थ्री नेसन्स कप : गोल गर्न चुकेको ‘बेस्ट टिम’- खेलकुद - कान्तिपुर समाचार

थ्री नेसन्स कप : गोल गर्न चुकेको ‘बेस्ट टिम’

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कपमा ‘नेपालकै सर्वोत्कृष्ट टिम’ छनोट गरेको दाबी गरेका थिए । तर, नेपाल  १० खेलाडीमा समेटिएको किर्गिस्तानी टिम (यू–२३) सँग गोलरहित रोकियो । तैपनि प्रशिक्षकले सन्तुष्टि जनाए ।
राजु घिसिङ

काठमाडौँ — आर्मीका फरवार्ड नवयुग श्रेष्ठ ६ वर्षपछि राष्ट्रिय टिमबाट फालिए । पछिल्लो ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता (एपीएफका आशिष लामा टिममा अटाएनन् । तीन वर्षयता उत्कृष्ट प्रदर्शन गरिरहेका आर्मीकै डिफेन्डर विकास खवास छनोटमा परेनन् । थ्री नेसन्स कपमा मैदानमा ओर्लनुभन्दा एक दिनअघि २३ सदस्यीय टिम घोषणापछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भनेका थिए, ‘सबैभन्दा उत्कृष्ट टिम ।’

दशरथ रंगशालामा बिहीबार र्किगिस्तान यू–२३ विरुद्ध गोलका लागि प्रयास गर्दै नेपालका अनन्त तामाङ र अभिषेक रिजाल (रातो) । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

त्यो उनको दाबी हो/थियो, जुन किर्गिस्तानको २३ वर्षमुनिको टिमविरुद्ध बिहीबार असफल भयो । कप्तान कोमोलिदिन तासिएभले दोस्रो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि पाहुना टिम अन्तिम २९ मिनेट दस खेलाडीमा समेटियो । नेपालको सिनियर टिमले ६ वर्षपछि पहिलोपल्ट दशरथ रंगशालामा फर्किंदा पनि त्यसको फाइदा लिन सकेन ।

मध्यएसियाबाट आएको ‘राष्ट्रिय टिम’ पनि होइन । बल अधिकांश समय घरेलु टिमकै नियन्त्रणमा रह्यो । तर, पोस्टमा एकपल्ट पनि गतिलो प्रहार हुन सकेन । त्यसैले २३ वर्षमुनिको किर्गिज टिमविरुद्ध पनि नेपाल गोलरहित रोकियो । बंगलादेशले १–० ले हराएको टिमविरुद्ध तीन अंक जोड्न असफल भए पनि प्रशिक्षक महर्जनले फेरि दाबी गरे, ‘टिमको प्रदर्शनप्रति सन्तुष्ट छु । जुन निर्देशन दिएको थिएँ, त्यो पालना गरेको अवस्था छ ।’ स्विडिस प्रशिक्षक योहान कालिनले कोभिड–१९ को कारण उतै रहेपछि गत भदौमा राजीनामा दिएका थिए र त्यसयता कार्यवाहकको रूपमा महर्जनले राष्ट्रिय टिम सम्हाल्ने मौका पाएका हुन् । उनले कात्तिक २८ र मंसिर २ मा बंगलादेशविरुद्ध ढाकामा भएका दुई मैत्रीपूर्ण खेलमा नेपाली टिम हेरेका थिए, जहाँ नेपालले एक बराबरी र एक हार खेलेको थियो । त्यसैले हुनसक्छ, तीन महिनाको विशेष तयारीमा मैत्रीपूर्ण खेल नपाउँदा यही थ्री नेसन्स कपमा आएर परीक्षण गर्नुपर्ने अवस्था आएको महर्जनले बताए ।

