हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितिन्

कान्तिपुर संवाददाता

काठमाडौँ — १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको प्रथम महिला हाफ म्याराथन दौड प्रतियोगिताको उपाधि धादिङकी रसिला तामाङले जितेकी छन् ।

हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितिन्

धार्मिक पर्यटकीय स्थल व्यास–३ स्थित व्यासगुफादेखि ऐतिहासिक स्थल व्यास–११ को तनहुँसुरसम्मको २१ किलोमिटरको दूरी एक घन्टा ४९ मिनेटमा पार गरी रसिलाले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा खोटाङकी प्रिया राई द्वितीय र पोखराकी अनिता राई तृतीय भएका छन् । उनीहरुले उक्त दूरी क्रमश: एक घन्टा ४९ मिनेट १ सेकेन्ड र एक घन्टा ५५ मिनेट ३२ सेकेन्डमा पार गरेका थिए । यस्तै, कालीकोटकी विशेषता ऐडी, व्यासकी नम्रता गुरुङ, ऋषिङकी सीता रानाभाट, भक्तपुरकी आयुषा श्रेष्ठ र ओखलढुंगाकी पदमकुमारी सुनुवार सान्त्वना भएका छन् । उनीहरुले सो दूरी क्रमश: एक घन्टा ५५ मिनेट ५७ सेकेन्ड, एक घन्टा ५८ मिनेट ४५ सेकन्ड, २ घन्टा ३५ सेकेन्ड, २ घन्टा ३ मिनेट १९ सेकेन्ड र २ घन्टा ८ मिनेट २८ सेकेन्डमा पार गरेका थिए ।

५६ जना महिला धावकको सहभागीता रहेको प्रतियोगिताका विजेताहरुलाई नगरपालिकाले प्रथमलाई ४१ हजार ७७, द्वितीयलाई ३१ हजार ७७, तृतीयलाई २१ हजार ७७ रुपैयाँ र सान्त्वना भएका ५ जनालाई प्रतिव्यक्ति ११ हजार ७७ रुपैयाँ नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

व्यास गुफादेखि सुरु भएको हाफ म्याराथन दमौलीको सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वीराजमार्गको तालघरे, मुसेखोला, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक स्थल तनहुँसुर दरबारमा पुगेर सम्पन्न भएको थियो ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री एवं गण्डकी प्रदेशकी सदस्य आशा कोइरालाले खेलकुदले मानिसलाई स्वस्थ बनाउने साथै अन्तर्राष्ट्रिय स्तरसम्म परिचितसमेत गराउने बताइन् । ‘अवसर आफै आउँदैन, अवसर लिनका लागि हामी पनि लागि पर्नुपर्छ,’ उनले भनिन्, ‘हामीभित्र भएको सीप, दक्षता, जाँगरका साथ हरेक चुनौतिसँग लड्दै अगाडि बढे महिलाहरुले हरेक क्षेत्रमा सफलता हासिल गर्न सक्दछन् ।’

प्रकाशित : फाल्गुन २४, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?