कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खेलमार्फत महिला सशक्तीकरण अभियान

रूपा गहतराज

नेपालगन्ज — मिस नेपाल, लुम्बिनी प्रदेशसभा सदस्य, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर, कोहलपुर नगरपालिका उपमेयरदेखि बाँकेका स्थानीय निकायका अन्य प्रतिनिधिहरूले आसन ग्रहण गरिसकेका थिए । मञ्चमा आसीन ८ जना नै महिला थिए ।

खेलमार्फत महिला सशक्तीकरण अभियान

हरेक नेतृत्वमा पुरुषको सहभागिता अनिवार्य देखिन्छ । महिलालाई विकल्पका रूपमा सहभागिताका लागि उपस्थिति गराउने परम्परा पुरानै हो । तर सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबलको मुख्य बागडोर महिलाले सम्हालेका छन् । मञ्चमा रहेका सबै प्रधानमन्त्री कपका मुख्य आयोजकहरू हुन् ।

मिस नेपाल नम्रता श्रेष्ठ प्रतियोगिताकी सद्भाव दूत, लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी संयोजक, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर उपसंयोजक तथा स्थानीय निकायका अन्य पदाधिकारी प्रतियोगिता आयोजक समितिका सदस्य हुन् । प्रधानमन्त्री कपलाई सशक्तीकरणको रूपमा हेरिएको छ । प्रतियोगिताको मूल आयोजकमा महिला नेतृत्वलाई अगाडि सार्नुको कारण यही नै हो । महिला सशक्तीकरणमा मद्दत पुरर्‍याउने उद्देश्यसाथ सभासद कृष्णा केसीको नेतृत्वमा मूल आयोजक समितिमा बाँकेका ८ पालिकाका उपाध्यक्षको सहभागिता छ ।

सभासद केसीले नेतृत्व तहमा महिलाहरूको सहभागिता बढाउन पनि आफूले नेतृत्व लिएको बताइन् । ‘महिलालाई राज्यको हरेक निकायमा ५० प्रतिशत सहभागिता सुनिश्चितता कायम गर्न यसले दबाब पुर्‍याउने छ,’ उनले भनिन्, ‘अहिले राज्यका निकायहरूमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने भनिएको छ, विडम्बना माथिल्लो तहहरूमा कुनै महिला को सहभागिता देखिँदैन ।’

उनले महिलाले नै नेतृत्व लिएकाले यो प्रतियोगिताबाट महिला खेलाडीको व्यावसायिकता सुनिश्चित गर्न पुरस्कार राशि बढाइएको बताइन् । आफैं खेलाडीदेखि पूर्व खेलपत्रकार रहेकी नेपालगन्ज उपमहानगरकी उमपेयर उमा थापामगरले महिलालाई स्थापित गराउन पनि प्रधानमन्त्री कपलाई सशक्त बनाउन जरुरी रहेको बताइन् ।

‘उपमहानगरबाट खेल र खेलाडीका लागि नीतिगत प्रयास गरेका छौं,’ उनले भनिन्, ‘जिल्लाको प्रतिनिधित्व गर्दै जाने खेलाडीलाई आर्थिक अवस्था बलियो पार्दै जित्ने खेलाडी खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरेका छौं ।’

दक्षिण एसियाको क्लब च्याम्पियनसिप भलिबलका रूपमा प्रधानमन्त्री कपलाई स्थापित गर्ने उद्देश्यसाथ आयोजनामा विशेष ध्यान दिइरहेको जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बताए । ‘खेलकुदमार्फत कसरी महिला सशक्तीकरण बढाउने भन्नेबारे चासो दिइरहेका छौं,’ उनले भने, ‘महिलाको प्रतिनिधित्वलाई कसरी बलियो बनाउने भन्ने नै प्रतियोगिताको उद्देश्य हो ।’

संयोजक केसीले १ सय १ सदस्यीय मूल आयोजक समिति रहेको र त्यसमा ७० प्रतिशत महिला राख्न पहल भइरहेको जनाइन् ।

पुलिसको जित

साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । पुलिसले पाँच सेटको रोमाञ्चक प्रतिस्पर्धामा शुक्रबार उपाधिको अर्को दाबेदार होङ्वान्जी न्यु डायमन्ड एकेडेमीको चुनौतीलाई पन्छाएको हो ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा पहिलो सेट पुलिसले २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । पुलिसले ९–३ ले अग्रता लिइसकेको अवस्थामा डायमन्डले खेल १०–११ को स्थितिमा ल्याए पनि पुलिसले त्यसपछि कुनै अवसर दिएन । दोस्रो सेट डायमन्डले २८–२६ ले जित्यो ।

झन्डै दुई घण्टा चलेको खेलको तेस्रो सेटमा फेरि पुलिस खेलमा फर्कियो र सेटमा २५–१९ को नतिजा निकाल्यो । पुलिसले १८–१८ को स्थितिबाट लगातार ५ अंक जोडेको थियो । चौथो सेट डायमन्डले २५–१७ ले आफ्नो पक्षमा पारेपछि खेल लम्बिएको थियो ।

प्लेयर अफ द म्याच कोपिला रानाप्रेरित पुलिसले निर्णायक सेट १५–८ ले आफनो पक्षमा पारेर प्रतियोगितामा सुखद सुरुआत गर्‍यो । जितपछि पुलिसले २ र न्यु डायमन्ड एकेडेमीले एक अंक प्राप्त गरेका छन् । पाँच सेटको प्रतिस्पर्धामा चलेकाले पराजित न्यु डायमन्डलाई १ अंक प्रदान गरिएको हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले स्थानीय टोली लुम्बिनी युनाइटेडलाई सोझो तीन सेटमा हरायो । आर्मीले २५–८, २५–८, २५–७ ले खेल आफ्नो पक्षमा पारेको थियो । आर्मीले जितसँगै ३ अंक बटुलेको छ । आर्मीकी सोफिया पुन प्लेयर अफ द म्याचमा चुनिइन् ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?