१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्री कप भलिबल आजदेखि

‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’
विनोद पाण्डे, रुपा गहतराज

नेपालगन्ज — तत्कालीन नेपाली कांग्रेसका नेता सुशील कोइराला ७ वर्षअगाडि नेपालको प्रधानमन्त्री भएसँगै खेलकुदमा प्रधानमन्त्री कपले प्रवेश पाएको थियो ।

प्रधानमन्त्री कप भलिबल आजदेखि

यसको सुरुआत स्व. कोइरालाको गृहनगर नेपालगन्जबाटै भएको थियो । बाँके जिल्ला भलिबल संघले २०७० प्रधानमन्त्री कपको सुरुआत गरेयता राष्ट्रका कार्यकारी प्रमुखको नाममा प्रतियोगिता हुने लहरै चलेको छ । प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता नै सातौं संस्करणमा आइपुगेको छ ।

महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार नारा दिइएको प्रधानमन्त्री कपको सातौं संस्करण शुक्रबारदेखि नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सुरु हुँदै छ । राजनीतिक रूपमा उठाइएका राज्यको सबै अंगमा महिला र पुरुषलाई समान हैसियतलगायतका विषय प्रधानमन्त्री कपबाट पुनः ब्युँत्याउन लागिएको लुम्बिनी प्रदेशका सभासद एवं मूल आयोजक समितिकी संयोजक कृष्णा केसी बताउँछिन् ।

आयोजक समितिकी सहसंयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले महिला सशक्तीकरण प्रतियोगिताको एउटै उद्देश्य भएको बताइन् । मिस नेपाल २०२१ एवं प्रतियोगिताकी सद्भाव दूत नम्रता श्रेष्ठले प्रधानमन्त्री कपले उठाएको महिला सशक्तीकरणको अभियानले आफूलाई अझ उत्साह मिलेको जनाइन् ।

नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होङ्वान्जी न्यु डायमन्ड र स्थानीय टोलीका रूपमा लुम्बिनी युनाइटेडले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिगमा सहभागी टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् । प्रतियोगिताको पहिलो संस्करण र पछिल्लो संस्करण विजेता पुलिसकी कप्तान कोपिला उप्रेतीले आफूहरू यसपालि पनि उपाधि जित्न आएको बताइन् ।

पुलिससँगै एपीएफ र न्यु डायमन्डलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । एपीएफकी कप्तान विनीता बुढाथोकी सामान्य अस्वस्थ भएपछि ट्रफी अनावरण समारोहमा अनुपस्थित रहेकी थिइन् । उनको स्थानमा एपीएफको कप्तानका रूपमा आएकी रेश्मा भण्डारीले पोखरामा हालै भएको टाइगर कपमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेको र त्यहाँ भएका गल्तीलाई यस प्रतियोगिताबाट सच्याउने बताइन् ।

एपीएफ फाइनलमा पुलिससँग पराजित भएको थियो । एपीएफले दोस्रो र पाँचौं संस्करण जितेको थियो । न्यु डायमन्ड तेस्रो र आर्मी टाइगर कपमा चौथो भएको थियो । आर्मीबाट दुई वर्षपछि कृपा अधिकारीले पुनरागमन गर्दैछिन् । नेपालगन्जमै दुई वर्षअगाडि भएको आठौं राष्ट्रिय खेलकुदयता नेपाली सेनाको तयारीका लागि गएपछि मैदानबाहिर रहेकी कृपाले आर्मीबाट प्रधानमन्त्री कपमा चुनौती तेर्स्याउने दाबी गरिन् ।

नेपाल राष्ट्रिय महिला भलिबल टोलीले गत वर्ष एभीसी सेन्ट्रल जोनमा स्वर्ण र गत वर्ष नै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेपछि आफूहरू उत्साहित भएको र प्रधानमन्त्री कपलाई माथिल्लो स्तरमा लैजान लागेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जनाए ।

प्रतियोगिता विजेताले ५ लाख नगद पाउनेछन् । यो मोफसलको महिला भलिबलमा सबैभन्दा ठूलो पुरस्कार राशि हो । सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । गत वर्ष विजेताले २ लाख पाएको थियो ।

तेस्रो र चौथो संस्करण संस्करण रेल्वे इन्डियाले जितेको थियो । तर यसपालि कुनै विदेशी टोली प्रधानमन्त्री कपमा हुने छैनन् । भारत र बंगलादेशको टोलीलाई बोलाउन प्रयास गरे पनि कोभिड–१९ का कारण अन्तिममा असफल भएको जिल्ला भलिबल संघका ठकुरी बताउँछन् । पाँचौं संस्करणमा बंगलादेशी क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?