३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रधानमन्त्री कप भलिबल : फाइनलमा एपीएफ र पुलिस भिड्ने

विनोद पाण्डे, रुपा गहतराज

नेपालगन्ज — नेपाल पुलिस र एपीएफ क्लबबीच सगरमाथा सिमेन्ट सातौं प्रधानमन्त्री कप महिला आमन्त्रण भलिबलको निर्णायक खेलमा प्रतिस्पर्धा हुने भएको छ । दुवै विभागीय टोलीले सोमबार तेस्रो चरणमा आ–आफ्नो खेलमा जित हात पारेपछि अन्तिम खेल निर्णायक हुने भएको हो ।

प्रधानमन्त्री कप भलिबल : फाइनलमा एपीएफ र पुलिस भिड्ने

एपीएफले नेपालगन्ज रंगशालास्थित कभर्डहलमा होङ्गान्जी न्यु डायमन्डलाई २३–२५, २५–१३, २५–१७, २५–२२ ले पराजित गर्‍यो । यो हारसँगै न्यु डायमन्ड उपाधि दौडबाट बाहिरिएको हो । हार नजिक पुगेको पुलिसले त्रिभुवन आर्मीमाथि १५–२५, २५–१८, २७–२५, २५–२३ को जित पायो ।

लिगका तीन खेलबाट एपीएफले ९, पुलिसले ८ र न्यु डायमन्डले ४ अंक बटुलेका छन् । सबै ४ खेल खेलेको आर्मीको ३ अंकमात्र छ । घरेलु टोली लुम्बिनी युनाइटेडले पहिलो तीन खेल नै हारिसकेको छ । राउन्ड रोबिन लिगमा मंगलबार अन्तिम दिन एपीएफ र पुलिस आमनेसामने हुनेछन् त्यसले विजेता टुंगो लगाउने छ । राउन्ड रोबिन लिगमा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन हुने प्रावधान छ । पुलिस र एपीएफमा जसले खेल जित्छ त्यसैले उपाधि जित्ने समीकरण बनेको छ । पुलिसले ३ सेट वा ३–१ ले जितेमा सोझै उपाधि जित्नेछ । एपीएफले जुनै समीकरणको जित पाए पनि उपाधि हात पार्नेछ । तर पुलिसले ३–२ सेटले जितेमा दुवै टोलीको १०–१० अंक हुनेछ । यस्तोमा सेटमा हेड टु हेड हेरिनेछ ।

पहिलो सेटमा पछाडि परे पनि एपीएफले उत्कृष्ट पुनरागमन गरेको थियो । उपाधि दौडमा टिकिराख्न न्यु डायमन्डलाई सोमबार खेल जित्नैपर्ने थियो । एपीएफले प्रतिभा मालीलाई ब्लक गर्दै डायमन्डलाई कुनै अवसर नै दिएन । पहिलो दुई खेलमा डिफेन्स कमजोर देखिएको डायमन्डले एपीएफविरुद्ध पनि त्यही गल्ती दोहोर्‍यायो । ‘हाम्रो मुख्य भनेको ब्लक हो, यसमा हामी जमेका थियौं । पहिलो सेटमा हाम्रो रिसिभ अलिक कमजोर थियो, हार्नुको कारण त्यही थियो । हामीले ब्लकमा प्रतिभालक्षित गरेर ब्लक गरेका थियौं । दुईटा ब्लक गर्‍यो भने प्रतिभा खासै चल्न सक्दैनन् भन्ने हामीलाई थाह थियो,’ एपीएफका प्रशिक्षक महेश चौधरी पुलिसलाई हराएर उपाधि जित्नेमा आशावादी छन् ।

गत वर्ष एपीएलाई नै फाइनलमा पराजित गर्दै पुलिसले यो उपाधि जितेको थियो । पोखरामा गत महिना पुलिसले टाइगर कपको समूह चरण र फाइनलमा एपीएफलाई पराजित गरेको थियो । गत वर्ष प्रधानमन्त्री कप फाइनलमा पुलिसविरुद्ध खेल्दा विनिता बुढाथोकी घाइते भइन् । त्यसपछि विनिताले पोखरामा पुनरागमन गरेकी हुन् । त्यसमा उनी खासै जमेकी थिइनन् । न्यु डायमन्डविरुद्ध उनै विनिता प्लेयर अफ द म्याचमा चुनिइन् ।

फाइनल जित्ने एपीएफको एक आधारमा पुलिसले विनिताको प्रदर्शन पनि हेरेको छ । ‘पुलिसको सबै राम्रो छ, सबै खेलाडी युवा छन् । उनीहरूको फिटनेस राम्रो छ । हाम्रो त अझै फिटनेस राम्रो छैन । लकडाउनमा घर गएका खेलाडीहरू मोटाएर आएका छन्,’ प्रशिक्षक चौधरीले भने, ‘तर हामी जित्नेमा निकै आशावादी छौं । पुलिस र एपीएफ दुवै उस्तै हुन् । हामीले आजको जस्तो प्रदर्शन दिने हो भने पुलिसलाई जित्न खासै गाह्रो हुँदैन ।’

प्रकाशित : फाल्गुन २४, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?