थ्री नेसन्स कप : ‘बंगलादेशलाई सुधार आवश्यक’

किर्गिस्तान ओलम्पिक टिम (यू–२३) विरूद्ध १–० को साँघुरो जितपछि बंगलादेशका प्रशिक्षकले आयोजक नेपालविरूद्ध खेल्दा सुधार गर्न आवश्यक रहेको बताएका छन्

काठमाडौँ — थ्री नेसन्स कप फुटबलको उद्घाटन खेलमा मंगलबार किर्गिस्तान ओलम्पिक टिम (यू–२३) विरुद्ध १–० को साँघुरो जित हात पारेपछि बंगलादेशका प्रशिक्षक जेम्स डेले आयोजक नेपालविरुद्ध प्रतिस्पर्धा गर्दा आफ्नो टिमले सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

थ्री नेसन्स कप : ‘बंगलादेशलाई सुधार आवश्यक’

दशरथ रंगशालामा तीन अंक जोडेपछि पत्रकार सम्मेलनमा प्रशिक्षक डेले भने, ‘जितप्रति खुसी छौं । यो जित महत्त्वपूर्ण थियो क्लिन–सिट कायम राख्न । नेपाल र किर्गिस्तानबीच हुने खेलपछि हाम्रो रणानीति बन्नेछ तर आयोजक टिमविरुद्ध हामीले सुधारिएको खेल प्रदर्शन गर्न आवश्यक छ ।’ इंग्ल्यान्डका ४१ वर्षीय उनले थपे, ‘बल पोजेसनमा पनि हाम्रो राम्रो थियो । विश्वकप छनोटमा राम्रो गर्ने प्रयासमै केही नयाँ खेलाडीलाई खेलाएका थियौं । स्कोरिङमा भने बंगलादेशी टिममै समस्या छ ।’

डेले किर्गिस्तानको युवा टिमविरुद्ध तीन नयाँ खेलाडीलाई अवसर दिएका थिए । खासै रोमाञ्चक नरहेको खेलमा गोल भने पहिलो हाफमै निस्किएको थियो । साद उद्दिनको क्रसमा बल क्लियर गर्ने प्रयासमा किर्गिज डिफेन्डर उलु बाइमनले आफ्नै पोस्टमा गोल गरेपछि बंगलादेशले ३० औं मिनेटमा अग्रता लिएको थियो । अन्तिम समयमा किर्गिस्तानी टिमले बराबरी गर्ने राम्रो मौका पाएको थियो । तर, एमिर जापारोभको कर्नरमा सब्स्टिच्युट कामोलिदिन तासिएभले पोस्ट नजिकबाट गरेको ‘फ्रि–हेडर’मा बल पोस्टमाथिबाट बाहिरियो । अग्रता लिएपछि बंगलादेशी टिमले ‘बल होल्ड’ गर्दै ढुक्कसँग खेलेको थियो ।

त्यसलाई लिएर सोधिएको प्रश्नमा प्रशिक्षक डेले जवाफ दिए, ‘खेलमा मौका कुनै पनि बेला पाउन सक्छ । त्यसैले किर्गिस्तानले अन्तिम समयमा गोल नगर्दा हामीलाई भाग्यले साथ दिएको नभनौं होला ।’ पहिलोपल्ट बंगलादेशको कप्तानी गरेका सोहेल रानाले भने, ‘प्रतियोगिताको लागि यो जित महत्त्वपूर्ण थियो । हामीले राम्रो खेल्यौं र अर्को खेलमा अझै राम्रो गर्नुपर्छ ।’ किर्गिस्तान यू–२३ का प्रशिक्षक नुर्बेक जोल्दोसोभले आफ्नो टिमले राम्रो खेल्न नसकेको बताए । ‘अनुभवी बंगलादेशी टिमलाई बधाई,’ उनले भने, ‘हामीले राम्रो प्रदर्शन गरेनौं । पाएका गोलका अवसर उपयोग गर्न सकेनौं । आफ्नै क्षमता र शक्तिमा विश्वास गर्न सकेनौं । राष्ट्रिय टमविरुद्धको खेल हाम्रा युवा खेलाडीका लागि एउटा राम्रो पाठका रूपमा रह्यो ।’

किर्गिस्तानी युवा टिमले बिहीबार नेपाली राष्ट्रिय टिमविरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्यसमा पराजित भएमा मध्यएसियाको पहुना टिम त्रि–देशीय प्रतियोगिताको समूह चरणबाटै बाहिरिने छ । नेपाली टिमविरुद्ध हुने निर्णायक खेलबारे प्रशिक्षक जोल्दोसोभले भने, ‘नेपालविरुद्धको खेल कठिन हुनेछ । किनभने नेपाल घरेलु टिम हो । तर, हामी राम्रो गर्ने प्रयास गर्नेछौं ।’

प्रकाशित : चैत्र ११, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?