कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ब्याटिङकेन्द्रित फाइनल

कुशल तिमल्सिना

काठमाडौँ — सुरुका दिनमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबारे गुनासो हुने गर्थ्यो । यस पिचले बलरलाई बढी मद्दत गर्छ । अहिले दिन फेरिएको छ । यो पिचले अचेल ब्याट्सम्यानलाई मद्दत गर्न थालेको छ । काठमाडौं मेयर कप क्रिकेटको लिग चरणमा त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको खेलमा दुई शतक बन्नुले पनि यसलाई पुष्टि गर्छ ।

ब्याटिङकेन्द्रित फाइनल

उपाधिका लागि शनिबार भिड्ने दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब पनि ब्याटिङमै केन्द्रित हुनेछन् । कीर्तिपुर मैदानमा भएका मेयर कपका ६ खेलमध्ये एउटाबाहेक अरूमा एकै इनिङ्समा २ सय बढी रन बनेको छ । बलरहरू हाबी भएको खेलमा ब्याट्सम्यानहरूले लामो साझेदारी गर्न सकेका छैनन् । सबैको एउटै तर्क रहने गरेको छ, पिचले साथ दिँदादिँदै पनि रन बनिरहेको छैन ।

पुलिसविरुद्ध १ सय ९७ रनको लक्ष्य पछ्याउने क्रममा ९४ रनमै अलआउट भएपछि काठमाडौं मेयर ११ का कप्तान सन्दीप लामिछानेले ब्याटिङमैत्री पिच हुँदाहुँदै पनि लामो साझेदारी गर्न नसक्नुलाई आफ्नो ब्याट्सम्यानको कमजोरीका रूपमा व्याख्या गरेका थिए । फाइनल पुगेका टोलीले लिग चरणका चारमध्ये तीन खेल जितेका थिए । लिग चरणमा एपीएफले पुलिसलाई १ विकेटले हराएको थियो । २ सय ५९ रनको लक्ष्य पूरा गर्न एपीएफले अन्तिम ओभरसम्म कुरेको थियो । एपीएफका कप्तान शरद भेषावकरका अनुसार लिग चरणको नतिजालाई फाइनलमा तुलना गर्न मिल्दैन । ‘क्रिकेटमा अघिल्लो खेल तुलना गरेर नतिजा अनुमान गर्न सकिन्न । भोलिको दिन राम्रो खेल्ने प्रयासमा हामी हुनेछौं,’ उनले भने ।

दुवै कप्तानले ठूलो स्कोर बनाउनेतर्फ केन्द्रित रहने बताएका छन् । ‘ब्याटिङ राम्रो गर्ने टिमले जित्न सक्ने खालको पिच छ । हामी धेरै स्कोर गर्नमा केन्द्रित हुनेछौं । सबैले आफ्नो जिम्मेवारीअनुसार विकेट सम्हालेर खेल्न सके ठूलो स्कोर बन्न सक्छ,’ शरदले २४० देखि २६० स्कोर गर्दा खेल जित्न सकिने बताए । उनले युवा खेलाडीलाई स्वतन्त्र भएर खेल्न आग्रह गरे ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले १ सय ४० रनको योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेका छैनन् । स्पिन बलिङमा निर्भर पुलिसले फाइनलमा ब्याटिङ राम्रो गर्नेतर्फ केन्द्रित रहेको बताएको छ । ‘बलिङमा हामी स्पिनरहरूमा भर परेका छौं । अहिलेसम्म उनीहरूकै प्रदर्शनले यहाँसम्म आएका हौं,’ पुलिसका कप्तान मन्जित श्रेष्ठले भने, ‘अहिले ब्याटिङमा केन्द्रित छौं । समग्र प्रयासले ठूलो स्कोर बनाउने प्रयास रहनेछ ।’

मन्जितले ठूलो स्कोरका लागि युवा खेलाडीले जिम्मेवार ढंगले ब्याटिङ गर्नुपर्ने बताए । ‘मैले खेल्न सुरु गर्दा ठूलो स्कोर कमै बन्ने गरेको थियो । अहिले त एकै प्रतियोगितामा ४–५ वटासम्म शतक बन्ने गरेको छ,’ मन्जितले भने, ‘अहिले क्रिकेटको स्तर धेरै बढेको छ तर युवा खेलाडीमा एकदिवसीय खेलको अनुभव कम छ । उनीहरूले खेलको स्थिति बुझेर खेल्नुपर्छ ।’

