कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला मेयर कपलाई ललितपुरको सहयोग

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाले मेयर कप महिला ट्वान्टी–२० क्रिकेट आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सहमतिपत्रमा हस्ताक्षर गरे । काठमाडौं महानगरपालिकाको सहयोगमा पुरुष टोलीबीच मेयर कप एकदिवसीय क्रिकेट भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने मेयर कप महिला ट्वान्टी–२० क्रिकेटमा ५ टोलीको सहभागिता रहनेछ । दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका शीर्ष चार टोली र ललितपुर मेयर–११ टिमको सहभागितामा चैत महिनाभित्र प्रतियोगिता गर्ने सहमति भएको छ । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन क्यानले गर्नेछ ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका खेलकुदप्रति उत्तरदायी रहेको भन्दै फुटबलपछि क्रिकेटमा पनि सहयोग गरिएको र यो सहयोग भविष्यमा निरन्तर रहने बताए । क्यान अध्यक्ष चन्दले महिला क्रिकेटमा सहयोग कम आएका बेला महानगरको निर्णयले खेलाडीहरूमा प्रोत्साहन मिलेको सुनाए ।

प्रकाशित : फाल्गुन २६, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?