श्रीलंकाविरुद्ध एकै ओभरमा पोलार्डको ६ छक्का

पोलार्ड अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी
इकान्तिपुर डेस्क

काठमाडौँ — वेस्ट इन्डिजका अलराउन्ड किरोन पोलार्डले श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा वेस्ट इन्डिजले श्रीलंकाविरुद्ध तीन खेलको टी–२० श्रृंखलामा १–० ले अगाडि रहेको छ । शृंखलाअन्तर्गत शनिबार र सोमबार बाँकी खेल हुनेछन् ।

श्रीलंकाविरुद्ध एकै ओभरमा पोलार्डको ६ छक्का

एन्टिगुवामा भएको खेलमा टस जितेर वेस्ट इन्डिजले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसांकले सर्वाधिक ३९ रन बनाएका थिए । त्यस्तै ओपनर निरोशन डिकवेलाले ३३ रन बनाएका थिए ।

मध्यम लक्ष्य पाएको वेस्ट इन्डिजले ४१ बल बाँकी छँदै ६ विकेटको क्षतिमा जित हात पारेको हो । एक समय लेग स्पिनर अकिला धनन्जयको बलिङले खेलमा श्रीलंका हाबी हुने देखिए पनि पोलार्डको विस्फोटक ब्याटिङअगाडि केही लागेन । धनन्जयले चौथो ओभरमा वेस्ट इन्डिजको तीन विकेट झार्दै ह्याट्रिक गरेका थिए । उनले चौथो ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमश: इविन लेविस, क्रिस गेल र निकोलस पूरनलाई आउट गरेका थिए । २ ओभर बलिङ गरेका धनन्जयले ३ विकेट लिँदै मात्र १७ रन दिएका थिए ।

इनिङ्सको छैटौं ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्न आएका धनन्जयलाई पोलार्डले लगातार ६ बलमा छक्का प्रहार गरी निरास बनाए । धनन्जयले आफ्नो अन्तिम ओभरको बलिङमा भने मात्र ९ रन दिएका थिए । ह्याट्रिक लिए पनि उनले ६२ रन खर्चिन पुगे । ५२ रनमा आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको वेस्ट इन्डिजको ब्याटिङलाई पोलार्डले सम्हालेका थिए ।

पोलार्ड अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो खेलाडी बनेका छन् । उनी टी–२० मा ६ छक्का हान्ने पहिलो वेस्ट इन्डियन खेलाडी पनि बनेका छन् ।

यसअघि भारतीय ब्याट्सम्यान युवराज सिंह र दक्षिण अफ्रिकी ब्याट्सम्यान हर्सल गिब्सले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले भने सन २००७ कै टी–२० विश्वकपमा इंग्ल्यान्डका बलर स्टुआर्ट ब्रोडलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

प्रकाशित : फाल्गुन २०, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?