३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सोनुको धारिलो बलिङ

कुशल तिमल्सिना

काठमाडौँ — सोनु देवकोटाले घातक बलिङ गरेपछि वाग्मती प्रदेशले काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटको आफ्नो तेस्रो खेलमा विभागीय टोली एपीएफ क्लबलाई २७ रनले पराजित गरेको छ । यसअघि दुवै खेल हारेको वाग्मतीलाई फाइनल पुग्ने सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने थियो ।

सोनुको धारिलो बलिङ

कीर्तिपुर त्रिवि मैदानमा २ सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफलाई ४४.५ ओभरमै २ सय ६ रनमा अलआउट गर्न सोनु एक्लैले ६ विकेट लिए । राष्ट्रिय क्रिकेटमा लगभग अपरिचित लेग स्पिनर सोनुले एपीएफको शीर्ष र मध्यक्रमका ब्याट्सम्यानहरूलाई एकपछि अर्को गरी पेभेलियन पठाए । उनले १० ओभरमा ४१ रन खर्चिए ।

तीन वर्षदेखि नेपालमा रहेका २१ वर्षीय सोनुको स्थायी घर बर्दिया हो । भारतको राजस्थानमा परिवारसहित रहँदा उनले उतै क्रिकेट सिकेका थिए । ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षणरत उनलाई राष्ट्रिय क्रिकेटमा पनि धेरै अनुभव छैन ।

‘हामीले अगाडि दुई खेल हारिसकेका थियौं र यो खेल जित्नैपर्ने थियो । मेरो प्रदर्शनभन्दा राम्रो पनि टिमलाई जिताउन सकेकोमा खुसी छु,’ म्यान अफ द म्याच सोनुले भने, ‘आफूले राम्रो गर्ने प्रयास सधैं रहिरहने छ ।’

सन् २०१९ मा कलेज क्रिकेट लिग खेलेका सोनुले २०७६ सालमा आठौं राष्ट्रिय खेलकुद र त्यही वर्ष तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा तत्कालीन प्रदेश ३ को टोलीबाट खेलेका थिए । अघिल्लो महिना प्रधानमन्त्री कपका लागि वाग्मती प्रदेशको छनोटमा उनी काठमाडौं जिल्लाको टोलीमै परेका थिएनन् ।

जारी प्रतियोगिताको पहिलो खेलमा पुलिसविरुद्ध १ विकेट लिएका सोनुले एपीएफसँग आफूलाई प्रमाणित गरेका छन् । ‘हरेकपल्ट म आफूले आफैंलाई साबित गर्ने प्रयासमा रहनेछु । मैले कसैलाई साबित गर्नु छैन । गर्नु छ त आफैंलाई,’ आफूलाई बलिङ अलराउन्डर भन्न रुचाउने सोनुले थपे । एपीएफका ओपनर शरद भेषावकरलाई रामनरेश गिरीले ४ रनमै आउट गरेपछि आएका शंकर रानाले अर्का ओपनर आसिफ शेखसँग मिलेर ७२ रनको साझेदारी गरे । त्यसपछि सोनुको घातक स्पेल सुरु भयो । आसिफले ३८ बलमा ५० रनको अर्धशकीय इनिङ्स खेले । शंकरले २९ रनमात्र बनाउन सके । दुवैलाई सोनुले क्याचआउट गरेका थिए । त्यसपछि एपीएफको लामो साझेदारी बन्न सकेन ।

यसअघि टस हारेर ब्याटिङ गरेको वाग्मतीले कप्तान ज्ञानेन्द्र मल्ल र पुछारका नन्दन यादवको अर्धशतक सहयोगमा २३३–६ को स्कोर खडा गरेको थियो । ओपनर ज्ञानेन्द्रले ८४ बलमा ७ चौकासहित ५७ रनको संयमित इनिङ्स खेले । मध्यक्रममा पारस खड्काले २९ र इशान पाण्डेले ३१ रनको योगदान गरे ।

आदिल खान र नन्दन यादवले छैटौं विकेटमा ७३ रनको साझेदारी गरेपछि वाग्मतीले २ सय रनको स्कोर पार गरेको हो । सातौं नम्बरमा ब्याटिङ गरेका नन्दनले ५७ बलमा ७ चौका र २ छक्कासहित ६० रनको नटआउट इनिङ्स खेले । आदिलले ३४ रन बनाए । सोनु ५ रनमा अविजित रहे ।

वाग्मतीको जितपछि फाइनल दौड सबै टिमका लागि खुला भएको छ । यसअघि दुवै खेल जितेको एपीएफले यो खेल जितेको अवस्थामा लगभग फाइनल पक्का थियो । कप्तान शरदले टिममा इन्ज्युरीको समस्याले नतिजामा असर परेको दाबी गरे । ‘हाम्रो टोलीका आधाभन्दा बढी खेलाडी पूर्ण फिट छैनन् । अघिल्ला खेलहरूमा राम्रो लयमा थियौं र यो खेल पनि जित्न असम्भव थिएन । अन्तिम ओभरसम्म लाने प्रयास गरेका थियौं, सम्भव भएन,’ एपीएफका कप्तान शरदले भने ।

मूलपानीमा भएको अर्को खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको संघर्षपूर्ण जित निकाल्यो । यो नतिजापछि पुलिस र एपीएफको ३ खेलबाट समान ४ अंक भएको छ । अन्य तीन टिमको समान २ अंक छ । काठमाडौं मेयर–११ ले एक खेल कम खेलेको छ ।

टस जितेर ब्याटिङ गरेको आर्मी ३०.१ ओभरमा ८७ रनमै अलआउट भयो । लोकेश बमले अन्तिम क्रममा ३२ रन जोड्नुबाहेक अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् । २०.३ ओभरमा ४३–८ को कठिन स्थितिमा पुगेको आर्मीका लागि विक्रम सोब र लोकेशले नवौं विकेटमा ४१ रनको साझेदारी गरेका थिए । विक्रमले १४ रन बनाए । आर्मीका ८ ब्याट्सम्यान दोहोरो अंकमा रन छुन सकेनन् । पुलिसका सागर ढकालले ५ विकेट झारे । उनले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चिए । पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए ।

थोरै लक्ष्य भए पनि पुलिसलाई कठिन भयो । सुनील धमला र दिलीप नाथले दोस्रो विकेटमा ४१ रनको साझेदारी गरेका थिए । आठौं ओभरमा ४८–२ को स्थितिमा रहेको पुलिस १२ औं ओभरमै ६०–६ को अवस्थामा पुग्यो । पवन सर्राफले २६ बलमा अविजित २२ रन जोडेपछि पुलिसले १८.३ ओभरमा जित पाएको हो । आफ्नो इनिङ्समा ३ चौका र १ छक्का प्रहार गरेका पवन म्यान अफ द म्याच चुनिए । आर्मीका लागि शाहब आलमले सबै अर्थात ७ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै ४५ रन खर्चिए ।

प्रकाशित : फाल्गुन २६, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?