कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेल उत्कृष्ट, पुगेनन् फाइनल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली घरेलु क्रिकेटमा यो खेललाई पछिसम्म पनि दोहोर्‍याएर सम्झिइनेछ । यसको खास नतिजा के रह्यो भने दुवै प्रतिद्वन्द्वी टिम फाइनल पुग्न सकेनन् । काठमाडौं मेयर कप क्रिकेटमा बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वाग्मती प्रदेश र आर्मी क्लब भिडेका थिए ।

खेल उत्कृष्ट, पुगेनन् फाइनल

खेल सकिनु अगाडि नै तय भइसकेको थियो, यी दुई टिममध्ये कुनै फाइनल पुग्ने छैन । किनभने मूलपानीमा भएको खेलमा एपीएफ क्लबले काठमाडौं मेयर–११ टिमलाई हराएर फाइनल सुरक्षित गरिसकेको थियो । यस्तोमा वाग्मती र आर्मी खाली प्रतिष्ठाका लागि मात्र लडे, तर यो प्रतिष्ठाको लडाइँ ‘क्या खेल’ जस्तै रह्यो । सबैभन्दा पहिले मूलपानीमा भएको खेल । त्यसमा एपीएफका लागि कप्तान शरद भेषवाकरले अर्धशतकमात्र प्रहार गरेनन्, सन्दीप जोरासँग शतकीय साझेदारी गरे र टिमलाई ७ विकेटले विजयी गराए । टस हारेर पहिले ब्याटिङ अवसर पाएको मेयर–११ ले ४८.२ ओभरमात्र टिकेर १ सय ७७ रन बनाएको थियो ।

जवाफमा एपीएफ ४४.१ ओभरमै जितसम्म पुग्न सफल रह्यो । शरदले सबैभन्दा पहिले शंकर रानासँग दोस्रो विकेटमा ४४ रनको साझेदारी निभाए । त्यसपछि दबाबमा आएको एपीएफका लागि शरदले कप्तानी इनिङ्स खेले । यो किन महत्त्वपूर्ण रह्यो भने उनले लामो समयपछि आफ्नो प्रतिष्ठाअनुसार खेले । शरदले सन्दीप लामिछानेको फ्री हिटमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । उनी ६१ रन बनाएर नटआउट रहे । सन्दीप जोरा आफैं पनि नटआउट रहे । उनले ६२ रन बनाए । यसक्रममा सन्दीपले सिद्धान्त लोहनीको बलमा चौका प्रहार गर्दै जितको औपचारिक पूरा गरेका थिए । सन्दीप र शरदले तेस्रो विकेटमा १ सय २१ रनको निर्णायक साझेदारी गरे । यसअघि मेयर–११ का लागि हरिशंकर साह र सन्दीप रजालीले ६५ रन साझेदारी गरेर टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । सन्दीप रजालीले ४८ र हरिशंकरले ३६ रन बनाए । उनीहरूबाहेक अन्य कसैले गतिलो योगदान दिन सकेनन् ।

एपीएफको त्यो जितपछि कीर्तिपुर मैदानको खेल वास्तवमै औपचारिकमै सीमित भएको थियो । तर, दुवै टिमका खेलाडीले त्यसलाई त्यस्तै व्यवहार गरेनन् । एउटा अब्बल दर्जाको खेलमा जे जति चाहिन्छ, त्यो सबै त्यसमा थियो । जस्तो, शतकीय इनिङ्स र ५ विकेटको प्रदर्शन । त्यो पनि दुवै टिमबाट । जतिबेला आर्मीका कप्तान विनोद भण्डारी आउट भए । त्यसपछि खेल वाग्मतीको पक्षमा मोडियो । सबैले फेरि अनुभव गरे, क्रिकेटमा जित धेरै नजिक भएर पनि कति धेरै टाढा हुनसक्छ भनेर । १० रनले विजयी रहेको खेलमा वाग्मतीले पहिले ब्याटिङ गरेर ४९.४ ओभरमा सबै विकेट गुमाई २ सय ६६ रन बनाएको थियो । त्यसमा पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ्स खेले । जसका लागि ११ चौका र दुई छक्का प्रहार गरे । संयोगले यो घरेलु क्रिकेटमा पारसको पहिलो शतक रह्यो । जवाफमा आर्मीले ४७.१ ओभरमा २ सय ५६ रन बनायो । यसमा पनि विनोद भण्डारीले १ सय १९ रन बनाए । उनको यो प्रदर्शन नहुँदो हो त खेल कति चाँडै टुंगिसकेको हुन्थ्यो, थाहै हुँदैनथ्यो । विनोदले ८ चौका र ७ छक्का प्रहार गरेर खेललाई रोमाञ्चक बनाए ।

आर्मीले एक समय ४ विकेट गुमाउँदा ७९ रन मात्र बनाएको थियो । फेरि सात विकेट गुमाउँदा १ सय ५२ रन बनाएको थियो । तर विनोदले आठौं विकेटमा करण केसीसँग ८४ रनको आक्रामक साझेदारी गरे । आरियो पौडेलको बलमा एक रन बटुलेर स्ट्राइक आफ्नै पक्षमा पार्ने प्रयासमा विनोद नराम्रोसँग स्टम्पिङ हुन पुगे । लगत्तै अर्को ओभरमा आरियोले जितेन्द्र मुखियालाई लगभग प्लम्प एलबीडब्लूमा आउट पारे । वाग्मतीका लागि तिनै आरियो र आर्मीका लागि सोमपाल कामीले ५–५ विकेट लिए । शतकपछि आर्मीबाट ओपनर लोकेश बमको ४६ र वाग्मतीबाट नन्दन यादवको ४२ रन नै ठूलो स्कोर थियो ।

प्रकाशित : फाल्गुन २८, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?