उनले किर्गिज युवा टिमबारे अघिल्लो दिन भनेका थिए, ‘जुन हामीले सोचेका थियौं, त्यस्तो राम्रो पाएनौं । ट्रेनिङमा खेले जतिमात्रै खेल्यो भने पनि हामी जित्छौं ।’ यसबारे खेलपछि पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा महर्जनले भने, ‘त्योभन्दा बढी खेल्यौं ।’ उनको भनेजस्तो बढी के मान्ने ? किनभने उनको दाबी जसरी ट्रेनिङमा जस्तै खेलेको भए नेपालले जित हात पार्ने थियो तर, ३,४८० दर्शकसामु नेपालले न खेल जित्यो न त पोस्टमा गतिलो प्रहार नै गर्न सक्यो ।

उनले अञ्जन विष्ट र अभिषेक रिजाललाई अग्रपंक्तिमा उतारेका थिए । पहिलो हाफमा राम्रै देखिएका अञ्जनले पटकपटक पाएका अवसरमा प्रहार गरेको बल पोस्टबाहिरै गयो । उनले १४ औं मिनेटमा प्रहार गरेको बल तासिएभमा डिफ्लेक्ट हुँदै पोलमा लागेर फर्किएको थियो । कर्नरमा पाएको अवसरमा दिनेश राजवंशी र अनन्त तामाङ चुके । दोस्रो हाफमा सब्स्टिच्युटका रूपमा मैदानमा छिरेका सुजल श्रेष्ठ र रविशंकर पासवानले पोस्टनजिक पाएका सहज अवसरमा गोल गर्न सकेनन् । अभिषेकले केही अवसर उपयोग गर्न सकेनन् । ७३ औं मिनेटमा अञ्जन र अभिषेकको स्थान लिएका फरवार्ड भरत खवास र दर्शन गुरुङले पनि केही गर्न सकेनन् ।

वास्तवमा यो खेलमा दुवै टिमका गोलकिपरको परीक्षण भएन । नेपालका कप्तान किरण चेम्जोङले दोस्रो हाफमा फ्रि–किकमा एकपल्ट बल समाते । त्यसबाहेक किर्गिज टिमले किरणलाई चुनौती दिन सकेन । पाहुना किपर अर्तेम प्रिएदकिनलाई पनि गाह्रो भएन । घरेलु टिमका सेन्टर डिफेन्स सम्हालेका अनन्त तामाङको दुई प्रहार र रोहित चन्दको हेडर सिधै अर्तेमको हातमा परेको थियो । बाँकी समय बलमाथि नियन्त्रण कायम राखे पनि नेपालले पोस्टमा धावा बोल्न सकेन, बल पोस्ट बाहिरै हानिरह्यो ।

पहिलो रोजाइमा खेलेका मिडफिल्डरद्वय सन्जोग राई र त्रिदेव गुरुङले पहिलोपल्ट राष्ट्रिय टिमको जर्सी लगाउने मौका पाए भने अन्त्यतिर मैदानमा छिरेका डिफेन्डर निशान खड्काले पनि पहिलोपल्ट राष्ट्रिय टिमबाट खेले । तर, प्रतिस्पर्धी राष्ट्रिय टिम नभएकाले उनीहरूले ‘अन्तर्राष्ट्रिय खेल’ मा डेब्यु गर्न भने अर्को खेल कुर्नुपर्नेछ, जुन मौका बंगलादेशविरुद्ध शनिबार मिल्न सक्छ ।

बंगलादेश फाइनलमा

तीन टिमको प्रतियोगिताको दोस्रो खेल बराबरीमा टुंगिएसँगै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा किर्गिज टिमविरुद्ध १–० को जित पाएकाले बंगलादेशले एक खेल बाँकी छँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश शनिबार भिड्दैछन्, जसले ‘अन्तर्राष्ट्रिय मैत्रीपूर्ण’ खेलको मान्यता पनि पाउनेछ । त्यही खेलले फाइनलमा बंगलादेशको प्रतिस्पर्धीको छिनोफानो गर्नेछ । त्यसमा जित वा बराबरीले नेपाल फाइनलमा पुग्नेछ । एक गोल अन्तरले हारेको अवस्थामा पनि कार्डको संख्या थोरै भएमा नेपाल फाइनल पुग्न सक्छ ।

