबले जनाएको छ ।

आइतबारको खेल धरानको इम्मोर्टल बास्केटबल क्लब र युवा जागृति बास्केटबल क्लब तथा काठमाडौंका आर्मी क्लब र आईएफजे क्लब नेपालबीच स्पर्धा हुने छ ।

प्रकाशित : चैत्र १४, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?