दुई महिनाको अन्तरमा दुई राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको एपीएफले उपाधि जित्न नसकेको झन्डै तीन वर्ष भयो । २०७५ जेठमा भएको दोस्रो प्रधानमन्त्री कपमा आर्मीलाई हराएर उपाधि जितेको एपीएफ सोही प्रतियोगिताका पछिल्ला दुई संस्करणमा उपाधिविहीन छ । उसले अघिल्लो महिना चौथो प्रधानमन्त्री कपको फाइनलमा आर्मीसँग हार बेहोरेको थियो ।

त्यही गल्ती दोहोर्‍याउने पक्षमा छैनन् शरद । उनले भने, ‘अघिल्लो महिना हामी आफ्नै कारणले हार्न पुगेका थियौं । विकेट जोगाउन सकेका थिएनौं । फाइनलमा पुगेर उपाधि जित्न नसकेको धेरै भयो, उपाधिका लागि राम्रो खेल्नुपर्छ र हामी त्यसमा केन्द्रित छौं ।’

शरद, सुवास खकुरेल, प्रदीप ऐरीलगायत एपीएफका खेलाडीहरू चोटग्रस्त छन् । त्यसको असर फाइनलमा पुग्न नदिनेतर्फ सचेत शरदले सामूहिक प्रयासले फिटनेसलाई बिर्सेर प्रदर्शन हुने दाबी गरे । मन्जितले पनि राम्रो प्रदर्शनबाट उपाधिको आशा गरेको सुनाए । ‘एपीएफ धेरै उत्कृष्ट छ । हामीले योजनाबद्ध रणनीति बनाउँदै छौं । हामी सामूहिक प्रदर्शनलाई आधार मान्छौं,’ उनले थपे, ‘एपीएफका धेरै खेलाडीहरू चोटग्रस्त छन् तर उनीहरूले आवश्यकताअनुसार राम्रो प्रदर्शन गरिरहेका छन् ।’

३ खेलबाट १२ विकेट लिएका पवन सर्राफसहित सागर ढकाल, ललितनारायण राजवंशी जस्ता उत्कृष्ट स्पिनरहरू पुलिसका भरोसा हुन् । तीव्र बलिङमा पछिल्लो खेलमा गुल्सन झालाई डेब्यु गराएको पुलिसका लागि मन्जित पनि रहनेछन् । गुल्सनको गति र बाउन्सले धेरैलाई प्रभावित पारेको छ । एक खेलमा १ सय ४० रनको इनिङ्स खेल्नुबाहेक दीपेन्द्रले बाँकी ३ खेलमा २५ रनमात्र बटुलेका छन् । पवनले आवश्यक समयमा रन जोड्दै मध्यक्रमको नेतृत्व गरिरहेका छन् । ओपनर सुनील धमला र कुशल भुर्तेलले औसतबाट माथि उठेर प्रदर्शन गर्नुपर्नेछ ।

एपीएफका सन्दीप जोरालाई मध्यक्रममा धेरै भरोसा गर्न सकिन्छ । यी युवा ब्याट्सम्यानले अहिलेसम्म दुई अर्धशतक प्रहार गरेका छन् । लिग चरणको अन्तिम खेलमा मूलपानी मैदानमा काठमाडौं मेयर–११ विरुद्ध कप्तान शरदसँग १ सय २१ रनको अविजित साझेदारी गरी उनले जित आधार खडा गरेका थिए । फिल्डिङमा पनि उनको चुस्त शैली प्रशंसनीय छ । कप्तान शरद पनि लिगको अन्तिम खेलमा अर्धशतक प्रहारसँगै लयमा फर्किएका छन् । शंकर राना, अमरसिंह राउटेला, सुमित महर्जनलगायतका युवा खेलाडीले औसतभन्दा माथिको प्रदर्शन गर्नुपर्नेछ । अविनाश बोहराको योर्कर र वसन्त रेग्मीको स्पिन अनुभवले एपीएफको बलिङ आक्रमण बलियो छ । उनीहरूलाई भुवन कार्की, कमलसिंह ऐरी र किशोर महतोको साथ रहनेछ ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?