‘नेपाल र बंगलादेश १९–२० को टिम हो । कहिले जित हुन्छ, कहिले हार । हामी अंक नगुमाउने गरी राम्रो खेल्नेछौं,’ प्रशिक्षक महर्जनले भने, ‘हामीले अंक गुमाउनु हुँदैन । चाहे ३ होस्, चाहे १ अंक लिएर हामी फाइनल तयारी गर्छौं । आजको खेलले मलगायत मेरो टिम र खेलाडीमा प्रदर्शनको स्तर राम्रो भएको छ, कन्फिडेन्स बढेको छ । राम्रो रिजल्टको आशा गर्छौं ।’

झोंक्किए प्रशिक्षक

बंगलादेशविरुद्ध किर्गिज टिमको मंगलबारको खेलसँगै प्रतियोगिता सुरु भएको थियो । त्यसको एक दिनपछि मात्रै नेपाली टिम घोषणा गरिएको थियो । यस्तो छुट अरूलाई थिएन । टिमको फरवार्डमा नयाँ खेलाडी ल्याइएको सम्बन्धमा पत्रकारको प्रश्न नसकिँदै प्रशिक्षक महर्जनले झोंक्किए, ‘के लाग्छ तपाईंलाई ? मैले नयाँ ल्याएकामा के लाग्छ ? अरू ल्याउनुपर्ने थियो ? तपाईंले भन्नुभएको मतलब ? मैले जुन ल्याउनुपर्ने थियो, ल्याएको थिएँ, मैले जुन सोचेको पनि थिएँ । म सन्तुष्ट छु ।’

‘जसलाई विश्वास गरेर सुरुमा खेलाएँ, त्यसमा गरेको प्रदर्शनमा सन्तुष्ट छु,’ प्रशिक्षक महर्जन आक्रोशित देखिए, ‘मैले टिम छानेको सबैभन्दा बेस्ट हो अहिलेको नेपालको । म सन्तुष्ट छु । तपाईंहरू सन्तुष्ट होला, नहोला ∕ रिजल्टमा पनि प्रयासरत छु, पहिलो खेल हो यो । स्कोरमात्रै ननिस्केको हो । हामीले ५–६ गोलले अग्रता लिनुपर्ने अवस्था थियो । त्यो ठाउँमा चुकेको चाहिँ अवश्य हो । विगत तीन महिनामा कुनै पनि यस्तो प्रतिस्पर्धात्मक खेल खेलेको थिएन । पहिलो खेल भएकाले कताकता कमी कमजोरी देखिएको छ, त्यसलाई सुधार्दै लाने हो ।’

बंगलादेशले किर्गिस्तानविरुद्ध जित पाएको थियो हामीले सकेनौं भन्नेबित्तिकै उनले पत्रकारसँग प्रतिप्रश्न गरे, ‘तपाईंले खेल पनि हेर्नुहुन्छ कि नतिजामात्रै हेर्नुहुन्छ ?’ र, बोले, ‘बंगलादेशले हामीले जस्तै ७०–३० बल पोजेसन राखेर खेलेको छैन, आत्मघाती गोल भएको हो । गोल, रिजल्ट आफ्नो ठाउँमा छ । तर, जति बल पोजेसन राखेर हामीले दबाब दिएका थियौं, त्यो बंगलादेशले गरेको थिएन ।’ आफ्नो क्षेत्रमा बढी बल खेलेर बल पोजेसन राख्ने तर अट्याकिङ थर्डमा खेल्न नसक्ने नेपाली टिमको परम्परागत कमजोरी हो र यसबाट महर्जनको टिम पनि माथि उठ्न सकेन ।

गोल गर्न नसकेकोबारे उनले भने, ‘अट्याकिङ थर्ड (विपक्षीको पेनाल्टी क्षेत्रवरिपरि) मा केही हदसम्म बल नपाएको पनि होइन । वितरण भएको छ, पास दिएको छ, क्रस भएको छ । तर, त्यो ठाउँमा सम्भावित फरवार्डले अलिकति धैर्यता अपनाउनुपर्ने थियो, आक्रामक बढी देखियो । यसलाई पर्सिको खेलमा सल्लाह दिनेछु, ट्रेनिङमा सुधार्ने प्रयास गर्छु । अर्को खेलमा सुधारेर नतिजा ल्याउने छौं ।’ चारै फरवार्डले गोल गर्ने मौका सिर्जना गर्नुपर्नेमा सिधै प्रयास (बल प्रहार) गरेको र त्यसले व्यावसायिक फरवार्डमा हुनुपर्ने गुणमा कमी महसुस गराएको पनि उनले बताए ।

