कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपालगन्जमा खेलकुदले लय समाउँदै

प्रधानमन्त्री कप महिला आमन्त्रण भलिबलको उद्घाटन समारोहमा प्रस्तुति दिन आएका विद्यार्थीको हुटिङले प्रतिस्पर्धा झन् तातेको थियो ।
मधु शाही

बाँके — एक वर्ष पहिले नेपालगन्ज सहर कोरोना त्रासमा थियो । बाहिर निस्किएर खुला डुल्नै डर थियो । वडा–७ ज्वलनपुर्वा टोलमा धर्म गुरुलाई पहिलोपल्ट कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँके जिल्ला नै कोरोना हटस्पटको रूपमा चिनियो । त्यसलगत्तै दक्षिणतर्फ भारतको सीमासँगै जोडिएको नरैनापुर गाउँपालिकामा कोरोनाका कारण क्वारेन्टाइनभित्रै एक युवकको मृत्यु भएपछि स्थिति झनै त्रासपूर्ण बन्यो ।

नेपालगन्जमा खेलकुदले लय समाउँदै

दैनिक जनजीवन ठप्प भइरहँदा यहाँ खेल गतिविधि ठप्प भए । वैशाखमा उद्घाटन भएको अन्तर्राष्ट्रिय स्तरको रंगशाला प्रयोगविहीन हुँदा भौतिक संरचनामा खिया लागे । तर अहिले यहाँ खेल गतिविधिले विस्तारै लय लिन थालेको छ । कोभिड–१९ को डरत्रासले थलिएको नेपालगन्जको रंगशाला अहिले भरिभराउ छ । दाबेदार नेपाल पुलिस क्लबको समर्थनमा शुक्रबार नेपालगन्ज रंगशालास्थित कभर्डहलमा राम्रै हुटिङ चलेको थियो । प्रधानमन्त्री कप महिला आमन्त्रण भलिबलको उद्घाटन समारोहमा प्रस्तुति दिन आएका विद्यार्थीको जोडदार हुटिङले न्यु डायमन्ड क्लबको खेल पनि तातेको थियो । कोरोना कहर अटेरी हुँदैन । त्यसैको परिणामस्वरूप बाँकेमा खेलका गतिविधिले तीव्र रूप लिन थालेका छन् ।

सरकारले कोरोनापछि खेल गतिविधि गर्न अनुमति दिएपछि पहिलो चरणको सुरुआत नेपालगन्जबाट भयो । मंसिर ६ मा कोरोना संक्रमणको चुनौती खेप्दै सावधानीका साथ क्रिएटिभ ह्यान्डसले ‘नेपालगन्ज म्याराथन’ आयोजना गरेको थियो । टोकियो ओलम्पिकमा प्रतिनिधित्व गराउने भएकाले पनि यो प्रतियोगिता कोरोना कहरबीच विशेष बनेको आयोजक टीएस ठकुरी बताउँछन् । उनका अनुसार प्रतियोगिताको मुख्य मेरुदण्ड नै खेलाडी हुन् । उनीहरूको अभ्यास जति हुनसक्छ त्यति प्रतियोगिताको लोकप्रियता बढ्छ । कोरोनाले घरभित्रै बसेका खेलाडीलाई खेल मैदानसम्म ल्याउन निकै मिहिनेत गर्नुपरेको थियो ।

‘म्याराथन गर्दा धेरै खेलाडीले अभ्यास नभएको भन्दै खेल्न सहभागिता जनाएनन्,’ ठकुरी भन्छन्, ‘अहिले पनि त्यसको प्रभाव छ ।’ शारीरिक र मानसिक रूपमै खेलप्रतिको मोह घट्ने हो कि भन्ने चिन्ताले सताउँदा इभेन्ट सुरु गर्न आवश्यक ठानेको उनले बताए । ‘कोरोनापछि खेलकुदको विस्तारै गति लिँदै छ,’ उनले भने, ‘पोखरापछिको ठूलो इभेन्ट नेपालगन्जमै भएको छ ।’

खेलपत्रकार कमल खत्रीले कोरोनाले सबैभन्दा बढी क्रिकेट र भलिबल खेलाडीलाई समस्यामा पारेको बताए । ‘धेरैजसो क्रिकेट र भलिबलका प्रतियोगिता हुन्थे, जसले दैनिक जीवन धान्न खेलाडीलाई सघाउ पुग्थ्यो, तर कोरोनाको प्रभाव त्यो नहुँदा उनीहरू मर्कामा परे,’ खत्रीले भने । आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको नेपालगन्ज रंगशालामा पौडी पोखरी उद्घाटनमात्रै भएको थियो । खेलकुद परिषद्को मुख्य आयस्रोत नै पौडीपोखरी भए पनि कोरोनाले एक वर्षसम्म ठप्प बनायो । अहिले पुनः पौडीपोखरी सञ्चालनमा आउँदै छ ।

यसबीचमा खेलाडीले मैदानसम्म आएर खेल्न पाएनन् । जसले गर्दा अधिकांश व्यावसायिक खेलाडी पलायन भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द बताउँछन् । ‘अब खेलले गति लिने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘अहिले दैनिक ३० देखि ३५ खेलाडी नियमित प्रशिक्षणमा छन् ।’

यसै साता ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । अहिले सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल सुरु भएको छ । प्रमुख चन्दका अनुसार फागुन २६ गते पौडी पोखरीको पुनः उद्घाटन गरिने छ । त्यसपछि स्कुलस्तरीय पौडी प्रतियोगिता गरेर सर्वसाधारणलाई खेल्न दिइने योजना उनले सुनाए । कोरोनाले थाँती राखिएको राष्ट्रपति रनिङ सिल्ड खेलकुदको तयारी भइरहेको उनले बताए । स्थानीय तहमा फागुन २२ देखि प्रतियोगिता सुरु गरेर राष्ट्रिय प्रतियोगिता रंगशालामा गरिनेछ । खास गरी कोरोना महामारीले परेको आर्थिक भार कम गर्न पौडी प्रतियोगिता तीव्र बनाउनुपर्ने उनको धारणा छ । ‘गर्मीको मौसममा छोपेर सर्वसाधारणलाई सःशुल्क सुविधा दिए आयआर्जनको गतिलो आधार बनाउने छौं,’ उनले भने, ‘कोरोनाले थलिएका खेलकुदलाई ब्युँताउँदै छौं ।’

प्रकाशित : फाल्गुन २२, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?