कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेसनल फुटसल लिग केटीभी र इकान्तिपुरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले आयोजना गर्न लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग ‘नेसनल फुटसल लिग २०७८’ का सबै खेल कान्तिपुर टेलिभिजन र इकान्तिपुरले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।

नेसनल फुटसल लिग केटीभी र इकान्तिपुरमा

प्रतियोगिता पोखरास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुनेछ । एन्फाले यसअघि प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनका लागि टर्नपाइक इभेन्ट्स प्रालिसँग सम्झौता गरिसकेको छ ।

टर्नपाइकले टेलिभिजनको प्रत्यक्ष प्रसारण अधिकार र डिजिटल प्रत्यक्ष प्रसारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र इकान्तिपुर डटकमसँग बुधबार सम्झौता गरेको हो । सम्झौतामा अखिल फुटसल कमिटीका प्रमुख रत्नकुमार श्रेष्ठ, कान्तिपुर टीभीका ब्रोडकास्टिङ निर्देशक सुरजसिंह ठकुरी र टर्नपाइकका उकेश लोहनीले हस्ताक्षर गरे । त्यस सम्झौताअनुसार कान्तिपुर टेलिभिजनले नेसनल फुटसल लिगको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

त्यस्तै कान्तिपुरका डिजिटल माध्यम इकान्तिपुर र युट्युब च्यानलबाट पनि नेसनल फुटसल लिगका खेलहरू प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रमका अवसरमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कान्तिपुरसँग सहकार्य गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले भने, ‘यो प्रतियोगिताको सफल आयोजनाले नेपाली फुटसलले फड्को मार्नेछ ।’ यस्तै ब्रोडकास्टिङ निर्देशक ठकुरीले प्रतियोगिताको प्रतक्ष्य प्रसारण अब्बल दर्जाको हुने बताए । टर्नपाइकका लोहनीले प्रतियोगिताले नेपाली फुटसललाई उत्साह र प्रोत्साहन दिने बताए ।

नेसनल फुटसल लिगमा हुने राउन्ड रोबिनका ४५ र नकआउट राउन्ड ‘इलिमिनेटर’ का चार खेल गरेर सबै ४९ खेल कान्तिपुर टिभी र कान्तिपुर डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुनेछन् । नेसनल फुटसल लिगको छनोट चरणका खेल चैत १ देखि सुरु हुनेछ । प्रदेश १ को इटहरी, प्रदेश २ को हेटौंडा, वाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशका पोखरा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दाङमा छनोट चरणका खेल हुनेछन् ।

छनोट चरणपछि प्रदेश १ बाट २, प्रदेश २ बाट १, वाग्मती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट २ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट मिलाएर १ टिम गरेर १० क्लबले नेसनल फुटसल लिगमा प्रतिस्पर्धा गर्नेछन् । नेसनल फुटसल लिग विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ सहित विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छ ।

प्रकाशित : फाल्गुन १९, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?