प्रकाशित : चैत्र १३, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

नैतिकता सकिएको राजनीति

लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले नै किन पटकपटक संविधान कुल्चिन्छन् ? किन जिम्मेवार नेतृत्वबाटै बारम्बार नेपालको लोकतन्त्रमाथि अनैतिक प्रहार भइरहन्छ ?
प्रदीप पौडेल

नैतिकताको प्रश्नमा प्राचीन मगध राज्यका महामन्त्री चाणक्यको प्रसंग बारम्बार आइरहन्छ । एक चिनियाँ यात्री भेट्न आउँदा चाणक्य आफ्नो साधारण कुटीमा बसेर केही लेखिरहेका थिए । एकान्त कुटीमा आफ्नै काममा तल्लीन चाणक्यले काम सकेर पाहुनालाई स्वागत गर्नतिर लाग्दा लेखपढ गर्दा प्रयोग गरेको बत्ती निभाएर दोस्रो बत्ती सल्काए ।

चाणक्यको गतिविधि देखेर अचम्म परेका चिनियाँले सोधे, ‘तपाईंले भर्खरैसम्म अर्को बत्ती बालिराख्नुभएको थियो । अहिले किन त्यो बत्ती निभाएर अर्को बाल्नुभएको ?’ चाणक्यले मुस्काउँदै जवाफ फर्काए, ‘मित्र, यसमा अनौठो मान्नुपर्ने केही छैन । भर्खरैसम्म म राज्यको काम गरिरहेको थिएँ अनि राज्यकोषको खर्चमा किनिएको बत्ती र तेल प्रयोग गरिरहेको थिएँ, तर तपाईंसँगको भेट मेरो निजी भएकाले निजी खर्चमा किनेको बत्ती सल्काएको हुँ ।’ चाणक्य–प्रसंगको अर्थ गहिरो र मार्मिक छ । कुनै राज्य किन शक्तिशाली हुन्छ र त्यसको जगमा नैतिकताको पत्र कति बाक्लो छ भन्ने पक्षले सिंगो राज्यको वर्तमान अवस्था दर्साइरहेको हुन्छ ।

चाणक्यको प्राचीन मगधलाई छाडेर आधुनिक नेपालतर्फ नजर लगाऔं, जहाँको राजनीतिमा यति बेला अनैतिकताको आँधी मडारिइरहेको छ । राजनीतिमा कहिल्यै नैतिकता पनि थियो र भन्ने संशय नै खडा गर्ने गरी अनैतिकताको दलदलमा भासिइरहेको छ राजनीति । नैतिकता ढलिरहेको यो कठिन समयमा अझै घनीभूत रूपमा नैतिक प्रसंग दोहोर्‍याइराख्नुपर्ने खाँचो छ । प्रधानमन्त्री केपी ओलीले जब असंवैधानिक ढंगले संसद् विघटन गर्नुभयो, नेपाली समाजको ठूलो जागरुक पंक्तिका आँखा खुले । यस्तो अलोकतान्त्रिक र असंवैधानिक कदमको प्रतिरोध ओलीको फुच्चे गुटबाहेक सार्वजनिक वृत्तका सबै ठाउँबाट भयो ।

