कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुलिस सजिलै च्याम्पियन

विभागीय प्रतिद्वन्द्वी एपीएफमाथि ८ विकेटको जित 
कुशल तिमल्सिना

काठमाडौँ — युवा बलर गुल्सन झाले तीव्र गतिको बलिङ र बाउन्सको भरपुर सदुपयोग गरेपछि नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबमाथि सहज जितसाथ काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ । अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीयमा फाइनलमा पुग्न असफल पुलिसले यसपालि सुधारिएको खेल प्रदर्शन गर्‍यो ।

पुलिस सजिलै च्याम्पियन

एपीएफका कप्तान शरद भेषावकरले फाइनल खेल ब्याटिङ केन्द्रित रहने बताए पनि नतिजा मैदानमा उल्टो भयो । टस जितेर ब्याटिङ गरेको एपीएफ २९.४ ओभरमा १ सय ६ रनमै समेटियो । कसैले पनि लामो साझेदारी गर्न सकेनन् । प्रतियोगिताकै सबैभन्दा खराब ब्याटिङ प्रदर्शन फाइनलमा हुनुको कारणबारे प्रश्न गर्दा कप्तान शरदले भने, ‘पुलिसको सरप्राइज प्याकेज ।’

वास्तवमै गुल्सन झा गुमनाम थिए । सर्लाहीका १७ वर्षे खेलाडीको गति र बाउन्सर क्षमता बुधबार काठमाडौं मेयर–११ विरुद्धको लिग खेलबाट सबैले देखे । एउटा खेलको अनुभवकै आधारमा पुलिसले उनलाई फाइनलमा अवसर दियो । उनले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिँदै आफूलाई प्रमाणित गरिदिए । धेरैले उनलाई राष्ट्रिय टोलीको दाबेदारसम्म मान्न थालेका छन् ।

काठमाडौं मेयर–११ विरुद्धको डेब्यु खेलमा विकेट लिन नसके पनि प्रभावशाली बलिङ गरेपछि उनको प्रशंसा गर्दै पुलिसका कप्तान मन्जित श्रेष्ठले भनेका थिए, ‘गुल्सन प्रधानमन्त्री कप प्रदेश २ को टिममा नपरेको भन्ने सुनेका थियौं । तर हामीले उनलाई ट्रायलमा बोलाएर बलिङ गर्न लगाएकै दिन छनोट गरेका हौं । खेलाडीको प्रतिभा एउटै बलबाट थाहा पाउन सकिन्छ ।’ २०७६ को प्रधानमन्त्री कपमा उनी प्रदेश २ को वैकल्पिक खेलाडीका रूपमा थिए । यस वर्षको संस्करणमा सर्लाहीबाट छनोट प्रतियोगितामा सहभागी भए पनि काठमाडौं आउन पाएनन् ।

पछिल्लो समय उनी नेक्सस क्रिकेट एकेडेमीबाट खेलिरहेका थिए । ‘पुलिसको टिमबाट अवसरको खोजीमा थिएँ । मलाई पुलिसले ठूलो खेलमा अवसर दियो र मैले आफ्नो बलिङ देखाउन पाएँ । सुरुमै विकेट झारेर विपक्षीलाई दबाबमा राख्ने योजना सफल भयो,’ म्यान अफ द फाइनल गुल्सनले भने, ‘मैले लेन्थ र बाउन्सर बलमा राम्रो गर्न सक्छु, आज त्यहीअनुसार भनेको समयमा विकेट गयो । पेस र योर्करमा अझै अभ्यास गर्नुपर्छ जस्तो लागेको छ ।’ उनले एपीएफका शीर्षक्रमका ब्याट्सम्यान शंकर राना, शरद भेषावकर र भुवन कार्कीलाई आउट गरी पावर प्लेभित्रै एपीएफको इनिङ्स कमजोर पारिदिएका थिए । अर्को विकेट कमलसिंह ऐरीको लिए । ललितसिंह भण्डारी सडक दुर्घटनामा घाइते भएपछि उपयुक्त तीव्र गतिका बलर खोजिरहेको पुलिसले राशिद खानको स्थानमा गुल्सनलाई अवसर दिएको थियो ।

६ फिट १ इन्च उचाइका गुल्सनले भविष्यमा ब्याटिङमा सुधार गरी राष्ट्रिय टोलीसम्मको लक्ष्य राखेका छन् । ‘सबैको सपना हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने, मेरो पनि त्यही छ,’ उनले सुनाए । गुल्सनले सुरु गरेको एपीएफको विकेट पतनलाई त्यसपछि स्पिनर सागर ढकालले निरन्तरता दिए । उनले पनि एपीएफका चार ब्याट्सम्यानलाई आउट गरे । एपीएफका लागि वसन्त रेग्मीले सर्वाधिक २२ र अमरसिंह राउटेलाले १८ रन जोडे । यी दुईले आठौं विकेटमा ३० रनको साझेदारी गरेपछि एपीएफले १ सयको स्कोर पूरा गरेको हो ।

