प्रधानमन्त्री कप भलिबलको उपाधि एपीएफलाई

विनोद पाण्डे, रुपा गहतराज

नेपालगन्ज — नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग लगातार हारको बदला लिँदै सगरमाथा सिमेन्ट सातौं प्रधानमन्त्री कप महिला आमन्त्रण भलिबल प्रतियोगिता जितेको छ । मंगलबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा एपीएफले पुलिसलाई सोझो सेटमा हराएको थियो ।

प्रधानमन्त्री कप भलिबलको उपाधि एपीएफलाई

एपीएफले नेपालगन्ज रंगशालास्थित कभर्डहलमा पुलिसलाई २५–२२, २५–२१, २५–१९ ले हराएर उपाधि जितेको हो । राउन्ड रोबिनको अन्तिम खेल भए पनि अंकका आधारमा जो जित्यो उसैले उपाधि जित्ने भएकाले एपीएफ र पुलिसबीचको खेल फाइनलसरह बन्यो । अन्तिम खेलअघि दुवै टोलीले आफ्नो तीनै खेल जितेका थिए ।

एपीएफ सर्वाधिक १२ अंकसहित विजेता बनेको हो । एपीएफले खेलेका सबै चार खेलमा पूरै १२ अंक जोड्यो । पुलिसको ८ अंकमात्र भयो । होङ्गान्जी न्यु डायमन्डले घरेलु टोली नेपालगन्ज युनाइटेडलाई २५–१६, २५–२१, २५–१३ ले पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो । न्यु डायमन्डसँग ७ अंक रह्यो भने त्रिभुवन आर्मी क्लब ३ अंकसहित चौथो स्थानमा समेटियो । लुम्बिनी युनाइटेडले एकै खेल जित्न सकेन ।

मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता जितेर एपीएफले ५ लाख रुपैयाँ पायो । एपीएफले समग्रमा तेस्रो पटक यो प्रतियोगिता जितेको हो । टोलीले दोस्रो र पाँचौं संस्करण जितेको थियो । गत वर्षको विजेता पुलिसले अन्तिम खेलमा कुनै अवसर नै बनाउन सकेन । पुलिसले २ लाखमै चित्त बुझायो । न्यु डायमन्डले १ लाख र आर्मीले ५० हजार पाए ।

‘हाम्रो मुख्य हतियार ब्लक हो, यो खेलमा राम्रो ब्लक भयो । सुरुआतमा ब्लक हुन सकेको थिएन । स्पाइक पनि राम्रो भयो, ब्लक भएर काउन्टर खेलेपछि हामी त्यत्तिकै जितिहाल्छौं,’ एपीएफका प्रशिक्षक महेश चौधरीले भने, ‘पुलिसमा सबै उस्तै उस्ता खेलाडी छन् । हामीले क्विकलाई लक्ष्य बनाएका थियौं । उनीहरूको मनीषा चौधरी र कोपिला राना दुवै क्विक हाम्रोभन्दा छरिता थिए ।’


एपीएफले पुलिससँग लगातार तीन खेलको हार यात्रा टुंग्याएको हो । अघिल्लो महिना पुलिसले एपीएफलाई पोखराको टाइगर कपको समूह चरण र फाइनलमा पराजित गरेको थियो । गत वर्ष यसै प्रतियोगिताको फाइनलमा पनि पुलिसले एपीएफलाई नै हराएको हो । त्यतिबेला सरस्वती चौधरीले चोटका कारण फाइनल गुमाइन् भने कप्तान विनीता बुढोथोकी तेस्रो सेटमा घाइते भएकी थिइन् । उनै सरस्वती उत्कृष्ट खेल्दै प्लेयर अफ द फाइनल बनिन् । प्रशिक्षक चौधरी टाइगर कपमा आफ्नो टोलीको रिसिभ नपुगेको बताउँदै भन्छन्, ‘पुलिसविरुद्ध रिसिभ ठिकै भए पनि ब्लक धेरै राम्रो भयो ।’

पुलिसले ८–५ को अग्रतासहित खेल सुरु गरेको थियो । त्यसपछि एपीएफले पुलिसलाई खासै अवसर दिएन । यता पुलिसको दोस्रो सेटमा पनि गल्तीहरू निरन्तर भइरह्यो । दोस्रो सेटमा २०–२१ ले पछाडि परेको एपीएफले लगातार ६ अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । पुलिसको चुनौतीलाई एपीएफले तेस्रो सेटमा सजिलै पन्छाएको थियो । पुलिसका प्रशिक्षक रुपेश विष्टले भने, ‘हाम्रो मुख्य भनेको बीचका खेलाडी हुन्, उनीहरू रिसिभबिना चल्न सकेनन् र आपसी तालमेल पनि बिग्रियो । मनीषा (चौधरी) र कोपिला (राना) को बल रिसिभ नै भएन ।’ नेपालका चार टोली कुनै पनि खेल जित्न सक्षम रहेको बताउँदै उनले भने, ‘एपीएफ उपाधिलाई योग्य टोली हो । जित हार भनेको भइहाल्छ ।’

एपीएफकी सरस्वती उत्कृष्ट खेलाडी चुनिन् । उनले २५ हजार पुरस्कार पाइन् । विधागत उत्कृष्टमा पुलिसकी उषा भण्डारी स्पाइकर, एपीएफकी हीरा केसी ब्लकर, पुलिसकी कमला पुन सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ठ लिबेरो, न्यु डायमन्डकै प्रतिभा माली सर्भरमा पुरस्कृत भए । एपीएफका महेश चौधरीले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाए । सबैले जनही ५ हजार थापे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, उपप्रमुख उमा थापामगर, लुम्बिनी प्रदेशका सभासद कृष्णा केसीलगायतले पुरस्कृत गरे ।

प्रकाशित : फाल्गुन २५, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?