कपाल फुलिसकेका बौद्धिकहरू लोकतन्त्रका लागि सडकमा लडिरहेका सुन्दर दृश्यहरू यो देशमा अझै लोकतन्त्रको भविष्य आशालाग्दो छ भन्ने प्रमाणहरू थिए । धेरैलाई अझै पनि संसद् विघटन मात्रै ओलीको असंवैधानिक कदम थियो भन्ने लागिरहेको छ, तर त्यो ओलीको निरंकुशता र स्वेच्छाचारिताको उत्कर्ष मात्रै थियो; ओलीले धेरै अगाडिदेखि संसद् विघटन गर्ने दिनका लागि वातावरण बनाइरहनुभएको थियो । उहाँको व्यक्तित्व र उहाँलाई हुर्काउने पार्टी संरचनाभित्रै अधिनायकवादका डरलाग्दा बीजहरू हुर्किरहेका थिए र ती विषालु बीजहरूको बेलैमा पहिचान गर्न नसक्नु हाम्रो सबैभन्दा ठूलो कमजोरी थियो ।

ओलीले सरकार गठनकै दिनदेखि यो राजनीतिक भूकम्पका तरंगहरू छाडिरहनुभएको थियो । तर हामीले त्यस्ता अनिष्टका तरंगहरूको अनुभूति गर्न सकेनौं । उहाँले सरकार बनेकै दिनदेखि सानो घनत्वमा संविधान भत्काउन सुरु गरिसक्नुभएको थियो । तर, त्यही सानो घनत्वका तरंगहरू भूकम्प बनेर आउँदा मात्रै हामीले त्यसलाई महसुस गर्‍यौं । ओली संसद्को शपथ नलिई प्रधानमन्त्री हुनुभयो, हामीलाई उहाँको कदम त्यति ठूलो लागेन । उहाँ संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री, तीन दिनभित्र शपथ लिनुपर्नेमा ढिलो गर्नुभयो ।

संसद्का सभामुख र उपसभामुख एकै पार्टीका हुनु हुँदैन भन्ने संवैधानिक व्यवस्थालाई अटेर गर्दै नेकपाकै दुई जनालाई सभामुख र उपसभामुख बनाइयो, यो पनि संविधान भत्काएरै गरिएको थियो । गुठी विधेयक, सूचना प्रविधि, मिडिया काउन्सिल, मानवअधिकार आयोग, विशेष सेवा गठनजस्ता सबै प्रकरणमा निरंकुशताको तीखो वाण छाडिएको थियो । यती होल्डिङदेखि ओम्नीसम्मका प्रकरण, यातायात सिन्डिकेटदेखि गोकर्ण रिसोर्टसम्म र राजनीतिक दलसम्बन्धी अध्यादेशदेखि कूटनीतिक मर्यादा भत्काएर गरिएका साँठगाँठसम्म आइपुग्दा ओलीको गैरलोकतान्त्रिक, असंवैधानिक र अधिनायकवादी अभीष्ट छताछुल्ल भइसकेको थियो । यस्ता प्रकरण हप्तैपिच्छे, महिनैपिच्छै भइरहे । संसद् विघटन त निकैपछि यही शृङ्खलाको उत्कर्षका रूपमा देखिएको परिघटना मात्रै हो । ठक्कर खाएपछि पनि नचेत्ने उदेकलाग्दो व्यक्तित्व हेर्दा उहाँले सर्वनाशको यात्रा रोक्ने संकेतसम्म देखिएको छैन ।

सतहमा देखिने दृश्यहरू परिणाम मात्रै हुन्, जसलाई निकै गहिरा कारणहरूले निर्माण गरिरहेका हुन्छन् । त्यसो भए ओली सरकारले देखाइरहेका यी दृश्यका खास कारण के–के हुन् त ? हामीले तत्कालै पर्गेल्नुपर्ने युगीन महत्त्वको सवाल हो यो । नेपाली राजनीतिमा नैतिकताको वृक्ष नै सुक्ने गरी खडेरी परेको निकै लामो समय भइसक्यो । तर, सिद्धहस्त राजनीतिक विश्लेषक पनि चक्मा खाने, अनुभवको सगरमाथा बोकेको नेताले पनि दिमाग दुखाउनुपर्ने गरी राजनीति हरेक दिन अर्को दिन के हुन्छ भनेर बुझ्नै नसक्ने हिसाबले अँध्यारो सुरुङमा फसेको सायद यो पहिलो घटना हो । शक्ति–अभ्यासमा देखाउनकै लागि पनि राजनीतिज्ञले नैतिकताको ढोङ गर्छ, इतिहासका क्रूरतम अधिनायकवादी र फासीवादीहरूले पनि दुनियाँलाई भ्रम छर्न निर्वाचन गर्छन्, जनसमर्थनको नाटक देखाउँछन् । अर्थात्, देखाउनकै लागि पनि नैतिक भइटोपल्छन् । तर देखाउनका लागि पनि नैतिकता बाँकी नरहेपछि अहिलेजस्तो राजनीति अँध्यारो सुरुङभित्र प्रवेश गर्ने गर्छ, जसका कारण भोलि के हुँदै छ भन्ने सामान्य आकलन गर्न राजनीतिका काबिल खेलाडीलाई पनि मुस्किल पर्छ ।

