कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जब हार्नेको समर्थनमा दर्शक उत्रिए

मधु शाही

बाँके — पहेंलो जर्सीको हार निश्चित थियो । प्रतिस्पर्धामा उत्रिएको सेतो जर्सी टिम जित्नेमा ढुक्क थियो । नेपालगन्ज रंगशालाको कभर्डहलका दर्शकको प्रतिक्रिया ठीक उल्टो देखिन्थ्यो । दर्शकको पूरै समर्थन जित्ने भन्दा हार्नेको पक्षमा झल्किन्थ्यो । लुम्बिनी युनाइटेडका खेलाडीले एपीएफ (सेतो जर्सी) का खेलाडीलाई थोरै मात्रै खेलमा टिकाउन सके भने पनि दर्शक खुसी हुन्थे ।

जब हार्नेको समर्थनमा दर्शक उत्रिए

ठूलो स्वरमा ताली, सिठी र थपडी बजाउँथे, हौस्याउँथे । ‘नानीहरूले हारे पनि राम्रै प्रयास गरेका हुन्,’ दर्शकदीर्घामा बसेका निशान आचार्यले भने, ‘यति समय टिक्नु नि ठूलै हो ।’ कभर्डहलमा आइतबार पाँचौं प्रधानमन्त्री राष्ट्रिय महिला भलिबलमा आयोजक लुम्बिनी र एपीएफबीच प्रतिस्पर्धा भएको थियो । दर्शकले खेलमा हार्ने र जित्ने टोलीको सिधै अनुमान लगाइसकेका थिए । भलिबल नै जीवनको मुख्य लक्ष्य बनाएका राष्ट्रियस्तरका खेलाडीसँग लुम्बिनीका खेलाडीले कसरी डिफेन्स (प्रतिरक्षा) गर्छन् भन्ने हेर्न दर्शक आतुर थिए ।

त्यसैले अभ्यास गर्न नपाई मैदानमा उत्रिएका लुम्बिनीका खेलाडीप्रति दर्शकको सहानुभूति बढी देखिन्थ्यो । खेल लगातार चल्यो, एपीएफले पहिलो सेट २५–१५ जित्यो । दोस्रो र तेस्रो सेटमा लुम्बिनीले क्रमशः १२ र ८ अंकभन्दा बढी बटुल्न सकेन । लुम्बिनीले हारे पनि दर्शकको प्रशंसा भने जितेसरह पाएको थियो ।

लुम्बिनीकी कप्तान शर्मिला नेपाली खेल्न पाउनुमै दंग थिइन् । ‘हामी जहिले पनि हार्नकै लागि खेल्न आउँछौं’, उनले सुनाइन्, ‘तर परिपक्व खेलाडीहरूसँग खेल्न पाउँदा धेरै सिक्ने अवसर पाइन्छ । त्यसैमा खुसी लाग्छ ।’

आयोजक टिम लगातार तीन वर्षदेखि प्रधानमन्त्री राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुँदै आएको छ । उनीहरू प्रत्येक वर्ष सहभागी हुन्छन् तर सफलता भेट्टाएका छैनन् । प्रतियोगिता सुरु हुने एक दिनअघि मात्रै उनीहरूले प्रतियोगितामा सहभागी हुने जानकारी पाएका थिए ।

दाङकी १७ वर्षीया खेलाडी राधिका बुढाथोकीले खेल हुँदा आयोजकले खेलाडीलाई भेटेर उत्साह दिनसमेत नआएको गुनासो गरिन् । आयोजकले दिएको हाफ पाइन्ट पनि घुँडासम्म लामो भएकाले आफ्नै पहिरन लगाउन बाध्य भएको उनले सुनाइन् । दाङ, रूपन्देही र बाँके गरी तीन ठाउँका खेलाडी एकै दिन भेट भएका हुन् । कुनै अभ्यासबिना उनीहरू मैदानमा उत्रिए । त्यसैको परिणामस्वरूप खेलमा बल पास कसले कसरी गर्छ ? कुन तरिकाले खेल्ने ? भन्ने पक्षमै अलमल देखिन्छ । चिनजान गर्न नपाउँदा कोर्टमा आफ्नै साथी खेलबारे अन्योलमा पर्नुपरेको राधिकाले सुनाइन् । उनको अनुभवमा टिमबीच अभ्यास नहुँदा अलमल परिन्छ । ‘एक सातामात्रै टिम म्याच हुन पाएको भए हामीले धेरै सिक्ने थियौं,’ उनी भन्छिन्, ‘आयोजकले कुनै वास्तै गर्दैन ।’

भलिबल संघ बाँकेका अध्यक्ष टीएस ठकुरीले आयोजक टिम भनेर खेल्न अवसर दिनसम्म सकिने बताए । यद्यपि खेलाडीको ग्रुमिङ गर्ने विषयमा प्रदेशस्तरीय राखेप समिति, संघलगायतका प्रदेश एवं जिल्लास्तरमा राखिएका खेल समितिले जोड दिनुपर्ने हो । आयोजक टिमको गुणस्तर देखाउन प्रशिक्षकलाई पटक–पटक खेलाडी बोलाएर अभ्यास गराउन आफूले अनुरोध गरेको भए पनि खासै वास्ता नभएको उनको तर्क थियो ।

‘आयोजकले खेल्ने स्थान दिने हो, खेलाडी आफैं तयार हुन जरुरी छ,’ ठकुरीले भने, ‘यद्यपि खेलाडी उत्पादनमा खेलकुद परिषद्ले सोच्नुपर्ने विषय हो ।’ यसले विभागीय टिमबाहेक नयाँ अनुहारका खेलाडी मैदानमा देखिने सम्भावना न्युन रहने उनले बताए । राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकले नै अभ्यास दिने, नयाँ खेलाडी उत्पादन गर्ने र गुणस्तर खेलाडी बनाउने जिम्मेवारी पाएका छन् । ठकुरी भन्छन्, ‘प्रशिक्षकले प्रशिक्षणमा जाँगर गर्दैनन्, त्यसैले खेलाडी उत्पादन हुन नसक्नु देशभरकै समस्या हो ।’

प्रकाशित : फाल्गुन २४, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?