कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सातदोबाटो बढुवा नजिक

कान्तिपुर संवाददाता

काठमाडौँ — सातदोबाटो युवा क्लब एन्फा कम्प्लेक्समा भइरहेको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार बाँसबारी क्लबलाई ४–१ ले हराएर अपराजित यात्रा कायम राख्दै बढुवा नजिक पुगेको छ । असिम राईले पेनाल्टी क्षेत्र नजिकबाट गोल गरेपछि ११ औं मिनेटमा सातदोबाटोले अग्रता लिएको थियो । बाँसबारीका असिम श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफको इन्ज्युरी टाइममा सातदोबाटोको अग्रता दोब्बर भएको थियो ।

सातदोबाटो बढुवा नजिक

प्रवेश बस्नेतले ५४ औं मिनेटमा तेस्रो गोल गर्दै सातदोबाटोको जित निश्चित गरे । दिनेश राईले ६३ औं मिनेटमा चौथो गोल गरे । बाँसबारीका लागि निशान सुनारले ६९ औं मिनेटमा सान्त्वना गोल गरे ।

आठ जित र एक बराबरीसँगै २५ अंक बनाएको सातदोबाटोले बाँसबारीमाथिको सफलतासँगै ३ अंकको स्पष्ट अग्रता लियो । खुमलटार (२२ अंक) दोस्रो र बाँसबारी (१८) तेस्रोमा छ । दोस्रो हारपछि बाँसबारीको ‘बी’ डिभिजन च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लिने सम्भावना समाप्त भयो । दुई खेल बाँकीको अवस्थामा उसले अब दुवै खेल जिते पनि सातदोबाटोलाई भेटाउन सक्ने छैन ।

सातदोबाटो बाँकी दुई खेलमा एक जितमात्रै हात पार्न सके पनि च्याम्पियन हुनेछ । उसले मध्यपुर र आरसीटीविरुद्ध खेल्न बाँकी छ । तीन अंक पछाडि रहेको खुमलटारले श्रीभगवती र बाँसबारीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अंक बराबरी गरे पनि खुमलटारले सातदोबाटोलाई उछिन्न सक्ने छैन । किनभने आपसी भेटमा सातदोबाटोले ३–२ को जित निकालेकाले अंक बराबरी गर्न सके पनि खुमलटार ‘हेड टु हेड’ मा पछाडि पर्नेछ ।

शुक्रबार दोस्रो खेलमा मध्यपुरले पुल्चोक स्पोर्ट्सलाई ३–२ ले हरायो । लगातार तेस्रो जितसँगै मध्यपुर १० अंक जोड्दै सातौं स्थानमा उक्लियो । नवौं चरणसम्म जितविहीन एक्लो टिम पुल्चोक २ अंकसहित पुछारमा छ । अब रेलिगेसन टार्ने पुल्चोकको सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ । पुल्चोकको ‘बी’ डिभिजनमै अडिन झम्सीखेल (६ अंक) लाई उछिन्नुपर्नेछ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?