न बिक्री गरिरहेको दूधको पैसा पाएका छन्, न सरकारले तोकेको दरभाउ । डीडीसीले प्रतिलिटर दूधको औसत ५२ रूपैयाँ मूल्य तोकेको छ तर किसानले प्रतिलिटर ४२ रूपैयाँ मात्रै पाइरहेका छन् ।
काठमाडौँ — पुर्ख्यौली पेसा पशुपालन रोजेका काभ्रे मण्डनदेउपुर नगरपालिकाका कृष्णप्रसाद नेपाललाई पशुपालनबाट ऋण लागेर विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता बढेको छ । दूध बिक्री गरेर आफ्नो परिवारका लागि नुन, तेल र गाईभैंसीका लागि दाना, पिठो खरिद गर्दै आएका उनले पछिल्लो समय बिक्री गरेको दूधको पैसा पाएका छैनन् ।
नजिकैको सहकारीमार्फत दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध बिक्री गर्दै आएका उनले तीन महिनादेखि पैसा नपाएको गुनासो गरे । ‘सरकारी संस्थान भएकाले डीडीसीलाई बिक्री गरिरहेका थियौं तर तीन महिनादेखि पैसा पाएका छैनौं,’ उनले भने, ‘समयमै भुक्तानी नहुँदा नुन, तेल, दाना र मल किन्न समस्या भयो ।’
मण्डनदेउपुरकै नारदप्रसाद नेपालको भनाइ पनि उस्तै छ । दैनिक २५ देखि २७ लिटर दूध बिक्री गरिरहेका उनले तीन महिनादेखि दूधको पैसा नपाएको सुनाए । ‘पशुलाई समयमै दाना खुवाउन नसक्दा दैनिक ३५ लिटर दूधबाट घटेर २५ मा झरेको छ । पशुपालन गरेपछि पिठो र दाना चाहिन्छ तर साह्रै समस्या भयो,’ उनले भने, ‘दूध फाल्न नमिल्ने, डेरीमा दिए पनि समयमै रकम नपाइने भयो । पैसा नआएपछि पेसाप्रति आकर्षण घट्दो छ ।’
नगरपालिकाले गाईभैंसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानका लागि ६०/४० लागतमा साझेदारी कार्यक्रम ल्याइरहेको छ । सोही कार्यक्रमअन्तर्गत गाईभैंसीपालनमा लाग्ने किसानलाई अनुदान दिने जनाइएको छ । यद्यपि किसानले भने बिक्री गरिरहेको दूधको पैसा पाएका छैनन् । सरकारले तोकेको दूधको दरभाउ पनि पाएका छैनन् । डीडीसीका अनुसार किसानका लागि प्रतिलिटर औसतमा ५२ रुपैयाँ मूल्य तोकिएको छ । किसानहरूले भने प्रतिलिटर ४२ रुपैयाँ मात्रै पाइरहेको गुनासो गरेका छन् ।
किसानका अनुसार डीडीसीले गत साता दुई दिन मिल्क होलिडेसमेत गर्यो । ‘एकातर्फ राज्यले अनुदान दिने भनिरहेको छ तर बिक्री गरेकै दूधको मूल्य पाएका छैनौं,’ किसान कृष्णप्रसाद नेपालले भने, ‘अब पशुपालनका लागि लिएको ऋणबाटै विस्थापित हुने अवस्था आउँदै छ ।’
राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले पनि दुग्ध किसानले तीन/चार महिनादेखि भुक्तानी नपाएको जानकारी पाएको बताए । ‘सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर ६ का किसानले ३/४ महिनादेखि भुक्तानी नपाएको गुनासो गरेका छन् । भुक्तानी नपाउँदा दूध बिक्री गर्न पनि गाह्रो भइरहेको समस्या आएको छ,’ उनले भने, ‘दूधको समस्या राष्ट्रियस्तरमै देखियो ।’ यसअघि किसानले महिनामा दुईपटक (१५/१५ दिनमा) भुक्तानी पाइरहेका थिए तर पछिल्लो समय भुक्तानी गर्न आलटाल गरिरहेको किसानको गुनासो छ ।
किसानले नजिकैको सहकारीलाई बिक्री गर्छन् । त्यसपछि दूध डीडीसी र निजी डेरीहरूले उठाउँदै आएका छन् । महासंघका अनुसार दूधको समस्या पनि उखु किसानको जस्तै बन्दै गएको छ ।
डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले क्षेत्रगत आधारमा ५/६ किस्तासम्म दूधको मूल्य तिर्न बाँकी रहेको बताए । अब भने क्रमिक रूपमा भुक्तानी गर्ने उनको दाबी छ । ‘अहिले मुख्यतः पाउडर बिक्री भएन, दूध पनि बढी भयो, बिक्रीकै समस्याले किसानलाई पैसा दिन सकेनौं,’ पौडेलले भने, ‘बजार बढ्न थालेको छ । दहीको माग बढ्न थालेको छ । पहिलो प्राथमिकता किसान नै हुन् । अब क्रमिक रूपमा पठाउन थाल्छौं ।’ उनका अनुसार पाउडर हजार टन मौज्दात छ । बटर पनि पर्याप्त नै छ ।
नगद प्रवाह नहुँदा किसानलाई समयमै भुक्तानी गर्न नसकिएको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले जानकारी दिए ।
काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तुलगायत जिल्लाबाट दूध संकलन गरिन्छ । यसका लागि किसानलाई मासिक १७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ । औपचारिक रूपमा बिक्री हुने कुल मागको करिब २५ देखि ३० प्रतिशत डीडीसीले धान्दै आएको छ । डीडीसीका अनुसार अहिले औसतमा दैनिक १ लाख ७० हजार लिटर दूध संकलन भइरहेको छ । जसमध्ये ९५ देखि १ लाख लिटर खपत भएको छ । बाँकी कन्भर्सनका लागि पठाउने गरिएको छ । १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दुई लाख किसान संलग्न छन् । निजीक्षेत्रतर्फ करिब ६ लाख किसान प्रत्यक्ष संलग्न रहेको डेरी उद्योगी बताउँछन् । त्यसमध्ये डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले करिब ४ लाख किसानबाट दुध संकलन गरिरहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध संकलन गरिरहेको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाको भनाइ छ ।
सरकारी संस्थानसँगै निजी डेरीमा पनि समस्या उही छ । दुई महिनायता किसानलाई भुक्तानी नगरिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए । ‘मौज्दात बढी छ, त्यही भएर भुक्तानीमा समस्या देखिएको हो,’ उनले भने, ‘आपसी सहमतिमा अहिलेसम्म भुक्तानी गरिरहेका छौं । यसरी बजार व्यवस्थापन गरिरहेका छौं ।’ नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले पनि डेढ महिनाको भुक्तानी गर्न बाँकी रहेको बताए । उनले पनि घिउ, पाउडर दूधलगायत मौज्दात रहेको सुनाए ।
प्रकाशित : फाल्गुन २९, २०७७ ०७:२१