कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवौं राष्ट्रिय खेलकुदलाई बजेट अभाव

पोखरा रंगशाला पुगेर प्रधानमन्त्रीले दिए आश्वासन– ‘रकम कमी हुन्न’
दीपक परियार

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा ८ खेल भएका थिए । ती खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण र अन्य खर्चमध्ये २ करोड रुपैयाँ सरकारले अझै निकासा गरेको छैन । रकम अभावमै निर्माणाधीन फुटबल स्टेडियमको काम सुस्त गतिमा भइरहेको छ ।

नवौं राष्ट्रिय खेलकुदलाई बजेट अभाव

नवौं राष्ट्रिय खेलकुद हुने तय भएको गण्डकी प्रदेशको पोखरामा आवश्यक पूर्वाधार निर्माणका लागि बजेट अभावमा टेन्डर नै आह्वान हुन सकेको छैन । सोमबार पोखरा रंगशाला अवलोकन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने रंगशालालाई पूर्णता दिन रकम कमी नहुने आश्वासन दिएका छन् । ‘रंगशालालाई पूर्णता दिन सरकारको तर्फबाट के–के गर्नुपर्छ, त्यो मलाई बताए हुन्छ । रकमको कमी हुँदैन,’ उनले भने, ‘त्यसको अग्रसरता प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्ले लिनुपर्छ ।’

पोखरामा ओली समूहको प्रदेशस्तरीय भेला सम्बोधन गर्न आएका प्रधानमन्त्री ओलीलाई राखेपले रंगशालाको अवलोकन गराएको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले रंगशालाको वस्तुस्थितिबारे ‘ब्रिफिङ’ गरे । उनका अनुसार अर्को वर्ष पोखरामा हुने नवौं खेलकुदका लागि हिटिङ स्विमिङ पुल, सुटिङ रेन्जलगायत पूर्वाधार बनाउनुपर्ने आवश्यकता छ । बजेट अभावमा ३५ करोड रुपैयाँ खर्च हुने हिटिङ स्वीमिङ पुल बनाउन राखेपले टेन्डर आह्वान गर्न सकेको छैन । सुटिङ रेन्जका लागि आवश्यक १५ करोड रुपैयाँको पनि जोहो हुन सकेको छैन ।

पोखरा रंगशालाले पूर्णता पाउन क्रिकेट स्टेडियम बनाउने योजना राखेपको छ । क्रिकेट स्टेडियम बनाउन २ अर्ब रुपैयाँ खर्च हुनेमा बजेट अभावकै कारण गति लिन सकिरहेको छैन । फुटबल स्टेडियममा राति पनि खेल खेलाउन मिल्ने गरी फ्लडलाइट राख्न १२/१३ करोड रुपैयाँ लाग्छ ।

सबै जिल्लाले अपनत्व लिने गरी गण्डकी प्रदेशका ११ वटै जिल्लामा एक–एक खेल आयोजना गर्ने तयारी गरेको उनले सुनाए । ‘खेल पूर्वाधार पूरा गर्न केन्द्र सरकारबाट आर्थिक निकासा भयो भने छिट्टै तयारी गरी अन्तर्राष्ट्रियजगतमा पनि नाम राख्छौं,’ उनले भने, ‘सबैबाट सहयोग प्राप्त हुन सके पोखराको रंगशालाले काँचुली फेर्ने छ ।’

एसियाली फुटबल महासंघले आफ्नो वेबसाइटमा एसियाका राम्रा स्टेडियममध्ये एक भनेर पोखराको फुटबल स्टेडियमलाई राखेको उनले सुनाए । तीन महिनाभित्र महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामै आयोजना गर्न गइरहेको जानकारी उनले दिए ।

‘म पनि टोले खेलाडी’

पोखरा रंगशाला प्रधानमन्त्री ओलीलाई खेलाडी, प्रशिक्षकलगायतले बाजागाजासहित स्वागत गरे । रंगशाला देखाउने मेलोमेसो राखेपका बोर्ड सदस्य राजेश गुरुङले मिलाएका थिए । खेलाडीको बीचमा हुँदा प्रधानमन्त्री आफ्ना पुरानो खेलजीवन सम्झिँदै ‘नोस्टाल्जिक’ बने ।

बास्केटबल खेल्न खोजे पनि आफूजस्तो पातलो मान्छेबाट नहुने रहेछ भनेर खेल्न छाडेको सम्झिए । ‘सबै युवाहरू जवानीमा एकखालका खेलाडी हुन्छन्, आफ्नो ठाउँका । कोही टोले खेलाडी, कोही जिल्लाका खेलाडी,’ उनले भने, ‘म पनि अलिअलि टोले खेलाडी हो, अलिअलि जिल्लासम्मको खेलाडी हो । उहिले जमानामा ।’ त्यसबेला खेल खेल्न समय नपाएको उनले सुनाए । खेल क्षेत्रमा नेपालले उन्नति गरिरहेको भन्दै उनले खुसी व्यक्त गरे । १२ औं सागबाट १३ औं मा आइपुग्दा ३ बाट ५१ स्वर्ण पदकमा पुगेर १७ गुणा बढी प्रगति भएको उनको तर्क गरे । भने, ‘सागपछि खेलाडीमा १७ गुणा बढी आत्मविश्वास बढेको छ ।’

उनले सफलताको कडी इमान्दारिता भएकाले इमान्दार भएर खेल्न र प्रशिक्षण लिन खेलाडीलाई आग्रह गरे । प्रशिक्षकले पनि आफ्नो समयको भन्दा १० गुणा माथि खेल उठ्ने गरी विभिन्न विधि, सामग्री प्रयोग गरेर प्रशिक्षण दिन प्रधानमन्त्री ओलीले सुझाए । ‘मान्छेलाई उत्तेजित बनाउने औषधि प्रयोग गर्न हुँदैन । त्यस्तो कुराले दिगोपन ल्याउँदैन । कारबाही मात्रै भोगाउँछ,’ उनले भने, ‘त्यो पनि ठगाइ हो ।’

नेपाली खेलाडीले बेइमानी, जालझेलबाट नभई उत्कृष्टताबाट जित्ने भएकाले राम्रो अभ्यास र उपकरण पाए कसैले जित्न नसक्ने उनको दाबी छ । पूर्वाधार, राम्रा प्रशिक्षक, खेल सामग्री, खेलाडीको सुविधामा सरकारको ध्यान पुग्ने प्रतिबद्धता उनले जनाए ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?