१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अनुमाया र प्रिन्सलाई उपाधि

काठमाडौँ — सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता जितेका छन् । पुरुष एकलतर्फको फाइनलमा आइतबार प्रिन्सले एपीएफका दीपेश धामीलाई पराजित गरे । 

अनुमाया र प्रिन्सलाई उपाधि

प्रिन्सले दीपेशविरुद्ध २३–२१ र २१–१८ को प्रतिस्पर्धात्मक फाइनल जित्दै अघिल्लो महिना चितवनमा भएको प्रधानमन्त्री कप ब्याडमिन्टनको फाइनलको बदलासमेत लिए । उपाधिसँगै प्रिन्सले ५० हजार र उपविजेता दीपेशले ३० हजार पुरस्कार पाए । सेमिफाइनलिस्ट खेलाडीहरू नेपाल पुलिसका विष्णु कटुवाल र त्रिभुवन आर्मीका रुकेश महर्जनले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । साइनो स्पोर्ट्स हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका आर्मीका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भूपू सैनिकका सहरोज अन्सारी र आर्मीकै भोजबहादुर गुरुङले जनही ५ हजार रुपैयाँ पाए ।

साङ्लास्थित साइनोको कभर्डहलमा महिला एकलतर्फको फाइनलमा आफ्नै क्लबकी अमिता गिरीलाई २१–१०, २१–१७ को सोझो सेटमा पराजित गर्दै अनुमायाले उपाधि जितिन् । अनुमायाले ३० र उपविजेता अमिताले १५ हजार रुपैयाँ पाए । सेमिफाइनलिस्ट एपीएफकी शोभा गौचन र धादिङकी तारा आलेले जनही ७ हजार ५ सय पुरस्कार पाए । पुरुष युगलतर्फ हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले आयोजक अभिषेक बोस र सुजन थापाको जोडीमाथि २१–१७, १६–२१, २१–१७ को प्रतिस्पर्धात्मक जितसहित उपाधि उचाले । विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाए । सेमिफाइनलमा पुगेका सुर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सनम खपांगी र हीरा राईको जोडीले १०–१० हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुष भेट्रान ४५ वर्षतर्फ ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडी विजयी भयो । उक्त जोडीले परफेक्ट फिटनेस क्लबका पूर्ण हरि होना र सञ्जय कपालीको जोडीलाई १२–२१, २२–२०, २१–१६ ले पराजित गर्‍यो । विजयी खेलाडीहरूले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ हात पारे । सेमिफाइनलमा पुग्ने युनिक स्पोर्ट्सका अनिलकुमार लाखे र पाल्पाका महेश वज्राचार्यको जोडी तथा ललितपुरका सुमन महर्जन र सुनीलमान शाक्यको जोडीले १०–१० हजार रुपैयाँ हासिल गरे ।

प्रकाशित : चैत्र २, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?