कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली चार महिला खेलाडीले पाकिस्तानको फुटबल च्याम्पियनसिप खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय महिला टिमका चार खेलाडीले पाकिस्तानको ‘नेसनल वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका छन् ।

मिडफिल्डर सरु लिम्बु, डिफेन्डर गीता राना, फरवार्ड अनिता केसी र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पाकिस्तानी महिला फुटबलको सबभन्दा ठूलो प्रतियोगिता खेल्न लागेका हुन् ।

गत साता सम्पन्न महिला राष्ट्रिय लिगमा सर्वोत्कृष्ट खेलाडी घोषित सरुले पाकिस्तानी प्रतियोगिता खेल्ने मंगलबारमात्रै निश्चित भएको बताइन् । २१ वर्षीया उनले भनिन्, ‘यो हाम्रो लागि एकदमै ठूलो अवसर हो । यसलाई उपयोग गरेर आफ्नो देशको नाम राख्नेछौं । व्यक्तिगत रुपमा पनि उत्कृष्ट खेलेर आउनेछौं ।’ चारै खेलाडी सशस्त्र प्रहरी बलको एपीएफ क्लबका हुन् र उनीहरू पहिलोपल्ट विदेशी क्लबमा आबद्ध भएका हुन् । एपीएफले महिला लिगको उपाधिमा ह्याट्रिक गर्दा उनीहरूको प्रदर्शन महत्वपूर्ण रहेको थियो ।

मार्च ८ देखि अप्रिल ३ सम्म हुने पाकिस्तानको नेसनल वुमेन्स च्याम्पियनसिपमा उनीहरुले मासा युनाइटेड फुटबल क्लबबाट खेल्ने पाकिस्तान फुटबल महासंघ (पीएफएफ) ले जनाएको छ । यसमा २० टिमले प्रतिस्पर्धा गर्ने तालिका महासंघले सार्वजनिक गरेको छ । प्रारम्भिक चरणमा ५–५ टिमको चार समूहमा प्रतिस्पर्धा हुनेछ । मासा युनाइटेडले समूह ‘बी’ मा कराची युनाइटेड, कराची वुमेन्स एफसी, एचईसी र सियायलकोट सिटीविरुद्ध खेल्नेछ ।

उनीहरू बुधबार भिसा प्रक्रिया पूरा गरेपछि बिहीबार नै पाकिस्तान प्रस्थान गर्ने बताइएको छ । नेपाली महिला फुटबलरले पहिलोपल्ट पाकिस्तानको घरेलु प्रतियोगिता खेल्न लागेको हो । राष्ट्रिय टिम र एपीएफकै सावित्रा भण्डारी र अनिता बस्नेतले पछिल्ला दुई सिजन भारतको लिग खेलेका थिए । नेपाली महिला खेलाडीले माल्दिभ्सको फुटबल प्रतियोगिता पनि खेलिसकेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?