क्लब भलिबल लिगलाई राष्ट्रिय वाणिज्य बैंकको साथ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भलिबल संघले आयोजना गर्ने ‘राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल लिग’लाई मुख्य प्रायोजकका रूपमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले निरन्तर साथ दिएको छ ।

क्लब भलिबल लिगलाई राष्ट्रिय वाणिज्य बैंकको साथ

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा चैत १९ देखि २६ सम्म हुने लिगबारे बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिहीबार आयोजित कार्यक्रममा भने, ‘नेपालको भौगोलिक अवस्थितिअनुसार जहाँ पनि खेल्न सकिने भलिबल हाम्रो राष्ट्रिय खेल हुनुमा गौरव गर्नुपर्छ । यस खेलको विकासमा केही न केही गर्नुपर्छ भनेर हामीले सहयोग गरिरहेका छौं । संघले नयाँ प्रतिभा जन्माउँदै खेलको विकासमा अगाडि बढाएको योजनाबाट खुसी छौं ।’

भलिबल संघले राष्ट्रिय वाणिज्य बैंकसँग २०७४ सालमा दुई वर्षे सम्झौता गरेको थियो, त्यतिबेला बैंकले १०–१० लाख रुपैयाँ दिएको थियो । फेरि २०७६ सालमा दुईवर्षे सम्झौता भयो । अन्तिम वर्षको रूपमा यसपालि बैंकले क्लब भलिबल लिगलाई मुख्य प्रायोजन गरेको हो । पछिल्लो दुई वर्षे सम्झौता १२–१२ लाखको छ ।

यसबारे संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भने, ‘राष्ट्रिय वाणिज्य बैंक भनेको हाम्रो ढुकढुकी हो, मेरुदण्ड हो । सरकारले दिँदैन (पैसा), गोजीबाट कति हाल्ने (पैसा) ? पदाधिकारीले गोजीबाट हालेको र खोजेको प्रायोजनमार्फत् अन्तर्राष्ट्रिय प्रतियोगिताबाट कांस्य, रजत र स्वर्ण पदक ल्यायौं । यसमा ढाडस दिने काम राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो । यो बैंकपछि अरू पनि आए । उनीहरूले दिने १०–१२ लाखले खेलाडीको पेटमा अन्न जान्छ, त्योभन्दा ठूलो धर्म अरू हुँदैन ।’

गत वर्षको च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबसहित एपीएफ, पुलिस, आर्मी, नयाँबजार सामाजिक युवा, बुद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लब गरी पुरुषतर्फ आठ टिमले लिगमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ डिफेन्डिङ च्याम्पियन एपीएफसहित आर्मी, पुलिस, न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर महानगर खेलकुद परिषद् गरी ६ टिम सहभागी हुनेछन् । राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो स्थानमा रहने टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

पुरुषतर्फ २८ र महिलातर्फ १५ गरी खेल हुनेछ ।

पुरस्कारमा करिब तीन लाख वृद्धि गरी १२ लाख ९५ हजार बनाइएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउनेछन् ।’

पुरुष र महिलालाई समान पुरस्कारको व्यवस्था गरिएको लिगको सर्वोत्कृष्ट खेलाडीले २५–२५ हजार हात पार्नेछन् । उत्कृष्ट लिबरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकलाई १०–१० हजार दिइने बताइएको छ । मोफसलका दुई टिम (मणिमुकुन्द र चितवन) लाई व्यवस्थापनका लागि ५०–५० हजार दिने उनले बताए ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?