‘हाम्रो योजनाअनुसार विल्कुलै भएन । चोटका कारण हामी केही कमजोर त थियौं तर यसरी ब्याटिङ कमजोर हुनेछ भन्ने सोचेका थिएनौं,’ दुई महिनाको अन्तरमा दुई राष्ट्रिय एकदिवसीय प्रतियोगिताको फाइनल हारेका एपीएफ कप्तान शरदले भने, ‘लगातार फाइनलमा पराजित हुनुले एकप्रकारको निराशा त ल्याउँछ । तर, खेल हो कुनै एउटा टिमले जित्नैपर्छ । आज हामीले राम्रो खेल्न नसकेरै हार्‍यौं ।’

शरद अम्पायरको निर्णयमा पनि सन्तुष्ट देखिएनन् । प्रतियोगितामा अम्पायरको निर्णयप्रति धेरै खेलाडीले अनौपचारिक गुनासो गरिरहेकै थिए । तेस्रो ओभरको पहिलो बलमै गुल्सनको बाउन्सर सिकार भएका शरदले आफ्नो हातमा लागेको बललाई आउट दिइएकोमा पेभेलियन फर्कंदै गर्दा नै असन्तुष्टि जनाएका थिए । ‘मानवीय त्रुटि भइहाल्छ, यो पनि खेलको एउटा भाग नै हो । अम्पायरको निर्णयमा कमजोरी देखियो । फाइनलको त्यो निर्णयले समग्र टिमको प्रदर्शनलाई असर परेको छ,’ शरदले भने, ‘प्रतियोगिता धेरै भइरहेका छन् । टेलिभिजन प्रत्यक्ष प्रशारण पनि भइरहेको छ । त्यसो हुँदा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रणालीमा जान सकियो भने राम्रो हुन्छ ।’

लगातारको खेलतालिकाका कारण पनि खेलाडीमा चोटको समस्या देखिएको हुनसक्ने उनको आशंका थियो । ‘चोटको समस्या हाम्रो टिममा मात्र हो कि जस्तो लाग्छ, व्यस्त खेलतालिका त अन्य टोलीका लागि छ,’ उनले भने ।

ओपनर सुनील धमलाले सानदार अर्धशतकसहित अविजित ५९ रन जोडेपछि पुलिसले सामान्य लक्ष्य २ विकेट गुमाएर भेट्टायो । सुनीलले २४.१ ओभरमा छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाए । पुलिसका अर्का ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरमा आएका अनिल साहले समान १५ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे ।

२०७६ सालमा तेस्रो प्रधानमन्त्री कपको उपाधि जितेयता पुलिसले पहिलोपल्ट राष्ट्रियस्तरको प्रतियोगितामा उपाधि जितेको हो । पीएम कपको कमजोरी सुधार्न सकिएकोमा पुलिसका कप्तान मन्जितले सन्तुष्टि व्यक्त गरे । ‘हामीले उपाधि जिते पनि ब्याटिङमा सुधार गर्नुपर्ने धेरै छ । यसपल्ट सामूहिक प्रदर्शनले यो उपलब्धि निस्किएको हो । ब्याटिङमा सुधार गरी टिम एकता कायम राख्न सकियो भने भविष्यमा पुलिस टिमले धेरै उपाधि जित्न सक्नेछ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गरेको प्रतियोगिता विजेता पुलिसले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाए । अलराउन्ड प्रदर्शन गरेका पुलिसका दीपेन्द्रसिंह म्यान अफ द सिरिज चुनिए । उनले पहिलो खेलमा वाग्मतीविरुद्ध ४ विकेट र दोस्रो खेलमा एपीएफविरुद्ध १ सय ४० रनको सानदार इनिङ्स खेलेका थिए । समग्रमा ब्याटिङतर्फ १ सय ७६ रन र बलिङतर्फ ८ विकेट लिएका उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । सर्वाधिक १३ विकेट लिएका वाग्मती प्रदेशका युवा लेग स्पिनर अरियो पौडेल उत्कृष्ट बलर तथा शतकसहित कुल १ सय ८४ रन प्रहार गरेका त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारी उत्कृष्ट ब्याट्सम्यान चुनिए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : चैत्र १, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?