प्रतिभा र केनिका सफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा बुधबार वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङको क्वाटरफाइनल पुगेका छन् । महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र जानुकाले दीपा शाहीलाई हराए ।

महिला ४८ केजीमै बोसिगाउँकी माया क्षत्रीले रसुवाकी रोनिता सिंह र नुवाकोटकी प्रगति थापाले काभ्रेकी रोशनी लावतीलाई पराजित गरी अन्तिम आठमा स्थान बनाए । ५१ केजीमा नुवाकोटकी प्रतिभा शाहीले बक्समान्डुकी सपना तामाङ र प्लाटिनियमकी केनिका राईले रामेछापकी रोजिना रञ्जितमाथि विजय प्राप्त गरे ।

पुरुषकै ४९ केजीमा नुवाकोटका मोहन गुरुङ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई तारकेश्वरका सुरज ओली क्वाटरफाइनलमा पुगे । ५२ केजीमा काभ्रेका रोशन मलिक, रसुवाका यानव राई, सिन्धुलीका डेभिड तामाङ, बक्समान्डुका वान्डी शेर्पा, चन्डोलका रमन अली, बोसिगाउाका महेन्द्रविक्रम ठकुरी र बक्समान्डुका सुरज महर्जनले अन्तिम आठमा स्थान बनाए ।

हरेक तौल समूहका विजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुने खेलाडीले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन् । कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गर्दै कोरोना महामारीका कारण गतिविधि सुस्त हुँदा प्रतियोगिताले खेलाडीमा उत्साह जगाउने काम गरेको बताए ।

सागका पदकधारी सम्मानित

सोही कार्यक्रममा १३ औं सागअन्तर्गत बक्सिङका पदक विजेता खेलाडी सम्मानित भएका छन् । काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले सागका पदक विजेतालाई नगदसहित सम्मान गरेका हुन् । स्वर्ण विजेतालाई १० हजार, रजत विजेतालाई ७ हजार र कांस्य विजेतालाई जनही ५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो । १३ औं सागमा बक्सिङले ३ स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?