कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वडा टेबलटेनिस आजदेखि

काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघको कार्यक्रमअनुसार स्पिन इभेन्ट्स प्रालिको आयोजनामा सोमबारदेखि देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिता हुँदै छ ।

वडा टेबलटेनिस आजदेखि

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रतियोगितामा देशभरका करिब ५० वडाका ५ सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । पुरुषतर्फ २६ टिमका ४ सय ३३ र महिलातर्फ ८ टिमका ९० जना खेलाडीले सहभागिता जनाउने निश्चित भएको आयोजक स्पिन इभेन्ट्सले जानकारी दिएको छ ।

स्थानीयस्तरबाट खेलाडीको पहिचान गरी टेबलटेनिसमा प्रतिभावान खेलाडी उत्पादनको लक्ष्यसहित आयोजित प्रतियोगितामा राष्ट्रिय वरीयतामा शीर्ष १६ भित्र रहेका खेलाडीलाई सहभागिताको अनुमति दिइएको छैन । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिलाको एकल र टिम स्पर्धा, भेट्रान्स ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ विधा समावेश गरिएको छ । पुरुष र महिला एकलको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्ट २ खेलाडीले ७ हजार ५ सय नगद पाउनेछन् । भेट्रान्सतर्फ विजेताले १० हजार, उपविजेताले ५ हजार र सेमिफाइनलिस्ट २ खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ पाउनेछन् । स्वर्ण जितेको आधारमा एउटा उत्कृष्ट वडालाई रनिङ सिल्डसहित ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई गंगादेवी वस्त्रालयले सहप्रायोजन सम्झौता गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र गंगादेवी वस्त्रालयका प्रबन्ध निर्देशक प्रकाश बर्तौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार गंगादेवी वस्त्रालयले प्रतियोगिताको कुल बजेट १९ लाख ५० हजारको ३० प्रतिशत अर्थात् ५ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउनेछ ।

पत्रकार सम्मेलनमा डीएचएस स्पोर्ट्स नेपालले प्रतियोगिताका लागि अफिसियल बल हस्तान्तरण गरेको थियो । डीएचएसका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले टेबलटेनिसका पूर्वमुख्य प्रशिक्षक एवं प्राविधिक निर्देशक विनोद शाक्यलाई बल हस्तान्तरण गरे । कार्यक्रममा करिब २ लाख लागतमा तयार गरिएको प्रतियोगिताको रनिङ सिल्ड अनावरण गरिएको थियो ।

प्रकाशित : चैत्र २, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?