फ्रेन्चाइज फुटबलको टिम घोषणा

फुटबलसँग जोडियो व्यापारी घराना
हिमेश

काठमाडौँ — यामाहा मोटरसाइकल, भाटभटेनी सुपरमार्केट्स, आईएमई र लक्ष्मी ग्रुप्सदेखि केही वित्तीय, इन्सुरेन्स र शैक्षिक संस्था नेपाली फुटबलसँग सिधा जोडिएका छन् । यसका लागि राम्रो कारण बनेको छ, नेपाल सुपर लिग (एनएसएल) । अर्थात फ्रेन्चाइज लिग फुटबल । अनि यसको आयोजक संस्था रहेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट संस्थाको सिधा सम्बन्ध रहेको छ, चौधरी ग्रुपसँग ।

फ्रेन्चाइज फुटबलको टिम घोषणा

अब धनगढीमा फ्रेन्चाइज क्रिकेट लिग सुरु गरेर यसको सोच नेपालमा स्थापित गराउने सुवास शाहीसँग फुटबल टिम पनि हुनेछ । कुल सात टिम सम्मिलित एनएसएलको पहिलो संस्करण वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा हुनेछ र यसमा सहभागी हुने टिमको संख्या रहेको छ, सात । यिनै सात फ्रान्चाइज टिमको घोषणा आइतबार गरिएको छ ।

यी टिम रहेका छन्, विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललिलपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल–लुम्बिनी एफसी र धनगढी एफसी । विराटनगर सिटी एफसीका लागि त्यसै नाममा एउटा कम्पनी नै स्थापना गरिएको छ । यामाहा नेपालले काठमाडौं रेजर्समा, भाटभटेनीले ललितपुरमा, आईएमईले चितवनमा, लक्ष्मी ग्रुप्सले पोखरामा र इभेन्ट्स कोर्टले बुटवल–लुम्बिनीमा लगानी गरेको छ ।

सुवासले भने धनगढी टिम किनेका छन् । सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा उनको लगानी छ । सातै टिमका मालिक र व्यवस्थापकले फ्रेन्चाइजको नाम घोषणा गर्ने अवसरमा नेपाली फुटबलमा लगानी गर्ने अवसर पाएमा खुसी व्यक्त गरे । सबैको एउटै भनाइ थियो, अब गैर व्यवसायिक रहेको नेपाली फुटबल व्यवसायिक हुनेछ । व्यवसायिक खेलाडी मात्र हुने छैनन्, टिम पनि हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस फ्रेन्चाइज लिगसँगै पुरातन सहिद स्मारक लिगलाई पनि समानान्तर अगाडि बढाउने छ । दोस्रो संस्कणदेखि प्रतियोगिता ‘होम एन्ड अबे’ का आधार समेत हुनेछ । कार्यक्रमका अवसरमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएलको आयोजनाले नेपाली फुटबल छलाङ मार्न सफल हुने दाबी पनि गरे ।

कान्तिपुरसँगको कुरामानीमा उनले भने, ‘यसअघि नेपाली फुटबल एक प्रकारले चन्दा र सहयोगमा चल्दै आएको थियो । फ्रेन्चाइज फुटबलको आयोजनाले यो व्यवासयिक हुनेछ । अब नेपाली फुटबलमा पनि लगानी हुनेछ र यसको पनि सेयर बिक्री हुनेछ । खेलाडीले राम्रो पारिश्रमिक मात्र पाउने छैनन्, टिम आफैले पनि कमाउन थाल्नेछन् ।’

प्रकाशित : चैत्र १, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?