नेतृत्वको मनोमानीबाट विकसित पार्टी जीवनमा अहिले देखिइरहेको संकटको समयमै उचित समाधान नखोज्ने हो भने यसले भोलि पनि देशमा अस्थिरता पैदा गरिरहने निश्चित छ । अहिलेको परिणामका कारण खोजेर त्यसलाई निराकरण नगर्ने हो भने, दुःखले बनाएको संविधान, संसद् र लोकतन्त्रको आपराधिक हत्या आगामी पुस्ताले पनि हेरिरहनुपर्नेछ । ओली प्रवृत्ति केवल व्यक्तिको नभई पार्टी संरचनाको समेत सवाल हो । हाम्रा पार्टी संरचनाभित्रैबाट बारम्बार ओलीहरू किन जन्मिरहन्छन् ? हाम्रा पार्टीहरू कसरी बन्छन् र कसरी भत्किन्छन् ? पार्टी एकता कसरी हुन्छ ? एकता हुँदा बाहिर के देखाउँछन् र भित्र के–के पाकिरहेको हुन्छ ? नैतिकतालाई लत्त्याउनेहरू पनि पार्टीमा कसरी बलियो हुन्छन् ? तत्कालीन एमाले र माओवादी केन्द्रको एकतालाई सतहबाटै हेर्दा पनि कतिपय सवाल छर्लंगै हुन्छन् ।

बाहिर नभन्ने तर एकता गर्दा भित्रभित्रै लेनदेन भइरहेका निहित स्वार्थहरूलाई केन्द्रमा राखेर यी दुई कम्युनिस्ट पार्टी एक भए । जनता र लोकतन्त्र विरुद्धका स्वार्थहरू पूरा भइरहँदा प्रेमालिंगनमा बाँधिएका नेताहरू ओलीका सबै निरंकुश कदमको साझेदार थिए । तर जब बाहिर नभनिने स्वार्थमा आघात पुग्यो, कसैले बालुवाटारमा तमासा देखाए, अर्का थरीले ‘हामी यहाँ छौं’ लेखिएका पम्प्लेट छातीमा टाँसेर माइतीघर मण्डलाको चिसो सडकमा अर्को नौटङ्की मञ्चन गरे । उनीहरू पुसको ठन्डीमा निश्चय नै माइतीघरमा थिए, तर असारको गर्मीमा कहाँ थिए ? उनीहरू सबै बालुवाटारको पटांगिनीमा भेला भएर दुईतिहाइको उत्सव मनाइरहेका थिए, कोरोनाको कठिन कहरमा दुनियाँ हँसाउने र जनता रुवाउने गरी पार्टी भागबन्डाको अश्लील दृश्य प्रदर्शन गरिरहेका थिए । यसबारे त्यही पार्टीका एक नेता घनश्याम भुसालले सटीक टिप्पणी गर्नुभएको छ, ‘यिनको बाटो स्पष्ट छ : एकअर्कालाई नंग्याउने र सबै नांगिने !’

