अनन्त र जुनी वर्ष खेलाडी


बिर्तामोड — राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ र उसुकी जुनी राई ‘झापा स्पोर्ट्स अवार्ड २०७६’ को वर्ष खेलाडी भएका छन् ।


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको चौथो झापा स्पोर्ट्स अवार्डमा अनन्त र जुनीले वर्ष खेलाडीको पुरस्कार जितेका हुन् ।
२०७६ सालमा प्राप्त उपलब्धिका आधारमा प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार उनीहरू विजेता बने ।
मोटरसाइकल प्राप्त गरेका अनन्तले फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदेम्बेलाई पछि पारेका थिए । महिला वर्ष खेलाडी घोषित हुँदै इलामकी जुनीले स्कुटर प्राप्त गरिन् । उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन् । वर्ष खेलाडी (युवा) मा फुटबलका रेजिन सुब्बाले बाजी मारे । रेजिनले कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारे । वर्ष प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जिते । झापाका उप्रेतीले फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पारे ।
पिपल्स च्वाइस अवार्ड फुटबलकी गोलरक्षक एन्जिला तुम्बापोले जितिन् । लाइफटाइम एचिभमेन्ट अवार्ड पूर्व ओलम्पियन डम्बर कुँवरलाई प्रदान गरियो । बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारीरिक सुगठनका राम दाहाललाई ‘स्पेसल एचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।
प्रकाशित : फाल्गुन २९, २०७७ ०७:४१




















