१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्लाहीको सनसनी

सुवास विडारी

मकवानपुर — नेपाल एपीएफ क्लबलाई २–१ गोलले पराजित गर्दै वाग्मती युथ क्लब, सर्लाही सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम आठमा पुगेको छ ।

सर्लाहीको सनसनी

हेटौंडा–१० स्थित वनविज्ञान खेलमैदानमा जारी तेस्रो संस्करणको प्र्रतियोगितामा पहिलोपटक सहभागी सर्लाहीले एपीएफमाथि अप्रत्याशित नतिजा निकालेको हो । सर्लाहीका लागि विक्रम धिमाल र सागर शाहीले एक/एक गोल गरे । विक्रमले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले जय गुरुङले प्रहार गरेको कर्नर बलमा हेडमार्फत गोल गरेका थिए । ७४ औं मिनेटमा जयले विपक्षीको डिबक्सनजिकै प्राप्त फ्रिकिकमा उपलब्ध गराएको बललाई हेडिङमार्फत सुन्दर गोल गर्दै सागरले अग्रतालाई दोब्बर पारे ।

एपीएफबाट रवि थिङले पेनाल्टीमा ८३ औं मिनेटमा गोल गरेका हुन् । रविले २७ औं मिनेटमा छ यार्ड बक्सबाट प्रहार गरेको बल सर्लाहीका गोलरक्षक अरुण लामाले बचाएका थिए । एपीएफका प्रदीप लामाले ५४ औं मिनेटमा गरेको प्रहार पनि अरुणले विफल पारेका थिए । सर्लाहीका विदेशी खेलाडी एंगल म्याक्सवेलले ६० औं मिनेटमा स्टेफन समिरले सिक्स यार्ड बक्समा उपलब्ध गराएको बललाई गोलको दिशा दिन सकेनन् । ६७ औं मिनेटमा विदेशी खेलाडी स्टेफन एपीएफका गोलरक्षक रोमन रसाइलीसँग वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके । रोमनले सर्लाहीका खेलाडीको आधा दर्जनभन्दा बढी प्रहार उत्कृष्ट रूपमा बचाउ गरेका थिए ।

म्यान अफ द म्याच सर्लाहीका विक्रम धिमाल भए । उनले दस हजार रुपैयाँ प्राप्त गरे । सर्लाहका प्रशिक्षक सुनील श्रेष्ठले प्राप्त मौकालाई सदुपयोग गर्न नसक्दा अन्तिम समयमा दबाबमा परेको बताए । ‘खेल बराबरको अवस्थामा थियो । हामीले धेरै मौका पाएका थियौं । तर, खेलाडीहरू गोल गर्नबाट चुके ।’, प्रशिक्षक श्रेष्ठले खेलमा धेरै खेलाडी घाइते हुँदा आफूहरू समस्यामा परेको बताए ।

सशस्त्रका प्रशिक्षक सुदीप श्रेष्ठले खेलाडी घाइते हुँदा टिम समस्यामा परेको बताए । ‘भर्खरैमात्र गोलबजारमा सम्पन्न प्रतियोगिता हामीले जितेका थियौं । उक्त प्रतियोगितामा केही खेलाडी घाइते समेत भएका थिए । जसले गर्दा हामीलाई समस्या भयो ।’ उनले मोफसलको टोली भए पनि सर्लाहीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए ।

प्रकाशित : चैत्र २, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?