पछिल्लो समय दुनियाँभरि देखिएका हिंस्रक राजनीतिको नेपाली अवतारका रूपमा उदाएका ओलीले घृणा र अपमानको राजनीतिक कुसंस्कार साइबर सेनामार्फत जोडतोडले फैलाइरहनुभएको छ । नेपाली समाजमा ओलीले सल्काएको डढेलोले निकै ठूलो क्षति गरिरहेको छ । सामाजिक सञ्जालहरू घृणा र दुर्भावनाले भरिएका छन् । राष्ट्रिय सञ्चारमाध्यममार्फत आपराधिक कार्यलाई नैतिक बल दिइरहेका छन् । अँध्यारो कोठाबाट तिनले सिर्जना गरेका मिम र ट्रोलले गर्ने भनेकै विध्वंस मात्रै हो । त्यही विध्वंसको आगो तापेर बसेका ओलीले आफ्नो तुच्छ स्वार्थ पूरा गर्न विकास गरेको राजनीतिक संस्कारले कति पुस्ताको वर्तमान र भविष्यलाई खरानी बनाउँछ भनेर सोच्नसम्म सकिरहनुभएको छैन ।

दुनियाँमा असल र खराब दुवै छन् । राजनीतिमा त झनै असल र खराबको द्वन्द्व सधैं चलिरहेको हुन्छ । मुख्य सवाल हामीले शिक्षा कहाँबाट लिने भन्ने हो । तर, उच्च नैतिकताको प्रदर्शन ओलीजस्ता स्वेच्छाचारी शासकका लागि केवल मूर्खता मात्रै हो, कल्पनाबाहिरको विषय । संसद् विघटनजस्तो राजनीतिक अपराध गरिसकेपछि र त्यसलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि पनि ओलीलाई कुनै पश्चात्ताप छैन । अदालतले भन्दा अगाडि पार्टी कार्यक्रमबाट फैसला दिनेजस्तो निर्लज्ज काम गर्दा पनि उहाँमा कुनै हीनताबोध छैन । नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बेला ओलीले आफ्ना विपक्षीलाई धम्क्याउने, सांसद किनबेच गर्ने, नैतिक–अनैतिक सबै किसिमका सम्झौता गरेर सरकारमा टिकिरहने मूर्खता गरिरहनुभएको छ । नैतिकता केवल ओलीमा नभएको होइन र सवाल एक व्यक्तिको मात्रै पनि होइन । अहिले भएको जम्माजम्मी अनैतिकताको नांगो पहाडमा दुनियाँका अगाडि देखिइरहेको उचाइको अनैतिक अनुहार केपी ओलीको हो ।

व्यक्ति प्रधान कि संरचना भन्ने दार्शनिक बहस निकै लामो छ । इतिहासको सम्पूर्ण धारलाई नै बदल्न सक्ने गरी कुनै पनि व्यक्ति सार्वभौम हुन सक्दैन । व्यक्तिका निश्चित सीमा हुन्छन्, दिक् र कालको निश्चित ऐतिहासिक अवधिमा व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्ने हो । जुन संरचना र जुन ऐतिहासिक परिवेशमा केपी ओलीको उदय भएको छ, त्यो दुर्भाग्यपूर्ण छ । नेपाली राजनीतिको गहिरो संकटको सह–उत्पादन मात्रै हुनुहुन्छ ओली । विगत दशकमा चलेका प्रगतिशील रूपान्तरणका आन्दोलनहरूलाई प्रतिकार गर्न नेपाली समाजमा चलेको प्रतिगमनको उत्तराधिकारी हुनुहुन्छ ओली । त्यसैले अहिले हामीले व्यक्ति केपी ओलीको मात्रै होइन, नेपाली समाजको प्रतिगमनको पनि बहस गर्नुपर्छ । नैतिकताको कसीमा राखेर हेर्दा यति बेला स्वाभाविक रूपमा उठेको प्रश्न हो— लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले नै किन पटकपटक संविधान कुल्चिन्छन् ? दुईतिहाइ समर्थन पाएको पार्टीले पनि देश चलाउन सक्दैन, देशमा समृद्धि ल्याउन सक्दैन, स्थायित्व दिन सक्दैन भने के हुँदा चाहिँ राजनीतिक स्थिरता कायम हुन्छ ? विकास हुन्छ ? किन जिम्मेवार नेतृत्वबाटै बारम्बार नेपालको लोकतन्त्रमाथि अनैतिक प्रहार भैरहन्छ ?

