२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सप्तरी प्रिमियर लिग : पहिलो दिनको खेलमा रूपनी राइडर्स विजयी

अवधेशकुमार झा

राजविराज — बोदेवरसाइन थन्डर्सलाई १३ रनले पराजित गर्दै रूपनी राइडर्सले आइतबारदेखि सप्तरीको राजविराजमा सुरु भएको मेयर कप सप्तरी प्रिमियर लिग सिजन–३ को उदघाटन खेलमा विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा रूपनी राइडर्सले बोदेवरसाइन थन्डर्सलाई १३ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

सप्तरी प्रिमियर लिग : पहिलो दिनको खेलमा रूपनी राइडर्स विजयी

रूपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदेवरसाइनले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सके । बोदेवरसाइनका लागि नारायण जोशीले सर्वाधिक ३३, कप्तान सिद्धान्त लोहनीले २४ र विकास दासले १७ रनको योगदान दिए । बलिङतर्फ रूपनी राइडर्सका सुमित झाले सर्वाधिक ४ विकेट लिए भने अनिल यादवले २ तथा फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुजकुमार यादवले समान १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेका रूपनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएका थिए । उसका लागि ओपनर सुनिल धमलाले अर्धशतक पूरा गर्दै सर्वाधिक ५४ रन बनाए भने निरज मुखियाले १९ तथा अनिल यादवले १७ रनको योगदान गरे । यस्तै अनुज यादवले अविजित १५ तथा कुशल भुर्तेलले १२ रन बनाए । बोदेवरसाइनका लागि बलिङमा अफ स्पिनर विशाल सुश्लिंगले सर्वाधिक ३ विकेट लिए भने नारायण जोशी, पप्पु यादव र वसन्त रेग्मीले समान १–१ विकेट लिए ।

प्रतियोगितामा अक्सनको माध्यमले स्थानीयसहित राष्ट्रिय क्रिकेटरहरुलाई छनोट गरी पाँचवटा टिमको सहभागिता छ । विजेता टिमलाई तीन लाख र उपविजेता टिमलाई एक लाख पचास हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजक सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव र उपमेयर साधना झाले ब्याटिङ तथा बलिङ गरेका थिए ।

प्रतियोगितामा सोमबार पहिलो खेल दिपेन्द्र ऐरीको कप्तानीमा रहेको तिलाठी कोइलाडी जायन्ट्स र पवन सर्राफ कप्तानीको बजाज खडक वारियर्सबीच हुनेछ भने दिउँसो हुने अर्को खेल महबुब आलमको कप्तानीमा रहेको टिभिएस किंग्स राजविराज र सिद्धान्त लोहनीको बोदेवरसाइन थन्डर्सबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?