इलाम भलिबलमा गण्डकी, आर्मी र एपीएफको अग्रता

विप्लव भट्टराई

इलाम — दोस्रो संस्करणको इलाम आमन्त्रण खुला भलिबल प्रतियोगिता बुधबार सुरु भएको छ । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले सुखद सुरुआत गरेको छ । आर्मीले भारतको दिल्लीका खेलाडीसम्मिलित बिर्तामोडको विमान ट्रेडर्सलाई ३–२ को सेटमा हराएको हो ।

इलाम भलिबलमा गण्डकी, आर्मी र एपीएफको अग्रता

राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडी रहेको आर्मीले प्रतिस्पर्धात्मक खेलमा २५–१७, १८–२५, २५–१८, २१–२५, १५–८ को सेटमा नतिजा निकालेको थियो ।

एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई हरायो । एपीएफले पनि ३–२ कै सेटमा नतिजा निकालेको हो । एपीएफले सुरुका दुई सेटमा २६–२४, २५–२२ ले अग्रता बनाउँदा तेस्रो र चौथो सेट पुलिसले २५–१८, २५–१६ ले आफ्नो पक्षमा पारेर खेल २–२ को बराबरी स्थितिमा पुर्‍यायो । तर निर्णायक सेट एपीएफले १५–१० जित्दै खेलमा सफलता पायो । राष्ट्रिय टिमका कप्तान इम रानाको कप्तानीमा पुलिस उत्रेको थियो ।

डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशले भारतको हरियाणाका खेलाडीसम्मिलित झापाको गौरादह नगर खेलकुद विकास समिति टिमलाई सोझो सेटमा हराएको थियो ।

सदरमुकाममा ठूलो टुँडिखेलमा भएको प्रतियोगितामा ७ टिमलाई दुई समूहमा राखेर खेलाइएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी, विमान ट्रेडर्स, गौरादह र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा एपीएफ, नेपाल पुलिस र दमक नगर भलिबल क्लब झापा छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

विजेताले २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुने टिमले ५० हजार रुपैंयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री हिक्मत कार्कीले बताए । उनले खेलकुद क्षेत्रको विकासनिम्ति प्रदेश सरकार गम्भीर भएर लागेको बताए ।

प्रकाशित : चैत्र ४, २०७७ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?