यो प्रश्नको उत्तर स्वाभाविक रूपमा हाम्रा राजनीतिक दलहरूको नीति, योजना, दूरदर्शिता र कार्यशैलीसँग प्रत्यक्षतः जोडिन्छ । देश निर्माण, लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि कुनै पनि राजनीतिक दलका योजनाहरू केकस्ता छन् भनेर मात्र पुग्दैनÙ उक्त दलको आन्तरिक लोकतन्त्र कस्तो छ, कार्यशैली कस्तो छ वा पार्टी सञ्चालन विधिको पूर्व अवस्था कस्तो छ भन्ने पनि हेर्नुपर्छ । दूरदर्शितापूर्ण योजनाहरू भएको, आन्तरिक प्रक्रियामा बलियो र लोकतन्त्रको पूर्ण अभ्यास गरिरहेको राजनीतिक दलले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छ । त्यसो भए हाम्रा राजनीतिक दलहरू कति लोकतान्त्रिक छन् ? गहिरो समीक्षा गर्न आवश्यक छ । त्यसपछि मात्रै अनैतिक नेतृत्व जन्मिने राजनीतिक द्वार सधैंका लागि बन्द हुन सक्छ ।

पछिल्ला तीन महिनामा प्रत्येक दिन प्रधानमन्त्री केपी ओलीले अनैतिकताको निरंकुश तरबारका माध्यमले संविधान, न्याय, भविष्य, सपना सबै सखाप पारिरहनुभएको छ । लाज ढाक्ने शरीरका सबै वस्त्र उतारेर उहाँले तय गर्नुभएको नांगो यात्रा कहाँसम्म पुग्छ, अझै निश्चित छैन । तर हामी सबै बाँचिरहेको दिक् र काललाई भोलि इतिहासले मूल्यांकन गर्दा त्यस बेला कठघरामा भने सबैले उभिनुपर्नेछ । इतिहास कठोर हुन्छ । यसले ओली स्वयंलाई जब दण्डित गर्नेछ, उहाँसँग आफ्नो पथभ्रष्ट यात्राका वियोगान्त शृंखलाहरू मात्रै बाँकी रहनेछन् ।

अस्थायी जिन्दगीमा पद–प्रतिष्ठा सबै अस्थायी नै हुन्छन् । व्यक्ति आगामी पुस्ताका लागि कस्तो शिक्षा छाडेर बिदा हुन्छ, त्यो मात्रै स्थायी हुन्छ । आज प्रधानमन्त्रीको कुर्सीमा दुई–चार दिन बढी टिक्न मरिहत्ते गरिरहनुभएका ओलीलाई म कृष्णप्रसाद भट्टराईको जीवनी पढ्न सार्वजनिक आह्वान गर्छु । भट्टराईको सादगी र नैतिकताको स्मरण मात्रै गर्दा पनि बन्द भएको प्रधानमन्त्री ओलीको विवेकको ढोका खुल्न सक्छ कि भन्ने सानो अपेक्षा राखेर मैले यो अनुरोध गरेको हुँ । कृष्णप्रसाद भट्टराईको जीवन ओलीले मात्रै होइन, चरम अनैतिकताको हुरी चलिरहेको यो समयमा हामी सबैले पढ्न जरुरी छ । नैतिकताको उज्यालोले नै आजका सम्पूर्ण अनैतिक अन्धकारलाई परास्त गर्न सक्छ ।

नत्र ओलीका सेटिङ, अहंकार, मैमत्त व्यक्तिवाद, विवेकहीनता सबैसबैले सडिसकेको शवले झैं नेपाली इतिहासको बाटैभरि दुर्गन्ध फैलाइरहेका हुनेछन् । त्यस बेला ओलीबाहेक हामीले चाहिँ इतिहासको कठघरामा उभिएर के जवाफ दिने होला ? अनैतिक केपी ओलीलाई सत्तामा टिकाइराख्नेहरूले यो प्रश्न आफैंसँग सोध्न ढिलो भइरहेको छ ।

प्रकाशित : चैत्र १३, २०७७ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×